Nepal Purbadhar

आइतवार, साउन ६, २०८१
Sunday, July 21, 2024

आइतवार, साउन ६, २०८१
Sunday, July 21, 2024

उत्कृष्ट पर्यटकिय गन्तव्य स्थल ‘खुम्बु क्षेत्र’ मा थप पूर्वाधार विस्तार गरिँदै   


सोलुखुम्बु । सगरमाथा पदयात्रा पदमार्ग (एभ्रेस्ट ट्रेकिङ ट्रेल ) क्षेत्रको पूर्वाधार निर्माणसँगै त्यस क्षेत्रको पर्यटक आवगमन सहज बन्दै गएको छ । पदमार्ग क्षेत्रका जीर्ण बनेको पूर्वाधारको निर्माणसँगै यस क्षेत्रको पर्यटन आवगमन सहज बनेको हो ।

चालु आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेश सरकार सोलुखुम्बुको सगरमाथा पदयात्रा पदमार्ग क्षेत्रमा पर्ने प्रमुख पर्यटन पदमार्गको पूर्वाधार निर्माणका लागि मात्रै १ करोड २५ लाख रुपैयाँ रकम विनियोजन गरेको थियो । यसमा लार्चा दोभानदेखि नाम्चे बजार जाने सगरमाथा पर्यटकीय पदमार्गको पूर्वाधार निर्माणमा २५ लाख रुपैयाँ छुट्याइएकाे छ ।

यस्तै, गोक्यो पर्यटकीयस्थल तथा चोयु हिमाल जाने पदमार्ग पूर्वाधार निर्माणमा २५ लाख रुपैयाँ, फोर्चेदेखि सगरमाथा जाने पदमार्ग निर्माणमा २५ लाख रुपैयाँ, सगरमाथा पर्यटन पदमार्ग निर्माण कार्यको निरन्तरतामा २५ लाख रुपैयाँ र घाट क्षेत्रको पर्यटन पदमार्ग निर्माणमा २५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

रकम विनियोजन भएअनुसार हाल पाँचवटै पदमाग क्षेत्रमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले जानकारी दिए । पर्यटकीय क्षेत्रका पदमार्गको पूर्वाधार निर्माणले यस क्षेत्रमा पर्यटनको आवगमनलाई थप सहज बनाउने उनले बताए ।

सगरमाथा क्षेत्र जाने पर्यटकका लागि एकमात्र माध्यम पदमार्ग भएकाले यस क्षेत्रका पदमार्गको पूर्वाधार निर्माणलाई पर्यटन व्यवसायीले निकै महत्त्व साथ हेरेका छन् । पहिलो सगरमाथा आरोही सर एड्मण्ड हिल्लारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहणमा जाने क्रममा पनि यीनै पदमार्गको प्रयोग गरिएकाले यस क्षेत्रको पूर्वाधार निर्माणको महत्व अझ बढेको नाम्चेका पर्यटन तथा होटल व्यवसायी लामाकाजी शेर्पाले बताए ।

एकातिर भौगोलिक विकटता अर्कोतर्फ यस क्षेत्रका पदमार्ग जीर्ण र साँघुरा भएका कारण पर्यटकले निकै सास्ती खेप्नुपरेको थियो । लार्चा दोभानदेखि नाम्चे बजार जाने पदमार्ग पनि निकै जीर्ण साँघुरो थियो ।

पदमार्गको सडकखण्ड साँघुरा भएकाले पर्यटक, पर्यटकको सामग्री लिएर गएका भरिया र खच्चड लडेर घाइेत तथा मृत्यु हुने गरेको स्थानीय टासी शेर्पाले बताए । तर, अहिले प्रदेश सरकारको लगानीमा उक्त पदमार्गको पूर्वाधार निर्माणसँगै फराकिलो बनाउने काम भइरहेको छ । यसअघि करिब चार फिट चौडाइ भएको उक्त पदमार्ग सडक खण्ड अहिले करिब सात फिट फराकिलो सहित सोलिङ तथा स्टेप राख्ने काम भइरहेको  वडाध्यक्ष लक्ष्मण अधिकारीले बताए ।

यस्तै, गोक्यो पर्यटकीय स्थल तथा चोयु हिमाल जाने पदमार्ग पूर्वाधार निर्माणको काम पनि प्रदेश सरकारले विनियोजन गरेको २५ लाख रुपैयाँ लगानीमा धमाधम भइरहेको छ । यसअघि पर्यटन सिजन चलिरहेकाले पूर्वाधार निर्माणको काम गर्दा पर्यटकको आवगमनमा असर पर्ने भएकाले सिजन कम भएसँगै काम सुरु गरेको र उक्त पदमार्गको पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको पनि अधिकारीले जानकारी दिए ।

विश्वको छैटौँ अग्लो ८ हजार १ सय ८८ मिटर उचाइ भएको चोयु हिमाल यही पदमार्ग हुँदै जान सकिने भएकाले यसको महत्त्व पनि उच्च रहेको स्थानीय जानकार याङ्जी शेर्पाको भनाइ छ । सगरमाथा क्षेत्रमै पर्ने चोयु हिमाल अवलोकनका लागिसमेत विदेशी तथा स्वदेशी पर्यटक यस क्षेत्रमा पुग्ने गर्छन् ।

प्रदेश सरकारको लगानीमा विगत तीन आर्थिक वर्षअघिदेखि फोर्चेदेखि सगरमाथा जाने पदमार्ग निर्माणको काम जारी रहेको छ । डरलाग्दो भीर कट्टान गरी पदमार्ग निर्माण गर्नुपर्ने भएकाले झण्डै सात मिटरको पर्खाल तयार गरेर बाटो निर्माण गर्ने काम भइरहेको छ । सडकको सहज पहुँच नपुगेको क्षेत्र भएकाले कामदार ज्याला र खाना महँगो हुँदा धेरै बजेटले थोरै काम हुने भएको खुम्बु पासाङ ल्हामु गाउँपालिका उपाध्यक्ष टासी ल्हामु शेर्पाले बताए ।

जोक्पे तथा घोडा खच्चड हिँड्ने बाटोसमेत एउटै हुँदा फोर्चे क्षेत्रको पदमार्गमा पर्यटकलाई असहज हुने गरेको पर्यटक गाइड तथा भरियाको गुनासो छ । प्रदेश सरकारसँगको समन्वयमा निर्माण सुरु गरिएको उक्त पदमार्ग सम्पन्न भएपछि सो समस्यासमेत समाधान हुने खुम्बु पासाङ ल्हामु गाउँपालिका अध्यक्ष मिङ्मा छिरी शेर्पाले बताए ।

सगरमाथा क्षेत्रले सोलुखुम्बुलाई मात्रै नभई देशलाई नै पालिरहेकाले यहाँको विकासमा कन्जुस्याँय गर्न नहुने सोलुखुम्बुका प्रदेश सांसद तथा पूर्वमन्त्री बुद्धिकुमार राजभण्डारीले बताए । वार्षिक हजारौँ विदेशी पर्यटक सगरमाथा क्षेत्र भ्रमणकै लागि आउने भएकाले यहाँको पूर्वाधार विकास आजको प्रमुख आवश्यकता भएको उनकाे भनाइ छ ।

फोर्चेदेखि सगरमाथा जाने र घाट क्षेत्रको पर्यटन पदमार्ग निर्माण कार्यले पनि गति लिइरहेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जनाएको छ । यी पदमार्ग निर्माण भएपछि पर्यटकलाई गन्तव्यमा पुग्न सहज हुने स्थानीय होटल व्यवसायी काजी शेर्पाको अपेक्षा छ । “पदमार्ग क्षेत्रको पूर्वाधार निर्माणले पदमार्ग सहज छ भन्ने सन्देश प्रवाह हुन्छ र सगरमाथा क्षेत्र भ्रमणमा पुग्ने विदेशी तथा स्वदेशी पर्यटकको संख्यामा समेत वृद्धि हुन्छ”, होटल व्यवसायी शेर्पाले भने ।

सडक यातायातको पहुँच नपुगेको यस क्षेत्रमा पदमार्ग यात्रा लुक्ला विमानस्थलबाटै सुरु हुन्छ । काठमाडौँ वा रामेछापको मन्थलीबाट हवाइमार्ग भएर लुक्ला विमास्थलमा ओर्लिएका पर्यटक पदमार्ग हुँदै सगरमाथाको आधार शिविरसम्म पुग्ने गर्दछन् । लुक्लाबाट सगरमाथा आधार शिविरसम्मको दूरी झण्डै ६५ किलोमिटर रहेको छ । हेलिकप्टरबाहेक अन्य सवारी साधनको सुविधा नभएकाले पर्यटकलाई पैदलयात्रामार्फत लुक्लाबाट सगरमाथाको आधार शिविरसम्म पुग्न सातदेखि आठ दिन लाग्ने गर्दछ ।

सगरमाथा पदयात्रा पदमार्ग भएर प्रत्येक वर्ष ५० देखि ५५ हजार जनासम्म पर्यटक सगरमाथा क्षेत्र पुग्ने गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा उल्लेख छ । उच्च हिमाली क्षेत्र भएकाले सो क्षेत्रमा पर्ने चट्टान तथा पहाडका खोचहरु छिचल्दै पर्यटक सगरमाथाको आधार शिविर पुग्ने गर्छन् ।

पदमार्ग क्षेत्रमा विगतमा निर्माण गरिएका ढुङ्गाका स्टेप भत्किएका कारण सगरमाथा क्षेत्रमा पुग्ने पर्यटकले विगतमा सास्ती खेप्तै आएका थिए । तर, अब पदमार्गको पूर्वाधार निर्माणले सहज हुने पर्यटन गाइड साङ्गे शेर्पाको विश्वास छ ।

कयौँ पटक पर्यटक तथा जोक्पेसमेत लड्ने गरेको लार्चादोभान क्षेत्रमा अहिले स्तरीय पदमार्ग निर्माण भएपछि अत्यन्त सहज भएको खुम्बुका ल्हाक्पा शेर्पाको भनाइ छ । सडक यातायात नपुगेकाले खुम्बु क्षेत्रमा पदमार्ग निर्माणलाई मुख्य प्राथमिकतामा राखिनुपर्ने भए पनि विगतमा त्यसो नगर्दा यस क्षेत्रको पर्यटन विकासले गति लिन नसकेको अर्का स्थानीय रिन्छेन पल्मु शेर्पा बताउँछन् ।

पदमार्ग क्षेत्रमा पर्यटकलाई बिसाउने चौतारा तथा आराम गर्ने स्थलसमेत आवश्यक रहेकाले यसमा पनि सरकारले ध्यान दिनुपर्ने पर्यटक गाइड डिकबहादुर दर्नालको सुझाव छ । “यस क्षेत्रमा बर्सेनि हजारौँ विदेशी र स्वदेशी पर्यटक घुम्न आउने भएकाले यहाँको पूर्वाधार विकासमा कमजोरी हुँदा गलत सन्देश जान्छ, त्यसैले पूर्वाधार विकासमा हामी गम्भीर हुनुपर्छ, अहिले सुरु भएको पदमार्ग निर्माणले सकारात्मक सन्देश दिएको छ ,”उनले भने ।

स्थानीय संस्कृतिको प्रवर्रद्धन ध्यान दिनुपर्ने

पूर्वाधारको निर्माणसँगै पदमार्गका विभिन्न स्थानमा सांस्कृतिक सम्पदा, विभिन्न जातजातिका संस्कार संस्कृति झल्किने पूर्वाधार पनि निर्माण गर्न आवश्यक रहेको सरोकारवाला बताउँछन् । यस्ता कार्यले स्थानीय संस्कृतिको प्रवद्र्धन हुनुको साथै पर्यटकलाई थप आकर्षित गर्ने अवलोकनकर्ता प्रजिता कार्कीको भनाइ छ । केही ठाउँमा शेर्पा समुदायको गुम्बा तथा माने भए पनि राई, तामाङसहित अन्य समुदायको जाति तथा धार्मिक संस्कार संस्कृति झल्कने सामग्री पदमार्ग क्षेत्रमा राख्न सके पर्यटकलाई थप लोभ्याउन सकिने उनकाे विश्वास छ ।

आर्थिक वर्षनै विकासको बाधक    

सामान्यतया देशका अन्य स्थानमा आवको सुरुआतदेखि असार मसान्तसम्म नै विकास निर्माणले गति लिने गर्छन् । तर हिमाली क्षेत्र खुम्बुमा भने आव नै विकासको बाधक बन्ने गरेको खुम्बु पासाङल्हामु गाउँपालिका प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले बताए । सरकारी बजेटको सामान्यतय भदौ–असोजमा मात्रै अख्तियारी आउने र कात्तिकबाट चिसो सुरु हुने हुँदा यस क्षेत्रमा हिउँद सिजनमा निर्माणको काम सुरु गर्न नसकिने उनकाे भनाइ छ ।

भौगोलिक कारण यस क्षेत्रमा बाह्रै महिना विकास निर्माणका काम सञ्चालन गर्न नसक्नु यहाँका नागरिकको बाध्यता हो । फागुन अन्तिमबाट सुरु गरिने विकासे काम असार मसान्तमा नसकिने स्थानीय लामाकाजी शेर्पाले बताए । चिसो बढेसँगै धारामा पानीसमेत जमेर नआउने भएकाले यस क्षेत्रका नागरिक विभिन्न समस्या झेल्न बाध्य छन् । खुम्बुमा वर्षको दुई सिजन चैतदेखि जेठ र असोजदेख मङ्सिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । पर्यटकीय सिजनमा पदमार्ग क्षेत्रमा संरचना निर्माण गर्दा पर्यटकलाई हिँडडुल गर्न असहज हुने र अन्य सिजनमा चिसो तथा अन्य कारणले पूर्वाधार निर्माणको काम गर्न समस्या हुने गरेको स्थानीय जनप्रतिनिधि बताउँछन् ।

संसारकै गन्तव्य स्थल ‘खुम्बु क्षेत्र’    

विश्वकै अग्लो सगरमाथादेखि अन्य उच्च हिम शिखरसमेत यस क्षेत्रमा पर्ने भएकाले सगरमाथा पर्यटन क्षेत्र विश्वभरिका पर्यटकको गन्तव्यस्थल बन्दै आएको छ । विश्वको चौथो अग्लो शिखर ल्होत्से (८,५१६ मिटर) र छैटौँ अग्लो चोयु (८, १८८ मिटर) खुम्बु क्षेत्रको महालङ्गुर हिमशृङ्खलामै छन् । यसबाहेक खुम्बु क्षेत्रमा रामसार साइटमा सूचीकृत गोक्योलगायतका ताल, हिउँ चितुवा र हाब्रेलगायतका दुर्लभ हिमाली जनावर पाइन्छन् । लार्केला पास (५,१३५ मिटर), रेन्जोला पास (५,३४५ मिटर), चोला पास (५,४२० मिटर), कोङ्ग्माला पास (५,५३५ मिटर) जस्ता संसारकै आकर्षक पदमार्ग पनि यही खुम्बु क्षेत्रमै छन् । त्यसैले यस क्षेत्रमा गरिने विकास र पूर्वाधार निर्माणले विशेष महत्व राख्दछ ।

१६ जेठ वि.सं २०१० मा तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले पहिलो पटक विश्वको सर्वोच्च शिखरमा पाइला राखेपछि नै सगरमाथाको प्रसिद्धता संसारभर फैलिन थालेको हो । आलु, फापर मात्र फल्ने र त्यसबाटै जीविकोपार्जन हुने खुम्बु क्षेत्रमा त्यसपछि नै पर्यटन व्यवसाय पनि जीविकोपार्जनको स्रोत बन्न थालेको विश्व पर्वतारोहण महासङ्घका सदस्य आङ छिरिङ शेर्पाको भनाइ छ । संसारभर अर्को प्रतिस्पर्धी नरहेको सगरमाथा र खुम्बु क्षेत्रको अपार सम्भावनाको लाभ लिनबाट अझै खुम्बु क्षेत्र बञ्चितनै रहेको उनकाे भनाइ छ ।

कोशी प्रदेश सरकारले प्रदेशभित्रका पर्यटन पूर्वाधार विकासमा चालु आवमा ८३ करोड रुपैयाँभन्दा बढीको योजना सञ्चालन गरेको छ । प्रदेश सरकारले पर्यटन विकासअन्तर्गतका योजनाबाट कोशीका १४ वटै जिल्ला समेटिएको कोशी प्रदेश पर्यटन पूर्वाधार विकास आयोजना प्रमुख कुलप्रसाद यादवले जानकारी दिए ।  पर्यटन प्रवद्र्धनको प्रचुर सम्भावना बोकेको कोशी प्रदेशलाई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा रुपमा विकास गर्न प्रदेश सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको उनकाे भनाइ छ ।

सरकारले ताप्लेजुङमा ३ करोड २५ लाख रुपैयाँ, पाँचथरमा ६ करोड २५ लाख रुपैयाँ, इलाममा १० करोड २५ लाख रुपैयाँ, झापामा १२ करोड ६५ लाख रुपैयाँ, मोरङमा १७ करोड ९५ लाख रुपैयाँ र सुनसरीमा १४ करोड ७५ लाख रुपैयाँ बराबरकाे बजेकाे कार्यक्रम सञ्चालन गरेको छ ।

यस्तै धनकुटामा २७ लाख रुपैयाँ, एक करोड ५० लाख रुपैयाँ, भोजपुरमा एक करोड ४५ लाख रुपैयाँ, सङ्खुवासभामा ९० लाख रुपैयाँ, खोटाङमा ४ करोड २५ लाख रुपैयाँ, ओखलढुङ्गामा एक करोड ८५ लाख रुपैयाँ, उदयपुरमा २ करोड रुपैयाँ र सोलुखुम्बुमा ३ करोड रुपैयाँ बराबरको योजना सञ्चालन भएको मन्त्रालयको तथ्याङ्क छ ।

विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिम शिखरमध्ये ६ वटा हिमशिखर यसै प्रदेशमा पर्दछ । त्यसैले, यस प्रदेशमा पर्वतारोहरण पर्यटनदेखि जलयात्रा, पदयात्रा, वन्यजन्तु अवलोक, दृश्यावलोकन, धार्मिक तथा सांस्कृतिक, जङ्गल पर्यटनलगायत पर्यटनका विविध गतिविधिको सम्भावाना रहेको छ ।

पर्यटन क्षेत्रका विविध गतिविधिको पहिचान र सम्भाव्यता अध्ययन गरी आवश्यक पूर्वाधार निर्माण गर्नसके छिमेकी मुलुक भारतको विहार र पश्चिम बङ्गालबाट बर्सेनि हजाराैं पर्यटक भित्र्याइ प्रदेशको प्रमुख आयस्रोत बनाउन सकिन्छ ।


Read Previous

पूर्वाधार क्षेत्रमा हुने बेरुजु न्यूनीकरणको लागि कानूनी स्पष्टता आवश्यक

Read Next

विश्व बैंकको नेपाल निर्देशकमा डेभिड सिस्लेन नियुक्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *