
महासङ्घका थप तीन विषयगत समिति गठन, बैंकिङ, पर्यटन र व्यापार मेलामा केन्द्रित हुने
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) ले थप तीन वटा विषयगत समितिलाई पूर्णता दिएको छ। महासङ्घअन्तर्गत बैंक, फाइनान्स तथा बिमा समिति, मेला समिति र पर्यटन तथा हवाई यातायात समिति विस्तार भएसँगै नयाँ पदाधिकारी तथा सदस्यहरूले जिम्मेवारी पाएका छन्।
महासङ्घको सचिवालय टेकुमा सोमबार आयोजित कार्यक्रममा कार्यवाहक अध्यक्ष सुरकृष्ण वैद्यले नवनियुक्त उपसभापति, सदस्य तथा सल्लाहकारलाई मनोनयनपत्र हस्तान्तरण गरेका हुन्।
महासङ्घका अनुसार यसअघि आठ वटा विषयगत समितिले पूर्णता पाइसकेका थिए भने नयाँ तीन समितिसहित विषयगत समिति विस्तारको प्रक्रिया थप अघि बढेको छ।
कार्यक्रममा कार्यवाहक अध्यक्ष वैद्यले विषयगत समितिलाई निजी क्षेत्रका समस्या, सम्भावना र आवश्यकताको पहिचान गर्ने महत्वपूर्ण संयन्त्रका रूपमा व्याख्या गर्दै आफ्नो क्षेत्रसँग सम्बन्धित नीतिगत विषयमा अध्ययन गरी महासङ्घमार्फत सरकारसमक्ष प्रभावकारी रूपमा आवाज उठाउन आग्रह गरे।
उनले निजी क्षेत्रको सशक्तीकरण, आर्थिक समृद्धि, लगानीमैत्री वातावरण निर्माण तथा नीति निर्माण प्रक्रियामा सहजीकरण गर्न समितिहरूको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।
महासङ्घका वस्तुगत उपाध्यक्ष नरेशलाल श्रेष्ठले समितिहरू महासङ्घका नीति तथा कार्यक्रम कार्यान्वयन गर्ने आधार भएको उल्लेख गर्दै सम्बन्धित क्षेत्रका व्यवसायीका समस्या पहिचान गरी समाधानका लागि सक्रिय भूमिका खेल्नुपर्ने बताए।
कोषाध्यक्ष मनीषलाल प्रधानले निजी क्षेत्र, सरकार र अन्य सरोकारवालाबीच समन्वय बढाउन विषयगत समितिहरूले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।
तीन समितिको प्राथमिकता फरक फरक
बैंक, फाइनान्स तथा बिमा समितिका सभापति हेमन्त गोल्छाले बैंक तथा वित्तीय सेवामा सहज पहुँच, ब्याजदर स्थिरता, तरलता व्यवस्थापन तथा निजी क्षेत्रमैत्री नीति निर्माणमा समिति सक्रिय रहने बताए।
मेला समितिका सभापति सविन श्रेष्ठले व्यापार मेला तथा प्रदर्शनीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउँदै स्वदेशी उत्पादनको प्रवर्द्धन र बजार विस्तारमा जोड दिइने जानकारी दिए।
यस्तै, पर्यटन तथा हवाई यातायात समितिका सभापति सङ्घर्ष विष्टले पर्यटन क्षेत्रको पुनरुत्थान, हवाई यातायात सुधार, पर्यटन पूर्वाधार विकास तथा नीतिगत सुधारका लागि सरकारसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
महासङ्घमा हाल विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्ने २५ वटा विषयगत समिति रहेका छन्।
