
ललितपुर। नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनलाई प्रविधिमैत्री र वातावरणमैत्री बनाउने तयारी गरेको छ। महाधिवेशनसम्बन्धी अधिकांश सूचना तथा प्रचार सामग्री डिजिटल माध्यमबाट देशभर प्रसार गर्ने तयारी गरिएको पार्टी प्रवक्ता देवराज चालिसेले बताए।
महाधिवेशनबारे जानकारी दिन पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता चालिसेले महाधिवेशन स्थलमा मुख्य प्रवेशद्वारबाहेक अन्य स्थानमा प्रचार सामग्री टाँस्न नदिइने जानकारी दिए।
उनका अनुसार महाधिवेशनसम्बन्धी सूचना काठमाडौं उपत्यकासहित देशभर डिजिटल माध्यमबाट प्रचारप्रसार गरिनेछ। महाधिवेशनमा करिब ७ हजार ७०० भन्दा बढी प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ। सहभागी नेता तथा कार्यकर्तालाई समेत आफ्ना गतिविधि र सन्देश डिजिटल माध्यमबाट सम्प्रेषण गर्न आग्रह गरिएको उनले बताए।
महाधिवेशन स्थलमा सञ्चारकर्मीका लागि दैनिक पत्रकार सम्मेलन तथा समाचार संकलनका लागि आवश्यक व्यवस्था मिलाइएको चालिसेले जानकारी दिए। उनका अनुसार वडा तहमा ९९ प्रतिशत क्रियाशील सदस्य सहभागी भएका छन्।
महाधिवेशनमा अन्तर्राष्ट्रिय अतिथिका साथै देशभित्रका विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई समेत आमन्त्रण गरिएको उनले बताए।
महाधिवेशनमा वैचारिक बहससँगै राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूसँग छलफल गर्ने तयारी गरिएको छ। युवा, बेरोजगारी र प्रविधिसँग सम्बन्धित विषयलाई प्राथमिकतामा राख्दै नयाँ अवधारणा तथा नीति प्रस्तुत गर्ने तयारी रहेको चालिसेले बताए।
महाधिवेशनलाई व्यवस्थित, अनुशासित र वातावरणमैत्री बनाउन नेपाल तथा विदेशमा रहेका कांग्रेसका नेता, कार्यकर्ता र सञ्चारकर्मीलाई जिम्मेवारीपूर्वक सहयोग गर्न उनले आग्रह गरे।


