
काठमाडौं । इरानले ओमानसँग भएको नयाँ समुद्री यातायात मार्गसम्बन्धी प्राविधिक समझदारीलाई लिएर हर्मुज जलघाँटी पुनः सञ्चालन हुन लागेको भन्ने चर्चा अस्वीकार गर्दै जलघाँटी अझै बन्द रहेको स्पष्ट गरेको छ।
इरानको विदेश मन्त्रालयले हर्मुज खोल्ने निर्णयलाई ओमानसँगको प्राविधिक सहमतिसँग जोड्न नमिल्ने बताउँदै जलघाँटी खोल्ने विषय राष्ट्रिय सुरक्षा र राष्ट्रिय हितसँग सम्बन्धित छुट्टै निर्णय हुने जनाएको हो।
सरकारी सञ्चारमाध्यम आईआरआईबीसँगको अन्तर्वार्तामा विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले ओमानसँग भएको सहमति सुरक्षित समुद्री मार्ग व्यवस्थापनका लागि आवश्यक प्राविधिक पूर्वतयारी मात्र भएको बताए।
उनका अनुसार नयाँ समझदारीले हर्मुज जलघाँटी खुल्ने सुनिश्चित गर्दैन।
‘बाह्य दबाबमा निर्णय हुँदैन’
बाघाईले अमेरिकी अधिकारीहरूको पछिल्लो चेतावनी र अभिव्यक्तिले इरानको नीतिमा कुनै परिवर्तन नआउने स्पष्ट पारे। उनले इरानले राष्ट्रिय सुरक्षा र सार्वभौम हितलाई आधार बनाएर मात्र निर्णय लिने र कुनै पनि बाह्य दबाब स्वीकार नगर्ने बताए।
उनका अनुसार इरान–ओमानबीच सुरक्षित समुद्री मार्गसम्बन्धी वार्ता अप्रिल ८ को युद्धविराम समझदारीपछि सुरु भएको थियो भने जुन १८ को सहमतिपछि थप तीव्र बनेको हो।
दुवै देशले हालको पुरानो उत्तरी मार्ग र जोखिमपूर्ण दक्षिणी मार्गको विकल्पका रूपमा नयाँ ‘ट्राफिक सेपरेसन स्किम (टीएसएस)’ तयार गर्ने विषयमा काम गरिरहेका छन्।
मे ३० अघिको अवस्था नफर्किने
इरानी विदेश मन्त्रालयले हर्मुजको अवस्था मे ३० अघिको जस्तो बनाउने कुनै योजना नरहेको पनि जनाएको छ।
बाघाईले पछिल्ला महिनाका घटनाले नयाँ सुरक्षा संयन्त्र आवश्यक भएको उल्लेख गर्दै इरानको सार्वभौम अधिकारको पूर्ण सम्मान सुनिश्चित भएपछि मात्र जलघाँटी पुनः सञ्चालनबारे निर्णय हुन सक्ने बताए।
उनले ओमानसँग भइरहेको वार्ता पूर्ण रूपमा द्विपक्षीय विषय भएको र त्यसमा कुनै तेस्रो पक्षको भूमिका नरहेको दाबी गरे।
इरानले हालै आफ्ना पूर्वाधार तथा केशम टापुका आवासीय क्षेत्रमाथि भएको अमेरिकी सैन्य आक्रमणको प्रसंगसमेत उठाएको छ।
बाघाईले बुल्गेरिया, बेलायत, युक्रेनलगायत केही मुलुकलाई आफ्नो भूमि वा सैन्य सुविधा इरानविरुद्ध प्रयोग गर्न नदिन कूटनीतिक माध्यमबाट चेतावनी दिइएको जानकारी दिए।
संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको आक्रमणसम्बन्धी प्रस्ताव उद्धृत गर्दै उनले कुनै देशले आक्रमणकारीलाई सैन्य अड्डा, सुविधा वा रसद उपलब्ध गराए त्यस्तो देश पनि आक्रमणमा संलग्न मानिने र आवश्यक परे इरानले आत्मरक्षाको अधिकार प्रयोग गर्न सक्ने बताए।
यसैबीच, इरानी राष्ट्रपति मसुद पेजेस्कियानले १४ बुँदे इस्लामाबाद समझदारीलाई इरानको भावी विदेश नीतिको महत्वपूर्ण आधारका रूपमा व्याख्या गरेका छन्।
सामाजिक सञ्जाल एक्समार्फत उनले उक्त समझदारीले इरान, क्षेत्रीय मुलुक तथा साझेदारहरूको सुरक्षा सुदृढ गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
उता, इजरायली सञ्चारमाध्यमहरूले मध्यस्थकर्ताहरूले इरान–अमेरिका समझदारी पुनः सक्रिय गर्दै हर्मुज जलघाँटी सञ्चालन गराउने प्रयास गरिरहेको बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले जलघाँटी खोल्न सहमति जनाएको दाबी गरेको एक दिनपछि यस्तो कूटनीतिक पहल सार्वजनिक भएको हो।
यद्यपि, इरानले भने जलघाँटी खोल्ने निर्णय अझै नभएको र ओमानसँगको प्राविधिक सहमतिलाई त्यससँग जोडेर व्याख्या गर्न नहुने स्पष्ट पारेको छ।
