
नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जमा करिब दुई वर्षदेखि बन्द रहेको सिटी स्क्यान मेसिन पुनः सञ्चालनमा आएको छ। सोमबारदेखि सेवा पुनः सुरू भएपछि बाँके, बर्दिया, सुर्खेत तथा लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न जिल्लाका बिरामीलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालका अनुसार मेसिन सञ्चालनमा आएपछि विशेषज्ञ चिकित्सकको सिफारिसअनुसार सेवाग्राहीले अब अस्पतालमै सहज रूपमा सिटी स्क्यान सेवा पाउन थालेका छन्।
उनका अनुसार मेसिन सञ्चालनका लागि आवश्यक प्राविधिक तयारी र मर्मतमा करिब एक महिना लागेको थियो। मेसिनको मुख्य ट्युब बिग्रिएपछि करिब दुई वर्षदेखि सेवा बन्द भएको थियो भने नयाँ ट्युब खरिद प्रक्रिया पूरा गर्न लामो समय लागेको उनले बताए।
“अब सिटी स्क्यानका लागि भारत वा निजी अस्पताल धाउनुपर्ने बाध्यता हट्नेछ,” डा. दर्नालले भने, “यसबाट रोगको समयमै पहिचान, उपचारमा सहजता र बिरामीको आर्थिक भारसमेत घट्ने विश्वास गरेका छौँ।”
मेसिन सञ्चालन भएको पहिलो दिन नै पाँच जना बिरामीले सिटी स्क्यान सेवा लिएको अस्पतालले जनाएको छ।
सेवा विस्तारमा अस्पतालको जोड
भेरी अस्पतालले पछिल्ला समय सेवा विस्तार, आधुनिक उपकरण सञ्चालन, विशेषज्ञ सेवा सुदृढीकरण, बिरामीमैत्री वातावरण निर्माण तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारमा निरन्तर काम गरिरहेको जनाएको छ।
त्यसको प्रभाव अस्पतालको प्रसूति सेवामा पनि देखिएको छ। आर्थिक वर्ष २०८२/८३ मा अस्पतालबाट ६ हजार ५९७ जना महिलाले सुत्केरी सेवा लिएका छन्, जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को ५ हजार ६०८ जना भन्दा उल्लेखनीय रूपमा बढी हो।
अस्पतालका अनुसार गत आर्थिक वर्षमा ४ हजार १४५ जनाको सामान्य प्रसूति,२०५ जनाको भ्याकुम/फोर्सेपमार्फत प्रसूति, र २ हजार २४७ जनाको शल्यक्रियामार्फत प्रसूति गरिएको थियो।
सरकारको सुरक्षित मातृत्व कार्यक्रमअन्तर्गत प्रसूति तथा शल्यक्रिया सेवा निःशुल्क उपलब्ध भइरहेका कारण सेवाग्राहीको संख्या बढ्दै गएको अस्पतालले जनाएको छ।
अस्पतालले आगामी दिनमा स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, अत्याधुनिक उपकरणको प्रभावकारी सञ्चालन तथा विशेषज्ञ सेवा थप विस्तार गर्दै प्रदेशकै प्रमुख सरकारी रेफरल अस्पतालका रूपमा सेवा गुणस्तर अझ सुधार गर्ने योजना रहेको जनाएको छ।
