Nepal Purbadhar

चीनको पिङ्लु नहर सञ्चालनमा, ५६० किलोमिटर टाडाको भित्रि शहर सिधै समुन्द्रको पहुँचमा


काठमाडौं। चीनले दक्षिणपश्चिमी क्षेत्रलाई समुद्री व्यापारसँग जोड्ने महत्वाकांक्षी पिङ्लु नहर सञ्चालनमा ल्याएको छ। करिब १३४ किलोमिटर लामो यो जलमार्गले दक्षिणपश्चिम चीनको व्यापारिक पहुँच विस्तार गर्नुका साथै ढुवानी लागत र समय घटाउने अपेक्षा गरिएको छ।

चीनको याङ्त्से नदीमा विकसित जल यातायातले सांघाई, नानजिङ र वुहानजस्ता सहरको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै स्थानीय सञ्चारमाध्यमसँग कुरा गरेका एक विज्ञले पिङ्लु नहरले दक्षिणपश्चिम चीनमा पनि त्यस्तै आर्थिक परिवर्तन ल्याउन सक्ने बताएका छन्।

उनका अनुसार दक्षिणपश्चिम चीन लामो समयदेखि चीनका अन्य प्रमुख आर्थिक क्षेत्रको तुलनामा पछाडि रहेको अवस्थामा नयाँ जलमार्गले यस क्षेत्रलाई अन्तर्राष्ट्रिय व्यापारसँग थप प्रत्यक्ष रूपमा जोड्न सक्छ।

६.७ मिटर गहिरो र ८० मिटर चौडा नहर

ठूला व्यापारिक जहाज सञ्चालन गर्न नहर निर्माणमा इन्जिनियरहरूले ठूलो प्राविधिक चुनौती सामना गर्नुपरेको थियो। नहरमा पर्याप्त जहाज आवागमन सुनिश्चित गर्न कम्तीमा ८० मिटर चौडाइ र ६.७ मिटर गहिराइ कायम गरिएको छ। घुम्ती क्षेत्रमा जहाज सहज रूपमा मोडिन सक्ने गरी कम्तीमा ३६० मिटरको घुम्ने त्रिज्या कायम गरिएको छ।

जहाज आवागमनका लागि आवश्यक उचाइ कायम गर्न नहर मार्गमा रहेका कतिपय पुल भत्काउनुपरेको थियो भने केही पुललाई माथि उठाइएको थियो।

नहर र समुद्रतर्फको अन्तिम बिन्दु छिनझाउबीच करिब ६५ मिटरको उचाइ अन्तर रहेकाले त्यसलाई व्यवस्थापन गर्नु अर्को ठूलो चुनौती थियो। इन्जिनियरहरूले दुईतर्फी रूपमा सञ्चालन गर्न मिल्ने तीन ठूला ‘सिप लक’ निर्माण गरेर जहाजलाई उक्त उचाइ अन्तर पार गराउने संरचना तयार गरेका छन्। तीमध्ये केही लकको गहिराइ ४० मिटरसम्म रहेको छ।

पानीको अभाव र नुनिलो पानी पस्ने जोखिम

नहर निर्माणबाट ठूलो आर्थिक लाभ हुने अपेक्षा गरिए पनि परियोजनाले स्थानीयस्तरमा प्रश्न र विरोधसमेत सामना गरेको थियो।

गुआङ्सी क्षेत्रमा अक्टोबरदेखि मार्चसम्म रहने सुख्खा मौसममा पर्याप्त पानी नहुने चिन्ता स्थानीयमा देखिएको थियो। लामो समयसम्म वर्षा कम हुँदा नहर सञ्चालनका लागि आवश्यक पानीको उपलब्धतामा असर पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको थियो।

त्यस्तै, छिनझाउ तथा आसपासका क्षेत्रमा सुख्खा महिनामा नदीको बहाव कम हुँदा समुद्री नुनिलो पानी भित्रिन सक्ने र त्यसबाट स्थानीय ताजा पानीको स्रोत प्रभावित हुन सक्ने विषय पनि उठाइएको थियो।

यी जोखिम कम गर्न नहरमा पानी बचत गर्ने प्रविधि प्रयोग गरिएको छ। प्रमुख सिप लकमा एकमाथि अर्को तहमा पानी भण्डारण गर्न सकिने पोखरीसमेत निर्माण गरिएको छ। आगामी सुख्खा मौसमले नहरको पानी व्यवस्थापन प्रणालीको वास्तविक परीक्षण गर्ने अपेक्षा गरिएको छ।

युनानदेखि समुद्रसम्मको दूरी ५६० किलोमिटर छोटिने

पिङ्लु नहर सञ्चालनसँगै युनान प्रान्तबाट समुद्री बन्दरगाहसम्म सामान ढुवानी गर्ने मार्ग छोटिने भएको छ। गुआङ्सी र युनान प्रान्तका सरकारले बुधबार नहरमार्फत हुने ढुवानीलाई सहज बनाउन साझेदारीसम्बन्धी संरचना अघि बढाएका छन्।

नयाँ जलमार्गबाट यात्राको दूरी करिब ५६० किलोमिटर छोटिने अपेक्षा गरिएको छ। यसले ढुवानी लागत र समय दुवै घटाउने बताइएको छ।

यसअघि युनानबाट निर्यात हुने सामान लामो घुमाउरो मार्ग हुँदै ग्वाङ्झाउ पुर्‍याएर त्यहाँबाट समुद्री मार्गमार्फत विदेश पठाउनुपर्ने अवस्था थियो। पिङ्लु नहर सञ्चालनमा आएपछि युनानसहित चीनको दक्षिणपश्चिमी क्षेत्रलाई समुद्री व्यापारमा थप प्रत्यक्ष पहुँच प्राप्त हुने अपेक्षा गरिएको छ।

थप जलमार्गसँग जोड्ने योजना

गुआङ्सी सरकारले पिङ्लु नहरबाट प्राप्त हुने आर्थिक सम्भावनालाई विस्तार गर्न सहायक पूर्वाधार निर्माणका योजनासमेत अघि बढाएको छ।

यसअन्तर्गत मध्य चीनको हुनान प्रान्तलाई गुआङ्सीसँग जोड्ने अर्को प्रस्तावित जलमार्ग विकास गर्ने योजना छ। उक्त जलमार्गलाई पिङ्लु नहरसँग जोडिएपछि चीनको आन्तरिक जल यातायात सञ्जाल थप विस्तार हुने अपेक्षा गरिएको छ।

पिङ्लु नहरलाई चीनको दक्षिणपश्चिमी क्षेत्रका लागि केवल नयाँ जलमार्गका रूपमा मात्र नभई व्यापार, बन्दरगाह पहुँच र क्षेत्रीय आर्थिक गतिविधि विस्तार गर्ने रणनीतिक पूर्वाधारका रूपमा अघि बढाइएको छ। यद्यपि यसको दीर्घकालीन आर्थिक प्रभावसँगै पानीको उपलब्धता र स्थानीय पारिस्थितिक प्रणालीमा पर्ने प्रभाव पनि आगामी वर्षहरूमा महत्वपूर्ण विषय बन्ने देखिन्छ।


Read Previous

२२ वर्षदेखि रोकिएको २७२ रोपनी जग्गाको गाँठो फुकाउँदै धुलिखेल जग्गा विकास आयोजना

Read Next

डिजिटल रूपान्तरण प्रविधिको मात्र नभई शासन, विकास र राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar