Nepal Purbadhar

अग्रज र असन्तुष्टलाई पनि साथ लिएर उत्तमले बनाए बलियो समावेशी टिम, पहिलोपल्ट कार्यसमितिमा ६ जना महिला


‘३० हजार मेगावाट उत्पादनमा निजी क्षेत्रको उपस्थिती मजबुत बनाउँछु’

काठमाडौं । नेपालको निजी ऊर्जा क्षेत्रको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आगामी नेतृत्वका लागि उत्तम भ्लोनको टिम घोषणा गरिएको छ ।

यहि जेठ २९ गते हुने आठौ अधिवेशनबाट हालका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगी स्वतह अध्यक्ष हुनेछन् भने ३ वर्ष पछि २०२९ मा अब निर्वाचित हुने वरिष्ठ उपाध्यक्ष स्वतह अध्यक्ष हुनेछन् । २०३२ मा हुने निर्वाचनमा भने अध्यक्षमै चुनावी प्रतिसपर्धा गर्ने गरी विधान संसोधन गर्ने तयारी गरिएको छ ।

वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका भ्लोनले इप्पानको वर्तमान नेतृत्व, निवर्तमान नेतृत्व र भावी नेतृत्वलाई समेट्दै “इप्पान भिजन २०२९” प्रतिबद्धता पत्र समेत सार्वजनिक गरेका छन् ।

घोषणापत्र सार्वजनिक गर्दै भ्लोनले निजी क्षेत्रको योगदानकै कारण नेपाल लोडसेडिङमुक्त भएको, विद्युत उत्पादनमा निजी क्षेत्रको हिस्सा ८० प्रतिशतभन्दा माथि पुगेको तथा आगामी दशकभित्र नेपाललाई दक्षिण एशियाकै प्रमुख ऊर्जा केन्द्र बनाउने सम्भावना रहेको उल्लेख बताए ।

प्रतिबद्धता पत्रमा सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको सन्दर्भमा निजी क्षेत्रको भूमिका अझ महत्वपूर्ण भएको उल्लेख गर्दै पीपीए अवरोध, प्रसारण लाइन अभाव, नीतिगत अस्पष्टता, विद्युत व्यापार, वित्तीय चुनौती तथा प्रशासनिक जटिलता समाधान नगरी ऊर्जा क्षेत्रको तीव्र विकास सम्भव नभएको निष्कर्ष प्रस्तुत गरिएको छ ।

पीपीए सुधारदेखि विद्युत व्यापारसम्म प्राथमिकता

घोषणापत्रमा सबैभन्दा बढी जोड पीपीए (विद्युत खरिद सम्झौता) सुधारमा दिइएको छ। करिब १२ हजार मेगावाट बराबरका आयोजनाको पीपीए रोकिएको उल्लेख गर्दै अविलम्ब पीपीए खुलाउन सरकारसँग समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

यस्तै, स्टोरेज तथा पम्प स्टोरेज आयोजनाका लागि छुट्टै ट्यारिफ व्यवस्था, “टेक अर पे” प्रणालीको सुनिश्चितता, विद्युत बिक्री नभए क्षतिपूर्ति व्यवस्था तथा पीपीए दर पुनरावलोकनको विषयलाई समेत प्राथमिकतामा राखिएको छ।

निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउने, उद्योगहरूलाई सस्तो दरमा विद्युत उपलब्ध गराउने तथा “नेपालमा उत्पादन, दक्षिण एशियामा बिक्री” अवधारणालाई व्यवहारमा लागू गर्ने लक्ष्य पनि घोषणापत्रमा समेटिएको छ।

कानुनी र नीतिगत सुधारमा जोड

घोषणापत्रमा संसदमा विचाराधीन विद्युत विधेयकलाई निजी क्षेत्रमैत्री बनाउने, वन तथा वातावरणीय प्रक्रिया सरल बनाउने, “वन–वातावरण एकद्वार प्रणाली” लागू गर्ने तथा प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउने प्रतिबद्धता जनाइएको छ।

