
काठमाडौं। करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको बम्पर उपहार पर्साका लालबाबु साह कानुले जितेका छन्। उनले १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएका छन्।
अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास तथा सांसदद्वय गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा उपहार विजेता घोषणा गरेका हुन्।
आन्तरिक राजस्व विभागका अनुसार कानुले २१ हजार रुपैयाँ बराबरको ल्युब आयल खरिद गर्दा गरेको कारोबार बम्पर उपहारका लागि छनोट भएको हो।

विजेता घोषणा भएपछि आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भूषालले कानुलाई फोनमार्फत बधाई दिँदै पुरस्कार प्राप्त गर्न नजिकको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गरेका थिए।
विभागका अनुसार असोज १ देखि १५ गतेसम्म बिल लिएर वस्तु तथा सेवा खरिद गर्ने उपभोक्ताका ३ करोड १८ लाख १८ हजार २८६ ओटा कारोबार उपहार कार्यक्रमका लागि योग्य भएका थिए।
त्यसमध्ये नगदमा कारोबार गरी बिल लिएका उपभोक्ताका २ लाख ४७ हजार ९७९ ओटा कारोबार थिए। यस्तै, अनलाइन तथा कार्डमार्फत भुक्तानी गरी वस्तु खरिद गरेका उपभोक्ताका ३ करोड १५ लाख ७० हजार ३०७ ओटा कारोबार उपहार कार्यक्रममा समावेश भएका थिए।
करदाता प्रोत्साहन उपहार कार्यक्रममार्फत उपभोक्तालाई खरिद गर्दा अनिवार्य रूपमा बिल लिने बानी विकास गर्न र कर प्रणालीलाई थप पारदर्शी बनाउन प्रोत्साहन गरिँदै आएको छ।
असोज १ देखि १५ गतेसम्मका दैनिक एक लाख रुपैयाँका दरले प्रदान गरिने उपहारका विजेताहरूको विवरणसमेत सार्वजनिक गरिएको छ।


