Nepal Purbadhar

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024

निर्माणाधीन धरान बसपार्कको काम अन्तिम चरणमा   


सुनसरी । धरान उपमहानगरपालिका–८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्कको काम अन्तिम चरणमा पुगेको छ । एक बिघा ७ कट्ठा क्षेत्रफलमा बनिरहेको बसपार्कको हालसम्म ९५ प्रतिशत भौतिक र ८५ प्रतिशत वित्तीय काम भएको धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघाले जानकारी दिए ।

उनका अनुसार संघीय सरकारको ५० प्रतिशत अनुदान र धरान उपमहानगपालिकाको ५० प्रतिशत आन्तरिक स्रोतबाट बसपार्क निर्माण भइरहेको छ । ३३ करोड ७० लाख ४७ हजार रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको बसपार्क आयोजनाको बिकोइ गीताञ्जली जेभी दुहबी सुनसरीले तीन वर्षभित्र काम सम्पन्न गर्नेगरी २०७८ असार ३० मा २३ करोड १५ लाख ३ हजार २ सय ७७ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

हाल बसपार्कको टर्मिनल भवन निर्माण सम्पन्न भएको भने विद्युत् र पानीको लाइन विस्तारको काम ९८ प्रतिशत भएको छ । यस्तै, बसपार्कको बाह्य सडक, मार्वल, फल्स, सिलिङ लगाउने काम पनि अन्तिम चरण पुगेको निर्माण कम्पनीले जनाएको छ ।

बेसमेन्ट पार्किङ, तीनतले टर्मिनल भवनसहितको बसपार्कमा एकैपटक ३७ बस र २६ जीप अट्ने क्षमता छ । भवनको बेसमेन्टमा ७२ वटा दुईपाङ्ग्रे सवारीसाधन, ६० अटो तथा केही कार र जीप, विद्युतीय जेनेरेटर तथा अन्य स्टोरसम्बन्धी समान राख्न सकिने ठेकेदार कम्पनीका इञ्जिनीयर सरोजकुमार यादवले बताए ।

यस्तै, भूइँतलामा करिब तीन सय यात्रु बस्नमिल्ने प्रतिक्षालय, टिकट काउन्टर, एटिएम बुथ, सिसिटिभी र सुरक्षा कक्ष, सार्वजनिक शौचालय, प्राथमिक उपचार कक्ष, मिनीमार्टसमेत रहने छन् । भवनको पहिलो तलामा उपमहानगरको आम्दानी प्रयोजनका लागि पसल राख्न सकिने गरी १८ सटर रहेका छन् ।

नगर उपप्रमुख बेघाले धरानमा व्यवस्थित बसपार्क नहुँदा सवारी चालक र यात्रुले निकै समस्या भोग्नुपरेको गुनासो आएपछि उपमहानगरले अत्याधुनिक बसपार्क भवन निर्माण गरेको बताए । “जनगुनासोअनुसार निर्माण गरिएको बसपार्कको अन्तिम काम बाँकी छ । अबको दुई महिनामा काम सम्पन्न भई हस्तान्तरण गरिने जानकारी पाएको छु”, बेघाले भने,“त्यसपछि धरानको बसपार्कसम्बन्धी समस्या समाधान हुनेछ । यात्रुको सहजता र नगरको आम्दानीका लागि बसपार्क निकै उपयोगी हुने हाम्रो विश्वास छ ।”


Read Previous

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण   

Read Next

देवनगर सबस्टेसन सञ्चालनमा, दक्षिण–पश्चिम भरतपुरको विद्युत् आपूर्तिमा सुधार हुने

Leave a Reply

Your email address will not be published.