जलविद्युत आयोजनाको अनुमतिपत्र अवधि ३५ वर्षबाट ५० वर्ष पुर्याउने, आरसीओडी म्याद ३ देखि ५ वर्षसम्म थप गर्न पहल गर्ने तथा निजी क्षेत्रलाई बीटुबी (Business-to-Business) विद्युत व्यापार अनुमति दिलाउने एजेन्डा पनि अघि सारिएको छ।

ऊर्जा आयोजनाको सुरक्षाका लागि छुट्टै सशस्त्र प्रहरी “विद्युत सुरक्षा दस्ता” गठन गर्ने प्रस्ताव समेत घोषणापत्रमा समावेश गरिएको छ।

वित्तीय पहुँच र सहुलियत ऋणको प्रतिबद्धता

ऊर्जा क्षेत्रमा लगानीमैत्री वातावरण निर्माणका लागि ‘एनर्जी फन्ड’ स्थापना, ७ प्रतिशतभन्दा कम ब्याजदरमा सहुलियतपूर्ण कर्जा, संकटग्रस्त आयोजनाका लागि पुनर्कर्जा सुविधा तथा हकप्रद सेयर निष्कासनमा नीतिगत सहजीकरण गरिने उल्लेख गरिएको छ।

हाइड्रोलोजी पेनाल्टी हटाउने, कन्टिन्जेन्सी व्यवस्था खारेज गर्ने तथा वैदेशिक तथा मिश्रित लगानी भित्र्याउन विशेष पहल गरिने प्रतिबद्धता पनि जनाइएको छ।

प्रसारण लाइन र निर्यात विस्तारमा जोड

घोषणापत्रमा प्रसारण लाइन निर्माणलाई राष्ट्रिय प्राथमिकताको विषय बनाउने, सार्वजनिक–निजी साझेदारी (PPP) मोडलमा निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा सहभागी गराउने तथा ह्वीलिङ चार्ज वैज्ञानिक आधारमा निर्धारण गर्ने नीति अघि सारिएको छ।

भारतसँग भएको दीर्घकालीन विद्युत व्यापार सम्झौता प्रभावकारी कार्यान्वयन गर्दै १० हजार मेगावाट विद्युत निर्यात गर्ने तथा बंगलादेशमा ५ हजार मेगावाट विद्युत निर्यातका लागि कूटनीतिक पहल गरिने उल्लेख गरिएको छ।

इप्पानलाई ‘रिसर्च सेन्टर’ बनाउने घोषणा

घोषणापत्रमा इप्पानलाई केवल दबाब समूह नभई नीति अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने घोषणा गरिएको छ। तथ्यांकमा आधारित पैरवी गर्न “इप्पान रिसर्च सेन्टर” स्थापना गर्ने, सातै प्रदेशमा इप्पानको संरचना विस्तार गर्ने तथा वैदेशिक लगानी आकर्षित गर्न अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलन आयोजना गर्ने योजना प्रस्तुत गरिएको छ।

“हामी विरोध होइन, समाधान दिन्छौं”

प्रतिबद्धता पत्रमा “हामी विरोध होइन—समाधान दिन्छौं”, “हामी नारा होइन—संरचना बनाउँछौं” र “हामी व्यक्तिगत होइन—संस्थागत नेतृत्व गर्छौं” भन्ने नारासहित इप्पानलाई परिणाममुखी संस्था बनाउने प्रतिबद्धता जनाइएको छ।

समूहले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादनको सरकारी लक्ष्य पूरा गर्न ५० खर्ब रुपैयाँभन्दा बढी लगानी आवश्यक पर्ने उल्लेख गर्दै निजी क्षेत्र र सरकारबीच पुलको भूमिका निर्वाह गर्न आफूहरू तयार रहेको जनाएको छ।

