Nepal Purbadhar

यस आर्थिक वर्षभित्र ‘उज्यालो तनहुँ’ घोषणा गरिने


तनहुँ । विद्युत् प्राधिकरण, तनहुँ विरतण केन्द्र दमौलीले जिल्लालाई ‘उज्यालो तनहुँ’ घोषणा गर्ने भएको छ।

विद्युत् पहुँच नपुगेका क्षेत्रमा विद्युतीयकरण गरी यसै वर्षभित्र अन्धकारमुक्त जिल्ला घोषणा गर्न लागेको हो।

देवघाट गाउँपालिकाका केही वडामा विद्युत् पहुँच पुग्न बाँकी रहेकाले विद्युत विस्तारको कार्य तिव्र गतिमा भइरहेको वितरण केन्द्रका प्रमुख मेखराज जोशीले जानकारी दिए। उनका अनुसार देवघाटका केही वडामा बाहेक सबै क्षेत्रमा विद्युतीयकरण भइसकेको छ।

बन्दीपुर–६ स्थित साराङघाटमा ३३÷११ केभी क्षमताको ट्रान्समिटरको काम भइरहेकाले उक्त काम सम्पन्न हुनेबित्तिकै सबस्टेशन सञ्चालनमा ल्याई देवघाट क्षेत्रमा विद्युत सप्लार्यस गर्ने योजना रहेको उनले बताए।

देवघाट गाउँपालिकाको वडा नं १ को जामुने देउसरामा पचहत्तर, वडा नं २ को डिहीमा बीस, च्यापिङ्गा चालिस, वडा नं ३ को साविडाँडामा बीस, क्वादी फस्टेपानीमा साठी घरमा विद्युत् पहुँच पुर्याउन बाँकी छ।

‘ती वडामा विद्युत् विस्तारका लागि चार वटा विद्युत् खम्बा आवश्यक छ,’ उनले भने। त्यस्तै वडा नं ४ मा बजेट माग गरेर टेन्डरमार्फत तार टाँग्ने काम भइरहेको छ। उनले भने, ‘एक÷दुई घरमा विद्युत् पुर्याउन धेरै खम्बा आवश्यकपर्ने स्थानमा विद्युत् विस्तार गरिएको छैन।’

जिल्लामा कूल ४३ हजार विद्युत्का ग्राहक छन्। विद्युत् प्राधिकरण, तनहुँ विरतण केन्द्र दमौलीले ३८ लाख १५ हजार ७ सय २३ रुपैयाँ विद्युत् महसुल बक्यौता रहेको जनाएको छ।

विसं २०७९ साउन १ देखि पुस मसान्तसम्म ३८ लाख १५ हजार ७ सय २३ रुपैयाँ विद्युत् महसुल बक्यौता रहेको छ भने ९० लाख ९० हजार २ सय ७७ रुपैयाँ महसुल शुल्क असुली गरिसकेको सो केन्द्रले जनाएको छ।


Read Previous

सुख्खा बन्दरगाह त्रिदेशीय साझेदारीको रणनीतिअनुसार निर्माण हुनेछ : प्रधानमन्त्री

Read Next

ललितपुरमा सडक ढलान शुरू