Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

महोत्तरीको पर्यटकीय पूर्वाधार विकासले गति लिँदै


महोत्तरी । बर्दिबास नगरवासी अहिले पर्यटकीय पूर्वाधार विकासको कामले गति लिन थालेपछि उत्साहित भएका छन्।

मधेश प्रदेश सरकार र बर्दिबास नगरपालिकाको संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिले जिल्लाको पूर्वाधार विकासमा उच्च प्राथमिकता दिन थालेको छ। मधेसकै प्रसिद्ध धार्मिकस्थल बर्दिबास–४ माइस्थानस्थित पञ्चधुरामाई मन्दिर परिसर र बर्दिबासकै रातु नदी पश्चिमको जग्गामा प्रदेश सरकारसमेतको सहयोगमा रामजानकी ‘फनपार्क’ निर्माण हुने घोषणाले अहिले नगरवासी हौसिएका हुन्।

‘जिल्लाको समस्त चुरे पर्वत श्रेणी ओगटेको हाम्रो ठाउँमा प्राचीन धरोहर बेवारिसजस्तै छन्,’ बर्दिबास–५ चेरुका भोगेन्द्रराज पौडेलले भने, ‘अहिले बर्दिबास नगरपालिका र प्रदेश सरकारले पर्यटन प्रवद्र्धनका क्षेत्रमा पूर्वाधार विकासका काम अघि बढाइने घोषणा गरेपछि अब केही हुन्छ कि भन्ने आश जागेको छ।’

नगरपालिकाले प्रसिद्ध धार्मिकस्थल पञ्चधुरामाई मन्दिरलाई पर्यटकीय गन्तव्य बनाउने घोषणासाथ काम अघि बढाएको छ। मन्दिर परिसरको तलाउको स्तरोन्नति तथा मन्दिर परिसरको सौन्दर्य वृद्धिका लागि निर्माणको आइतबार शिलान्यास समेत भएको छ।

नगरपालिकाले मन्दिर परिसरको तलाउ व्यवस्थित गर्नेदेखि मनोरम वाटिका निर्माण गर्ने नगरप्रमुख प्रल्हादकुमार क्षेत्रीले बताए। ‘हामी अति प्राचीन पञ्चधुरामाई मन्दिर परिसरलाई सिंगो मधेस प्रदेशले नै गर्व गर्न सक्ने गरी काम अघि बढाउँछौँ,’ उनी भन्छन्, ‘यहाँ आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित बनाउन मन्दिरको आठ कठ्ठा क्षेत्रफलमा सुन्दर वाटिका निर्माण गरिने छ।’ नगरप्रमुख क्षेत्रीसँगै नगरको संस्कृति तथा पर्यटन प्रवर्द्धन समितिका अध्यक्ष हीरालाल गौतमले अब पर्यटन प्रवर्द्धनका क्षेत्रमा योजनाबद्ध काम थालिने उल्लेख गरे।

नगरमा संस्कृतिको जगेर्ना र पर्यटकीय सम्भावनाको विकास गर्न नै नगरपालिकाले नगर क्षेत्रका संस्कृतिविद्, पर्यटन व्यवसायी र स्थानीय उद्यमीलाई सम्मिलित गरेर संस्कृति तथा पर्यटन प्रवर्द्धन समिति गठन गरेको नगरप्रमुख क्षेत्रीको भनाइ छ।

‘अहिले ९० लाख रुपैयाँ विनियोजित छ, यसबाट तलाउ व्यवस्थापनमा ४० र वाटिका निर्माणमा ५० लाख रुपैयाँ खर्च गरिने छ,’ नगरप्रमुख क्षेत्री भन्छन्, ‘रकमकै अभावमा पञ्चधुरामाई मन्दिर परिसरको सौन्दर्य वृद्धिको योजना अलपत्र पर्न दिँदैनौँ।’ यसका लागि प्रदेश र सङ्घीय सरकारसँग आवश्यक थप सहयोग जुटाउन प्राथमिकता दिइएको समितिका अध्यक्ष गौतम बताउँछन्।

पूर्वपश्चिम राजमार्गबाट उत्तरतर्फ करिब दुई किलोमिटर वन क्षेत्र छिचोलेर पुगिने पञ्चधुरामाई मन्दिर वन र लताकुञ्जभित्र अत्यन्त मनोरम छ। मन्दिर परिसरकै तलाउमा एक दशक अघिसम्म जस्तोसुकै प्रचण्ड गर्मीमा पनि पानी सुक्दैनथ्यो र सदावहार कमल ढकमक्क फुलेको देखिन्थ्यो। तर पछिल्ला केही वर्षयता वन विनास र अन्य प्राकृतिक प्रकोप तथा व्यवस्थापकीय बेवास्ताले तलाउ हिउँदमै सुकेर खण्डहरझैँ बन्ने गरेको माइस्थान बस्तीका रामजी पौडेल बताउँछन्। आदिकालकै यो मन्दिर परिसरको सौन्दर्य वृद्धिको काम घोषणा गरिएअनुरुप बढे मधेसको मात्र नभएर छिमेकी मुलुक भारतका पर्यटकका लागि पनि प्रमुख गन्तव्य हुने बर्दिबासवासी बताउँछन्।

पञ्चधुरा मन्दिर परिसरसँगै यसैपालि रातु पुलवारि पूर्वपश्चिम राजमार्गबाट दक्षिणतर्फ रामजानकी ‘फनपार्क’ निर्माण हुने नगरप्रमुख क्षेत्रीको भनाइ छ। नगरपालिकाले ३० बिघा जग्गा व्यवस्था गरेर बनाइने यो रामजानकी ‘फनपार्क’ का लागि मधेस प्रदेश सरकारले नगरलाई दुई करोड १५ लाख रुपैयाँ उपलब्ध गराइसकेको क्षेत्रीले जानकारी दिए। मिथिलापुत्रीमात्र नभएर राष्ट्रकै विभूति सीता (जानकी) र हिन्दू परम्परामा मर्यादा पुरुषोत्तम मानिने श्रीरामका नाममा निर्माण हुने यो पार्कका लागि थप सहयोग जुटिरहेको बर्दिबास नगरपालिकाले जनाएको छ। अहिले तत्काल सुरु गरिन लागेका यी दुवै योजना नगरको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण हुने नगरप्रमुख क्षेत्री बताउँछन्।

पूर्वपश्चिम सरदर १८ र उत्तरदक्षिण ३० किलोमिटर दूरीभित्रको बर्दिबास नगर क्षेत्र महोत्तरीको चुरे पर्वत श्रेणी छुने एकमात्र स्थानीय तह हो। यहाँ पञ्चधुरामाई मन्दिरका अतिरिक्त आदिकालदेखिका धार्मिकस्थल टुटेश्वरनाथ र राईमण्डल धार्मिक क्षेत्र छन्। टुटेश्वरनाथ शिवलिङ्गको ख्याति मधेस र सीमावर्ती भारतका आठ–दश जिल्लामा छ। महाशिवरात्रि र साउने मेलामा यहाँ लाखौँ भक्तजन दर्शनका लागि आउने गरेका छन्।

त्यसैगरी आदिकालमा स्वर्गका राजा इन्द्रले तपस्या गरेर इन्द्रेश्वर महादेवको शिवलिङ्ग स्थापना गरेको मानिने राईमण्डल धार्मिक क्षेत्र छ। यी धार्मिकस्थलबाहेक कालापानीस्थित लक्ष्मीनारायण मन्दिर, कामेश्वर मन्दिर, बर्दिबास रङ्गशाला, कालापानी वनवाटिका, कारेभोगटे ‘पिकनिकस्पट’ (वनभोजस्थल) र गत वर्षमात्रै बनेको रातु नदी किनारको मित्रपार्क पर्यटकीय सम्भावनाका ठाउँ मानिन्छन्। यी ठाउँको विकासमा आवश्यक पूर्वाधार थप्दै लान सकिए बर्दिबास सुन्दर र रोजाइको पर्यटकीय गन्तव्यका रूपमा विकसित हुने बर्दिबास उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु खड्काले बताए।


Read Previous

पोखराका व्यस्त सडकमा ‘पार्किङ’ गर्न रोक

Read Next

लाखौँ खर्चेर बनाइएका पदमार्ग प्रयोगविहीन

Leave a Reply

Your email address will not be published.