घोषणापत्रको अन्त्यमा “नेपाललाई दक्षिण एशियाकै ‘पावर हाउस’ तथा ‘ब्याट्री स्टोरेज’ बनाउने” लक्ष्यसहित ऊर्जा क्षेत्रको नयाँ उचाइका लागि निर्णायक नेतृत्व आवश्यक रहेको दाबी गरिएको छ।
‘इप्पान भिजन २०२९’ का लागि उत्तम भ्लोनको टिम
उत्तम भ्लोन, वरिष्ठ उपाध्यक्ष
जेठ २९ गते हुने आठौं अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका भ्लोन कार्की नेतृत्वको कार्यसमितिका उपाध्यक्ष हुन् । ४.४ मेगावाटको राधी जलविद्युत् आयोजना निर्माण गर्दै ऊर्जा क्षेत्रमा प्रवेश गरेका भ्लोनको नेतृत्वमा अहिलेसम्म ७ वटा जलविद्युत आयोजनाबाट विद्युत उत्पादन भइसकेको छ ।

युनिभर्सल पावर कम्पनीमार्फत दोर्दी र रुकुमगाड आयोजना निर्माण गरेका भ्लोनले ३० मेगावाटको ङादी हुँदै हाल ४५ मेगावाटको कसुवा खोला निर्माणमा सक्रिय छन् । सुरुमा ४५ मेगावाटको यो आयोजना क्षमता विस्तार गरी ९५ मेगावाट हुँदैछ । साथै, संखुवासभाको छुजुङ खोला (९७ मेगावाट) को निर्माण पनि सँगसँगै अगाडि बढाइरहेका छन् ।

जलविद्युतका अलवा १७ सौर्य ऊर्जा आयोजना समेत अघि बढाइरहेका भ्लोनले ऊर्जाबाहेक रियल इस्टेट, अपार्टमेन्ट परियोजना, फाइभ स्टार होटल र अत्याधुनिक एआई डेटा सेन्टरमा पनि लगानी गरिरहेका छन् ।

बैंक, बीमा, शेयर मार्केट लगायतका विषयमा विज्ञता हासिल गरेका भ्लोन एनएमबि बैंकका सञ्चालक समेत हुन् ।

उत्तर कुमार श्रेष्ठ, उपध्यक्ष
आगामी कार्यसमितिका भ्लोनको टिमबाट उपाध्यक्षका उम्मेदवार उत्तरकुमार श्रेष्ठ बुटवल पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । हाइड्रोकन्सल्ट इन्जिनयरिङ कम्पनीका अध्यक्ष रहेका श्रेष्ठ १३५ मेगावाटको मनाङ मर्स्याङ्दी, १३९ मेगावाटको तल्लो मनाङ मर्स्याङ्दी, ३२७ मेगावाटको माथिल्लो मनाङ मर्स्याङ्दी लगायतका आयोजनामा सञ्चालक रहेका छन् ।
त्यस्तै अन्तरदेशिय विद्युत व्यापारका लागि स्थापित कम्पनी नेपाल पावर एक्सचेन्ज लिमिटेडका पनि श्रेष्ठ सञ्चालक हुन् ।
हिम प्रसाद पाठक, उपाध्यक्ष
एक दशक अघि ६ मेगावाटको रुरु जलविद्युत आयोजना निर्माण सम्पन्न गरेको अनुभवले ८६ मेगावाटको सोलु खोला (दूधकोशी) जलविद्युत आयोजना निर्माणको नेतृत्व गरेका पाठक हाल ३४१ मेगावाट क्षमताको बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको नेतृत्व गरिरहेका छन् ।
बिक्रम बिष्ट, उपाध्यक्ष
दुई दशक अघि बराम्ची जलविद्युत आयोजनाबाट जलविद्युत उत्पादनमा सक्रिय रहेका बिष्टले हाल ४० मेगावाटको इसुवा इनर्जीका अध्यक्ष हुन् ।९७ मेगावाटको केबिएनआर इसुवा जलविद्युत बयोजनाका ठूला लगानीकर्ता रहेका बिष्ट कुमारी बैंक, सूर्यज्योति इन्स्योरेन्स र आईसीएफसी फाइनान्सका प्रमोटर सेयर होल्डर हुन् ।
सुसन कर्माचार्य, उपाध्यक्ष
२४ मेगावाटको मादमेखोला जलविद्युत आयोजना र ८ मेगावाटको पिखुवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरिसकेकी कर्माचार्यको नेतृत्वमा २०३ मेगावाट क्षमताको माथिल्लो बुढिगण्डकी जलविद्युत आयोजना निर्माण भइरहेको छ ।
लालिगुरास बाटिका स्कुल, नमुना अस्पताल, स्काइ ब्लु लाइटिङ टेक्नोलोजी, कलश होल्डिङ लगायतका अन्य सामाजिक तथा व्यवसायिक क्षेत्रमा पनि कर्मचार्य आवद्ध छन् ।
टिएन आचार्य, महासचिव
पेशाले चार्टड एकाउन्टेन्ट (सिए) रहेका आचार्यको नेतृत्वमा ५७ मेगावाटको नुप्चे लिखु जलविद्युत आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । लेखन, गायन र फिल्म निर्माताको भूमिकामा पनि आफ्नो पहिचान बनाएका आचार्य बिगतमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल वायुसेवा निगम, नेपाल विद्युत प्राधिकरण लगायतका निकायमा सञ्चालक समितिमा रहेर पनि काम गरिसकेका छन् ।
कविता पोख्रेल, उपमहासचिव
दुई दशकभन्दा लामो बैंकिङ र ऊर्जा क्षेत्रको अनुभव बोकेकी पोख्रेल हिमशिला पावर कम्पनीकी अध्यक्ष हुन् । लिबर्टी इनर्जी र सिर्जनशिल ऊर्जा कम्पनीकी निर्देशक रहेकी पोख्रेल अर्थशास्त्रमा गहिरो ज्ञान राख्छन् । ऊर्जा क्षेत्रमा महिला शशक्तिकरणका लागि आवाज उठाउने पोख्रेल अग्रणी महिला ऊर्जा उद्यमी हुन् ।
शंकर बश्याल, सचिव
बिगत ३० वर्षदेशि जलविद्युत आयोजनामा वातावरणीय परामर्शदाताको रुपमा काम गर्दै आएका बश्याल २१.४ मेगावाट क्षमताको न्यादि फिदी जलविद्युत आयोजनाका सञ्चालक हुन् ।
निर्माणाधिन १० भन्दा धेरै जलविद्युत आयोजनाका लगानीकर्ता रहेका बश्याल केही इन्भेष्टमेन्ट कम्पनीमा सञ्चालक छन् । जलविद्युत आयोजनाले सबैभन्दा धेरै सामना गर्नुपर्ने प्रमुख समस्याको रुपमा रहेको वन र वातावरण सम्बन्धी समस्या समाधानका लागि अध्ययन र अनुसन्धान सक्रिय छन् ।
१४४ मेगावाटको कालिगण्डकी जलविद्युत आयोजनाबाट वातावरणीय निरिक्षकको रुपमा कार्य सुरु गरेका बश्यालको नेतृत्वमा ३०० भन्दा धेरै जलविद्युत आयोजनाको वातावरणीय अध्ययनमा संग्लग्न भएका छन् ।

विजयमोहन भट्टराई, सचिव
१४० मेगावाटको भेरी-८ र ४० मेगावाटको भेरी-८ क्यास्केड जलविद्युत आयोजना अगाडि बढाइरहेको ग्रिन हाइडेल कम्पनीका प्रबन्ध निर्देशक भट्टराई २० (+१० मेगावाट क्षमता वृद्धि हुँदै) मेगावाटको लाङटाङ खोला जलजविद्युत आयोजना निर्माण गर्ने मल्टी इनर्जी लिमिटेडका पनि प्रबन्ध निर्देशक हुन् । ७.५ मेगावाटको गुच्छेखोला जलविद्युत आयोजना सञ्चालन गरिरहेका भट्टराई मारेखरे जलविद्युत माइनिङ कम्पनीका संस्थापक हुन् ।
कुवेर मणि नेपाल, सचिव
विगत २५ वर्षदेखि जलविद्युत क्षेत्रमा सक्रिय नेपाल रिडी पावर कम्पनी र साझा पावर कम्पनीका अध्यक्ष हुन् । रिडिले ४ वटा आयोजना सञ्चालन गरिरहेको छ । रैराङ ०.५, रिडी २.४ इवा ९.९ र बुटवल सोलार ८.५ मेगावाट सञ्चालनमा छन् । उनको नेतृत्वमा सिन्धुपाल्चोकमा २२ मेगावाटको बलेफी खोला जलविद्युत आयोजना निर्माण भइरहेको छ । सौर्य विद्युत उत्पादनमा पनि सक्रिय नेपाल कार्बन ट्रेडिङ र बायोमास ऊर्जाका क्षेत्रमा पनि सक्रिय छन् । औद्योगिक प्रयोजनका लागि बायोमास ब्रिकेट तथा प्यालेट ऊर्जा र ती ऊर्जाको लागि आवश्यक पर्ने चुल्हो तथा बर्नरहरुको खोज, अनुसन्धान र विक्रिवितरणमा संग्लग्न छन् । इपीसी मोडलमा रुफटप र ग्राउन्ड मान्टेड सौर्य विद्युत आयोजना को क्यापेक्स तथा ओपेक्स मोडलमा निर्माण तथा सञ्चालन गर्दै आएका छन् ।
सुमन जोशी, सचिव
दुई दशक अघि बैंकिङ क्षेत्रबाट करियर सुरु गरेकी जोशी २०७४ पछि मात्र जलविद्युत क्षेत्रमा प्रवेश गरेकी हुन् । हाल ६.८२ मेगावाटको हिदी खोला, १०.८ मेगावाटको धौला खोला र ३१.८ मेगावाटको स्यानवन खोला जलविद्युत आयोजना निर्माणको नेतृत्व गरिरहेकी छन् ।
अभिज्ञा मल्ल, सचिव
३ मेगावाटको युनियन हाइड्रोपावरको अध्यक्ष रहेकी मल्ल ७० मेगावाटको दूधकोशी जलविद्युत आयोजनामा सञ्चालक छन् । त्यस्तै ४ मेगावाटको पुवाखोला-१ र २१ मेगावाटको आयुमलनु जलविद्युत आयोजनामा पनि मल्ल सञ्चालक छन् ।
नेपालका लागि अर्मेनिया गणतन्त्रको महावाणिज्य दूत रहेकफ मल्ल हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा कार्यकारीणी सदस्यमा निर्वाचित भएकी छन् ।
एमसीए नेपालमा वैकल्पिक बोर्ड सदस्यसमेत रहेकी मल्लले अष्ट्रेलियाबाट वित्त र व्यवसायिक लेखामा सनातकोत्तर गरेकी छन् ।
अनुप आचार्य, कार्यसमिति सदस्य
३ दशकदेखि ऊर्जा र पूर्वाधार विकासमा सक्रिय आचार्य एम ए पावरका अध्यक्ष हुन् । आचार्यको नेतृत्वमा ७.६ मेगावाटको जोगमाई र ५.२ मेगावाटको जोगमाई क्यासकेड जलविद्युत आयोजना निर्माण भइ सञ्चालनमा रहेका छन् ।

जगत बहादुर पोखरेल, कार्यसमिति सदस्य
एकदशक देखि जलविद्युत क्षेत्रमा सक्रिय पोखरेलको नेतृत्वमा २५ मेगावाटको सेती नदी जलविद्युत आयोजना सञ्चालनमा रहेको छ ।
९९ मेगावाटको लान्द्रुक मोदी, ३१ मेगावाटको बज्रमादी र ३.७ मेगावाटको तिनाउ मादी जलविद्युत आयोजना पोखरेलको अगुवाइमा अगाडि बढेका छन् ।
पोखरेलको मेडिकल कलेजदेखि बैंक तथा वित्तीय संस्थाहरुमा समेत लगानी छ ।
कदम केसी, कार्यसमिति सदस्य
७० मेगावाटको दूधकोशी र २१ मेगावाटको आयु मलुन जलविद्युत आयोजनाको नेतृत्व गरिरहेका केसीले ४ मेगावाटको पुवाखोला १ निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सफल भएका छन् ।
बेलायतबाट जियोटेक्निकल इन्जिनियरिङमा स्नातकोत्तर गरेका केसी डेढ दशकदेखि जलविद्युत निर्माण तथा डिजाइनमा सक्रिय छन् ।
प्रतिमा ज्ञवली, कार्यसमिति सदस्य
सुम्निमा हाइड्रोपवारको निर्देशक रहेकी ज्ञवाली पछिल्लो एक दशकदेखि ऊर्जा क्षेत्रमा सक्रिय छन् । सिग्नेचर इन्जिनियरिङकी प्रबन्ध निर्देशक ज्ञवाली ऊर्जा विकासका लागि दिगो, समावेशी, प्राविधिक र सामाजिक पक्षलाई जोडेर नेतृत्व गर्दै आएकी छन् ।
कृषि र व्यवस्थापन शैक्षिक पृष्ठभूमि भएकी ज्ञावली जलविद्युत, नविकरणीय ऊर्जा र सामाजिक समावेशीकरणमा दख्खल राख्छिन् ।
बर्णन लामिछाने, कार्यसमिति सदस्य
६१ मेगावाटको नार खोला जलविद्युत बयोजनाका निर्देशक युवा लामिछाने युवा इन्जिनियर हुन् । काठमाडौं विश्वविद्यालयबाट इलेक्ट्रिकल इन्जिनिरिङ गरेका लामिछाने बिजी ग्रुप अन्तर्गत रहेर २०० मेगावाटका जलविद्युत आयोजना निर्माणमा संग्लग्न छन् ।
नेक्सस होल्डिङका संस्थापक लामिछानेले ५० मेगावाटका आयोजनामा स्वदेशी पुँजी परिचालन पनि गरेका छन् । अमेरिकामा साइबर सुरक्षा इन्जिनयरको रुपमा काम गरेको अनुभव समेत बटुलेका लामिछाने नेपालको ऊर्जा र डिजिटल विकासमा रणनीतिक नेतृत्व प्रदान गरिरहेका छन् ।
ईशा श्रेष्ठ,कार्यसमिति सदस्य
ऊर्जा तथा पूर्वाधार कम्पनी प्रालीको डेपुटी जनरल म्यानेजर रहेकी श्रेष्ठ ३८ मेगावाटको निलगिरी र ७२ मेगावाटको निलगिरी २ जलविद्युत आयोजना निर्माणमा संग्लग्न भई हाल आयोजना सञ्चालनमा ल्याइसकेकी छन् ।
राहुघाट मङ्गले ३५ मेगावाट र माथिल्लो राहुघाट ४८ मेगावाटमा पनि श्रेष्ठ जोडिएकी छन् ।
विभिन्न आधा दर्जन जलविद्युत आयोजनामा बोर्ड सदस्य रहेकी श्रेष्ठ नेपाल चेम्बर अफ कमर्सको ऊर्जा कार्यसमिति सदस्य समेत हुन् ।


Read Previous

विपक्षी सांसदले सभामुखलाई नियमावलीको खाली पेज देखाएपछि…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar