Nepal Purbadhar

भारतमा निर्वाचन आयुक्तको राजीनामा माग्दै कङ्करोचको प्रदर्शन, सात सय भन्दा बढी गिरफ्तार


काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै भएको प्रदर्शनका क्रममा प्रहरीले ७०० भन्दा बढीलाई गिरफ्तार गरेको समाचारहरूमा उल्लेख छ।

दिल्लीस्थित जन्तरमन्तरमा भएको प्रदर्शनका क्रममा मात्रै ७०० भन्दा बढी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ। ज्ञानेश कुमारको राजीनामा माग गर्दै कङ्करोच जनता पार्टी (सीजेपी) ले शुक्रबारदेखि आन्दोलन सुरू गरेको हो।

यसअघि भारतका अन्य विपक्षी दल तथा समूहले पनि मुख्य निर्वाचन आयुक्तको राजीनामाको माग गर्दै प्रदर्शन गर्दै आएका थिए।

प्रदर्शनका क्रममा विद्यार्थी तथा विपक्षी दलका नेतासमेत पक्राउ परेका छन्। समाचारहरूका अनुसार आम आदमी पार्टीकी नेता तथा दिल्लीकी पूर्वमुख्यमन्त्री आतिशी र पूर्वमन्त्री सौरभ भारद्वाज पनि पक्राउ परेका छन्।

त्यस्तै, दिल्लीस्थित जन्तरमन्तरबाट राष्ट्रिय जनता दलका सांसद मनोज झालाई समेत प्रहरीले गिरफ्तार गरेको समाचारमा उल्लेख छ। भारतीय कम्युनिस्ट पार्टीका नेता एमए बेबी पनि प्रदर्शनका क्रममा पक्राउ परेका छन्।

प्रदर्शनकारीहरूले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै निर्वाचन प्रक्रियासँग सम्बन्धित विषयमा प्रश्न उठाएका छन्। प्रदर्शनका क्रममा पक्राउ परेकामध्ये विद्यार्थी तथा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता रहेको बताइएको छ।

भारतमा निर्वाचन आयोगसँग सम्बन्धित विषयलाई लिएर विपक्षी दल तथा अन्य समूहले पछिल्लो समय विरोध प्रदर्शन गर्दै आएका छन्। शुक्रबारको प्रदर्शन पनि यही विवादको निरन्तरताका रूपमा भएको हो।


Read Previous

कांग्रेसको महाधिवेशन प्रविधिमैत्री बनाइने, प्रचार सामग्री डिजिटल माध्यमबाट, पोष्टर टाँस्न नपाइने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar