Nepal Purbadhar

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

काभ्रेका ३ गाउँपालिकामा विद्युत पहुँच पुर्याउन राष्ट्रिय प्रसारण प्रणाली विस्तार


काठमाडाैं । काभ्रेपलाञ्चोकका ३ गाउँपालिकामा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच पुर्याउन प्रसारण प्रणाली विस्तारकाे काम भइरहेकाे छ । नेपाल विद्युत प्राधिकरणले अहिलेसम्म लघु जलविद्युतकाे भरमा रहेका महाभारत र खानीखोला तथा मध्य दुर्गममा सूचीकृत रोशी गाउँपालिकामा विद्युत पहुँच पुर्याउन प्रसारण प्रणाली विस्तारकाे काम गरिरहेकाे हाे ।

प्रसारण प्रणाली विस्तार भइरहेकामध्ये संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सूचीकृत तालिकामा  २ वटा दुर्गम र एउटा मध्य दुर्गम गाउँपालिकामा पर्दछन् ।

दुर्गम मानिएको महाभारत र खानीखोला तथा मध्य दुर्गममा सूचीकृत रोशी गाउँपालिकामा धमाधम विद्युतीय पूर्वाधार विस्तारकाे काम भइरहेकाे छ । यसअघि यी गाउँपालिकाको अधिकांश क्षेत्रमा स्थानीय लघु जलविद्युत आयोजनाले उत्पादन गर्ने विद्युतकाे उपयाेग हुँदै आएकाे थियाे ।

विविध कारणले केही लघु जलविद्युत आयाेजनाकाे उत्पादन बन्द हुँदा स्थानीय मारमा छन् । सञ्चालनमा रहेका केही लघुजलविद्युत आयाेजनाकाे उत्पादनले मात्रै माग धान्न नसकेकाे हुँदा प्राधिकरणले पनि राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच पुर्याउन पूर्वाधार निर्माणकाे काम तीव्र पारेकाे छ ।

“लघु–जलविद्युत् मर्मतसम्भार हुन नसक्दा यिनले धान्न सकेनन्, स्थानीयस्तरमा साना उद्योग स्थापना तथा अन्य उपकरण सञ्चालनका लागि विद्युत्को माग बढ्दै गएपछि केन्द्रीय प्रसारण लाइन विस्तारमा जोड दिएका हौँ”, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भने। उनका अनुसार केन्द्रीय प्रसार प्रणालीकाे विद्युत पहुँच पुगेपछि पहिले झैँ पटकपटक अन्धकारमा बस्नुपर्ने छैन ।

जिल्लाको दक्षिणी क्षेत्र डाँडापारी क्षेत्रका महाभारत, खानीखोला गाउँपालिकामा हाल केन्द्रीय प्रसारण लाइनको विद्युत् उपलब्ध गराउन धमाधम काम भइरहेको प्राधिकरण बनेपा वितरण केन्द्र प्रमुख अमृत अधिकारीले बताए । उनका अनुसार प्राधिकरणले महाभारतको वडा नं ३, ४, ५, ६ र ७ मा करिब २ हजार घरमा केन्द्रीय प्रसारण लाइनको विद्युत सेवा पुगेकाे छ । वडा नं १ मा करिब ३ सय थान मिटर पठाउने तयारी भइरहेको अधिकारीले बताए ।  वडा नं २ र ८ मा लाइन विस्तारको काम भइरहेको छ ।

बनेपा वितरण केन्द्रका अनुसार डाँडापारीकै अर्को क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकामासमेत केन्द्रीय प्रसारण लाइनको विद्युत् उपलब्ध गराउने काम थालिएको छ । खानीखोलाको ५ र ७ नं वडा का केही घरमा विद्युत् लाइन पुर्याइसकिएको केन्द्रका सूचना अधिकारी ई सुरोज पराजुलीले बताए ।

उनका अनुसार खानीखोलाका दुई वडाका करिब १ हजार घरमा उक्त विद्युत् पुगेको हो । गाउँपालिकाको अन्य बस्तीमा लाइन विस्तार गर्दै जाने योजना वितरण केन्द्रको छ । खानीखोला–५ का वडाध्यक्ष बुद्धिबहादुर स्याङ्तानले दुई सय ६७ मिटर गाउँमा आइपुगेको बताउँदै लाइन जोड्ने काममा केही ढिलाइ भएको बताए ।

बुद्धिबहादुरका अनुसार ठेकेदार कम्पनीले बिगे्रको ट्रान्समिटर जोडेका कारण एक सयभन्दा बढी घरमा विद्युत् सेवा पुगेको छैन । यस्तै वडा नं ५ मै आफ्नो घरमा केन्द्रीय प्रसारण विद्युत् जोडिदिन तीन सय २२ स्थानीयले मिटरका लागि निवेदन दिएको स्याङ्तानले जानकारी दिए ।

यसैगरी, रोशी गाउँपालिकामा पनि केन्द्रीय प्रसारण लाइन विस्तारको काम भइरहेको जनाइएको छ । हालै वडा नं ११ भीमखोरीस्थित छहरे, भैँसे, पौवा, भदौरे, मानेगाउँ, अमलाबासको तीन सय ६९ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनमार्फत बिजुली बत्ती बालिएको हो । यसअघि ६ सय १२ घरधुरीमा जडान भइसकेको वडाध्यक्ष लालकुमार पाख्रिनले बताए ।

उनका अनुसार उक्त वडामा करिब ७८ घरमा लाइन जडान गर्न बाँकी छ भने केही घरमा सामुदायिक विद्युतीकरण विद्युत् जडान गरिएको छ । स्थानीयलाई रोशी गाउँपालिकाले निःशुल्क विद्युत् मिटर वितरण गरेको थियो ।

वडा नं ११ र १२ का करिब १५० सय घरमा उक्त प्रसारण लाइन पुर्याउन बाँकी रहेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए । उनका अनुसार वडा नं १२ मा पनि सामुदायिक विद्युतीकरण गर्दा छुटेका करिब ५० घरमा केन्द्रीय प्रसारण लाइन विस्तारको योजना बनाइएको छ ।


Read Previous

मुग्लिन-पोखरा सडककाे पश्चिम खण्डमा ‘अस्फाल्ट प्रविधि’द्वारा कालोपत्र गर्न सुरु   

Read Next

हिमालयन हाइड्रो एक्स्पोकाे चाैंथाे संस्करण बैशाखमा

Leave a Reply

Your email address will not be published.