Nepal Purbadhar

जलाशययुक्त आयोजना विकासमा सरकारको प्राथमिकता


ठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलाशययुक्त जलविद्युत् आयोजना सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् ।

कुलेखानी जलविद्युत् आयोजनाको अवलोकनपछि मन्त्री श्रेष्ठले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षा, औद्योगिक विकास तथा आर्थिक रूपान्तरणका लागि जलाशययुक्त आयोजनालाई राष्ट्रिय प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने बताएका हुन् । उनले आगामी दिनमा सरकारको मुख्य ध्यान यस्ता आयोजनाको विकासमा केन्द्रित हुने स्पष्ट पारे ।

मन्त्री श्रेष्ठका अनुसार जलाशययुक्त आयोजना विद्युत् उत्पादनमा मात्रै सीमित नभई पानी व्यवस्थापन, बाढी नियन्त्रण, सिँचाइ विस्तार तथा पर्यटन प्रवर्द्धनका लागि पनि महत्वपूर्ण आधार बन्न सक्छ ।

कुलेखानीका तीनओटै जलविद्युत् केन्द्रका कर्मचारीसँगको छलफलमा उनले जलवायु परिवर्तनका कारण बढ्दो प्राकृतिक जोखिम र अनियमित वर्षाका कारण पानी भण्डारण गर्ने संरचनाको आवश्यकता अझ बढेको उल्लेख गरे । “ऊर्जा सुरक्षाका लागि जलाशययुक्त आयोजनाको विकल्प छैन,” मन्त्री श्रेष्ठले भने ।

उनले औद्योगिक क्षेत्र, डाटा सेन्टर तथा सूचना प्रविधि उद्योगका लागि दिगो ऊर्जा आपूर्ति सुनिश्चित गर्न जलाशययुक्त आयोजनाबाट उच्च माग हुने समयमा बढी विद्युत् उत्पादन गर्न सकिने बताए । साथै, नेपाल विद्युत् प्राधिकरणलाई यस्ता आयोजनाको एकीकृत विकास मोडल तयार गर्न र स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न निर्देशन दिए ।

सरकारले निजी क्षेत्रलाई आकर्षित गर्न जलाशययुक्त आयोजनाको लाइसेन्स अवधि ५० वर्ष कायम गरिसकेको जानकारी दिँदै मन्त्री श्रेष्ठले लगानीकर्तालाई यस क्षेत्रमा लगानी बढाउन आग्रह गरे ।

कुलेखानीलाई नेपालको ‘रोल मोडल’ परियोजनाका रूपमा उल्लेख गर्दै उनले स्थानीयस्तरबाट उठेका सामाजिक समस्या तथा गुनासो तत्काल सम्बोधन गर्न निर्देशन दिए । इन्द्रसरोवर क्षेत्रमा बढ्दो पर्यटकीय गतिविधिसँगै फोहर व्यवस्थापन चुनौतीपूर्ण बनेको उल्लेख गर्दै उनले स्थानीय तह र व्यवसायीसँग समन्वय गरी वातावरण संरक्षणमा ध्यान दिन आग्रह गरे ।

आयोजना अवलोकनका क्रममा मन्त्री श्रेष्ठले आयोजना क्षेत्रभित्रको जग्गा सीमाङ्कन, बाढीपहिरोबाट जलाशयमा आउने ढुङ्गा–माटो व्यवस्थापन तथा पुराना उपकरणको मर्मत र प्रतिस्थापनको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका थिए ।

सन् १९८२ मा निर्माण सम्पन्न भएको कुलेखानी आयोजना नेपालकै पहिलो जलाशययुक्त जलविद्युत् आयोजना हो । आयोजनाको कुल जडित क्षमता १०६ मेगावाट रहेको छ । यसअन्तर्गत कुलेखानी–१ को क्षमता ६० मेगावाट, कुलेखानी–२ को ३२ मेगावाट र कुलेखानी–३ को १४ मेगावाट रहेको छ ।


Read Previous

सुकुम्बासी बस्ती हटेपछि बागमती किनार खुला र व्यवस्थित बन्दै थापाथली

Read Next

सुनको मूल्य तोलामा १९ सयले वृद्धि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar