Nepal Purbadhar

वैकल्पिक सहायक राजमार्गको योजना बढ्यो, बजेट घट्यो


त्रिशूल । ‘वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम’ अन्तर्गतको सडकमा टुक्रे योजनालाई प्रथामिकता दिएसँगै नुवाकोटमा ती योजनाले लक्ष्य पूरा गर्न नसक्ने देखिएको छ। संघीय सरकारले सञ्चालनमा ल्याएको हाल सञ्चालित मुख्य राजमार्ग बन्द हुँदा गन्तव्यमा पुग्न वैकल्पिक सडकको परिकल्पना गरिएको भए पनि ती योजना कार्यान्वयन गर्न बजेटको अभाव देखिएको हो।

सडक डिभिजन नुवाकोटले गत वर्ष प्रति योजना तीन करोड रुपैयाँसम्मको पाँच वटा योजना सञ्चालनमा ल्याएकोमा चालू आर्थिक वर्षमा योजनाको सङ्ख्या बढाएर १८ वटा आएको सडक डिभिजन नुवाकोटका प्रमुख अमृतमणि रिमालले जानकारी दिए। उनका अनुसार योजना कार्यान्वयन गर्न बजेट भने प्रतियोजना ५० लाख रुपैयाँको दरले प्राप्त भएको छ।

‘मूल राजमार्गको आसपास बनाएर वैकल्पिक सहायक राजमार्गको विस्तार गर्नुपर्ने र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मार्फत बजेट कार्यान्वयन गर्नुपर्ने हो,’ डिभिजन प्रमुख रिमालले भने, ‘योजनाको सङ्ख्या बढेर आयो, बजेटको आकार घटाइएको छ। लक्ष्य अनुसार सडक निर्माण गर्न खर्च पुग्दैन।’

गतवर्ष सञ्चालित पाँचमध्ये चारलाई तीन करोड र एउटालाई दुई करोड रुपैयाँ बजेट प्राप्त भएको थियो। खर्च अभावले ती योजना पूरा हुन बाँकी छ। बाँकी योजनामध्ये यो आवमा चार वटालाई प्रति योजना एक करोड रुपैयाँ प्राप्त भएको छ। ठाटीभञ्याङबाट गोल्फुभञ्याङ जाने सडकलाई बजेट नै नआएको सडक डिभिजन नुवाकोटका इञ्जिनीयर सुमन बस्नेतले जानकारी दिए।

उनका अनुसार योजना ढिलो गरेर प्राप्त भएकाले निर्माण व्यावसायीलाई कामको जिम्मा दिन अझै बाँकी छ। वैकल्पिक सहायक राजमार्गले नयाँ सडक निर्माण तथा साविकको ‘ट्र्याक’ लाई विस्तार गर्दै हाल सञ्चालनमा रहेका मुख्य राजमार्ग आसपास तथा नदी–खोलाको ठिक पारीतर्फ जहाँ सडकको पहुँच नभएको स्थानमा सडक पुर्याउने लक्ष्य लिइएको छ। नयाँ निर्माण गरिने सहायक राजमार्ग हाल सञ्चालनमा रहेका मुख्य सहायक राजमार्ग सरह सडकको पहुँच दायाँबाट १५ मिटर र कालोपत्र सात मिटर चौडाइको बनाइने उल्लेख छ ।

Facebook Comments

Read Previous

म्याद सकियो, सकिएन कालोपत्र

Read Next

आर्थिक मन्दीलगायत विविध संकटलाई सम्बोधन नयाँ उपाध्यक्षको प्रमुख प्राथमिकता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar