Nepal Purbadhar

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

काठमाडौं-केरुङ रेलमार्गको विस्तृत अध्ययन अघि बढ्यो 


काठमाडौं ।  सङ्घीय राजधानी काठमाडौंलाई चीनसँग जोड्ने काठमाडौं–केरुङ रेलमार्गको विस्तृत अध्ययनको काम अघि बढेको छ । गत सोमबार काठमाडौं आइपुगेको चिनियाँ टोलीले रेलमार्गको विस्तृत अध्ययनको काम सुरु गरेको हो ।

चीन सरकारको सहयोगमा गर्न लागिएको अध्ययनका लागि यसअघि नै सम्झौता भइसकेको छ । अध्ययन सुरु गर्न आएको टोलीले  भेट गरेर छलफल गरेको विभागका महानिर्देशक रोहितकुमार बिसुरालले बताए ।

उनले भने,  “काम गर्न उनीहरु आइपुगेकाले सुरु भएको भन्ने बुझिन्छ ।” अध्ययनका लागि अवधि साढे तीन वर्ष लाग्ने विभागले जनाएको छ । अहिले केरुङबाट काठमाडौंसम्मको रेलमार्ग अध्ययन गर्न लागिएको हो ।

विगतमा चीन सरकारले काठमाडौं हुँदै पोखरा वा लुम्बिनीसम्म अध्ययन गर्ने भने पनि तत्कालका लागि त्यो योजना नरहेको महानिर्देशक बिसुरालले जानकारी दिए ।

यसअघि भएको प्रारम्भिक अध्ययनअनुसार सो रेलमार्गमा नेपालभित्रै ७२ किमी लामो देखिएको उनले बताए । केरुङबाट रसुवागढी हुँदै रेलमार्ग काठमाडौंतर्फ आउने विभागले जनाएको छ । तिब्बतभित्र केरुङबाट माथि एउटा ताल रहेको र त्यहाँबाट छुटिएर यता आउने छ ।  “तालबाट मानसरोवर जाने मार्गबाट छुटिएर यतातर्फ आउने गरी रेलमार्गको अध्ययन हुनेछ ”उनले भने।

पाँच वर्ष पहिले भएको सहमतिका आधारमा चीन सरकारले एलवोयू (लेटर अफ अन्डरटेकिङ) पठाएको थियो । सरकारले गत ७ गते अनुमोदन गरेको उनले बताए । सरकारले आफ्नो तर्फबाट अघि बढाउनासाथ चिनियाँ टोली तुरुन्त आइपुगेका थिए ।

“उनीहरु आउन तयार थिए र यताबाट गर्नुपर्ने काम गरिएपछि तुरुन्त आइपुगेका हुन् ” बिसुरालले भने। चिनियाँ पक्षले गत नोभेम्बरमा एलवोयू नेपाल पठाएको थियो । सो कागजात विभागले अर्थ मन्त्रालय पठाए पनि लामो समयसम्म विभिन्न कारणले अलमल भएको उनले बताए । अहिले काम अघि बढेकाले चिनियाँ पक्ष नेपाल आइपुगेको उनले बताए ।

२०७५ मङ्सिरमा सो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन भएको थियो । २०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा सम्भाव्यता अध्ययन गर्ने भनी सहमति भएको थियो ।

त्यसपछि २०७८ चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा अध्ययन चाँडो अघि बढाउने गरी समझदारी भएको थियो । चीन सरकारले कोभिडका कारण केही वर्षयता कतिपय योजना सुरु गर्ने भने पनि अघि बढाएको थिएन । तीमध्ये यो रेलमार्गको अध्ययन पनि एक हो ।

चीनको राष्ट्रिय रेल्वे प्रशासनले केरुङ-काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन सरकारलाई बुझाएपछि नेपाल र चीनका अधिकारीबीच सो विषयमा छलफल हुँदै आएको थियो । सम्भाव्यता अध्ययन प्रतिवेदनले कुन ढाँचामा कसरी रेलमार्ग निर्माण गर्ने भन्ने विषयमा थप गृहकार्य गर्न मार्गप्रशस्त गरेको थियो ।

सम्भाव्यता अध्ययन प्रतिवेदनमा काठमाडौंबाट नुवाकोटको त्रिशूली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखाङ्कनको अवस्थासहित समेटिएको छ । यस्तै, सो रेलमार्गमा सुरुङलाई विशेष प्राथमिकता दिन लागिएको छ । प्रारम्भिक अध्ययनका आधारमा विस्तृत अध्ययन हुन लागेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका अवसरमा हस्ताक्षर भएका महत्वपूर्ण दस्तावेजमध्ये पारवहन तथा यातायात सम्झौता रहेको थियोे । हिमालय वारपार बहुपक्षीय कनेक्टिभिटी सञ्जाल तथा नेपाल चीन सीमापार रेलमार्गले भूपरिवेष्टित नेपालका लागि चीनसँगको कनेक्टिभिटी सञ्जाल विस्तारमा ठूलो मद्दत पुग्ने बताइएको छ ।

 रेलमार्गमा ९९ प्रतिशत सुरुङ    

नेपालले आशाका साथ हेरिएको रेलमार्ग निर्माण सजिलो भने नभएको बताइँदै आएको छ । कठिन भौगोलिक बनावटका कारण अधिकांश स्थानमा रेलमार्ग सुरुङभित्र हुनेछ । प्रारम्भिक अध्ययनमा रेलमार्ग ९९ प्रतिशत जमिनभित्र र एक प्रतिशत मात्रै बाहिर हुने उल्लेख थियो । रासस 


Read Previous

भेरी–बबई डाईभर्सन आयोजनाको परामर्श सम्झौता रद्द प्रक्रियामा

Read Next

नवीकरणीय ऊर्जा प्रणालीको विकासमा इनरजाइज नेपालको बढ्दो भूमिका

Leave a Reply

Your email address will not be published.