जाजरकोट । जाजरकोट खण्डभित्र पर्ने मन्ता भिर काट्न ढिला हुँदा मध्यपहाडी लोकमार्गअन्तर्गतको जाजरकोट खण्ड अधुरै छ। अधिकांश ट्रयाक खोलिसकेको अवस्थामा मन्ता भिर काट्ने काम जारी छ। जाजरकोटको छेडागाड नगरपालिकाभित्र पर्ने मन्ता भिर काट्न थालेको १२ वर्ष बितेको छ। अझै पूरा हुन सकेको छैन।
भिर काट्ने जिम्मा लिएका निर्माण व्यवसायी र आयोजनाले एकअर्कालाई आरोप लगाउँदै आएका छन्। सबै ठाउँमा कालोपत्रको कामसँगसँगै भइरहेको छ। तर कालोपत्र गरिएका अधिकांश ठाउँमा उप्किएको छ। मापदण्डअनुसार निर्माण सामग्री प्रयोग नगर्दा सडक बनाउँदै भत्किने क्रम जारी छ।
मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड निर्माण सुरु भएको १२ वर्ष बितेको छ। झार्पा र कार्कीगाउँ बीचको मन्ता भिरमा सडक निर्माण सम्पन्न नहुँदा समस्या भएको छ। कुदुबाट सुयाडासम्मको ८२ किमी सडक खुलिसकेको छ। मन्ता भिरको पाँच सय मिटर चट्टान अझै फुटाउन सकिएको छैन।
लोकमार्गको जाजरकोट भेरी नगरपालिका–१३ कुदुबाट स्याउली बजारसम्म कालोपत्र पूरा भए पनि फेरी उप्किन थालेको छ। निर्माण व्यवसायीले भत्किएको सडक मर्मतमा ध्यान नदिएको स्थानीय भविलाल शाहीको आरोप छ। जगतीपुरबाट स्याउली बजारसम्मको अधिकांश सडक भत्किएको छ।
निर्माण व्यवसायी कम्पनी सिंह एण्ड ब्रदर्सका विश्वास उप्रेतीले १७ किलोमिटर सडक पूर्णरूपमा सम्पन्न भएको बताए। स्याउलीबाट कार्कीगाउँसम्मको १७ किलोमिटर सडक कालोपत्र जारी छ। कार्कीगाउँबाट थलहसम्मको २० किलोमिटर सडकमा पनि काम भइरहेको छ। थलहबाट दैलेखको सिमानासम्म २९ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ।
भत्किएको सडक बनाउन पहल नभएको स्थानीय कमल शाहीले बताए। निर्माण कम्पनीका प्रतिनिधि उप्रेतीले भने आयोजनाबाट रकम नपाएका कारण काम गर्न गाह्रो भएको बताए। आयोजनाका प्रमुख युवराज पोखरेलले निर्माण कम्पनीले बदामासी गरेको आरोप लगाए।