Nepal Purbadhar

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

सूचना प्रविधिको क्षेत्रमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई १४ विधामा अवार्ड


काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा लामो समयदेखि योगदान गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई आइसिटी अवार्ड २०२२ बाट सम्मान गरिएको छ । लिभिङ विथ आइसिटीले शुक्रबार राजधानीको सोल्टी होटलमा सातौं संस्करण आयोजना गरी सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा काम गर्दै आएका व्यक्ति तथा संस्थालाई १४ विधामा इन्फोडेभलपर्स आइसिटी अवार्ड प्रदान गरेको हो हो ।

यो वर्ष साढे ५ सय बढीले अनलाइन आवेदन दिएकोमा ५ महिना लामो छनोट प्रक्रियापछि विशेष कार्यक्रम आयोजना गरी अवार्ड प्रदान गरिएको हो । १४ विधासँगै ७ वटै प्रदेशका उत्कृष्ट ७ स्टार्टअपलाई समेत सम्मान र प्रमाणपत्र प्रदान गरिएको छ ।

सातौं संस्करणमा ह्वावे स्टार्टअप आइसिटी अवार्ड मोनाल टेकलाई प्रदान गरिएको छ । प्रडक्ट आइसिटी अवार्ड गल्ली म्याप्सले पाउँदा राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड कारोबार एपलाई प्रदान गरिएको छ ।

त्यस्तै, व्यक्तिलाई प्रदान गरिने आन्टरप्रेनर आइसिटी अवार्ड मंगेशलाल श्रेष्ठ , नेपाली डायस्पोरा आइसिटी अवार्ड डा. बेद काफ्ले , नेपाल टेलिकम पायोनियर आइसिटी अवार्ड विजय कृष्ण श्रेष्ठ र एनसेल वुमन आइकन आइसिटी अवार्ड शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ ।

संस्थाहरूलाई प्रदान गरिने डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर) बाफलको ज्ञानोदय माध्यमिक विद्यालय, डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर) खोकनाको ज्ञानोदय बाल बाटिका स्कुल स्कुल, डिजिटल सर्भिसेस आइसिटी अवार्ड फोनपे र डिजिटल गभर्नेन्स आइसिटी अवार्ड वैदेशिक रोजगार विभागलाई दिइएको छ ।

यस्तै सबैभन्दा बढी पब्लिक भोट ल्याउने टिगलाई पब्लिक च्वाइस आइसिटी अवार्ड प्रदान गरिएको छ भने साउथ एशिया स्टार्टअप आइसिटी अवार्ड चिंगारीलाई प्रदान गरिएको छ । सार्क राष्ट्रका ५० बढी स्टार्टअपको प्रतिस्पर्धाबाट चिंगारीले अवार्ड हात पारेको हो ।

अवार्ड छनोट प्रक्रियाको सिलसिलामा यस वर्ष स्टार्टअप एण्ड आइडिया फेस्ट, मेन्टरिङ सेसन, स्टोरी सेयरिङ सेसन, फिल्ड भिजिट, प्रिजेन्टेशन तथा स्पिड डेटिङहरू सञ्चालन भएका थिए । इन्फोडेभलपर्स मुख्य प्रायोजन गरेको अवार्ड कार्यक्रमलाई ३० भन्दा बढी संस्थाहरूले सहयोग गरेका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नेपाल दूरसञ्चार प्राधिकरण, नाष्ट, नेपाल उद्योग वाणिज्य महासंघ लगायतको सहकार्य रहेको कार्यक्रममा नेपाल टेलिकम र जेनेस सोलुसन इन एसोसिएसन प्रायोजकको रूपमा थिए । विश्वप्रसिद्ध कम्पनी ह्वावे र एससीटी स्मार्ट क्युआर पावर्ड बाईमा पार्टनरमा रहेका छन् ।

यसैगरी क्याटेगोरी पार्टनरमा एनसेल, ई–कमर्स पार्टनरमा दराज, पेमेन्ट पार्टनरमा आईएमई पे, बैंकिङ पार्टनरमा एनआईसी एशिया बैंक, इकोसिस्टम पार्टनरमा माइक्रोसफ्ट, इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट, नलेज पार्टनरमा प्रेसिडेन्सियल कलेज, इम्स्योरेन्स पार्टनरमा आईएमई जनरल इन्स्योरेन्स लगायत छन् ।

कार्यक्रमको शुभारम्भमा आइसिटी अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक राजन लम्सालले नेपालमा डिजिटल इकोसिस्टम विकास गर्न विगत ७ वर्षदेखि अवार्ड आयोजना गरिरहेका बताए । ‘६ महिनादेखिको अथक मेहनत र परिश्रम पश्चात आइसिटी अवार्ड सम्पन्न गर्दैछौं,’ उनले भने, ‘नयाँ नयाँ स्टार्टअप, आइडिया र इन्नोभेसनलाई प्रोत्साहन तथा अग्रजलाई सम्मान गर्ने हाम्रो अभियान निरन्तर जारी रहनेछ ।’

सरकारका मुख्यसचिव शंकरदास बैरागीले सूचना प्रविधिको क्षेत्रमा नेपालले थोरै फड्को मारे पनि अझै धेरै काम गर्न बाँकी रहेको बताए । ‘अहिलेको अवस्थामा सूचना प्रविधि आम मानिसको जीवन जिउने एउटा तरिका भइसकेको छ,’ उनले भने, ‘हरेक क्षेत्रमा आइसिटीले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ ।’

त्यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले आइसिटी क्षेत्रको विकासका लागि आवश्यक सहयोग तथा सहकार्य गर्न मन्त्रालय सधैं तयार रहेको प्रतिबद्धता जनाए ।

आइसिटी अवार्डले नयाँ इन्नोभेसनका लागि प्रेरणा मिलेको बताउँदै आईएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले डिजिटल इकोसिस्टम विकास गर्न सरकारले पूर्वाधारमा लगानी गर्नुपर्ने बताए ।

त्यस्तै, इन्फोडेभलपर्सका ग्रुप अध्यक्ष सञ्जिब राजभन्डारीले यो वर्ष आईसिटी अवार्डको नोमिनेशनका लागि साढे ५ सय बढीको आवेदन आउनु राम्रो कुरा भएको बताए । उनले नेपालले इन्टेलुक्चुअल पर्पटीमा पनि अब काम गर्नुपर्ने बताए ।

यसैगरी, काठमाडौं महानगरपालिकाकी उप मेयर सुनिला डंगोलले स्थानीय तह पनि अब डिजिटल रूपमा अगाडि बढ्न पर्ने बताइन् । काठमाडौं महानगरपालिका सोही अनुसार अगाडि बढेको समेत उनले जानकारी दिइन् ।प्रतिनिधि सभा सदस्य ठाकुर गैरेले डिजिटल पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउँदै त्यसका लागि नीति निर्माण तहबाट आफुले पहल गर्ने बताए ।

त्यस्तै, अवार्डका जुरी संयोजक हेमपाल श्रेष्ठले विभिन्न चरणको छलफल र छनोट पश्चात सर्वोत्कृष्ट विजेता छानिएको बताए । कार्यक्रमको समापन गर्दै सुस्मित ग्रुपका अध्यक्ष सुशिल पोखरेलले आइसिटी अवार्ड हरेक वर्ष उत्कृष्ट हुँदै गइरहेको जानकारी दिए ।

अवार्ड विजेताले के के प्राप्त गरे ?

नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा आइसिटी अवार्ड प्राप्त गर्नु एउटा गौरवको विषय बन्दै आएको छ । यस वर्ष स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइीसटी अवार्ड २०२२ का विजेताले माइक्रोसफ्ट र ह्वावेबाट क्लाउड सेवाको लागि लाखौं रुपैया बराबरको क्रेडिट पाएका छन् । नेपाल टेलिकमले सबै विजेतालाई एक वर्षको लागि हाई स्पिड इन्टरनेट सेवा दिएको छ भने एनसेलले वुमन आइकन आइसिटी अवार्ड विजेतालाई ३ लाख रूपैयाँ नगद दिएको छ ।

यसैगरी सिल्भर लाइनिङले डिजिटल सर्भिसेस विधामा विशेष सपोर्ट प्याकेज दिएको छ । अन्य स्पोन्सर तथा सहयोगी सस्थाहरुले विभिन्न किसिमले सेवाहरु निशुल्क प्रदान गरेका छन् । स्टार्टअप तथा प्रडक्टहरुको लागि लगानीको वातावरण बनाउन विभिन्न किसिमका नेटवर्किङ र मिटिङहरु सञ्चालन हुने छन् ।

अवार्ड विजेताको नाम

  •  ह्वावे स्टार्टअप आइसिटी अवार्डः मोनाल टेक प्रालि
  • प्रडक्ट आइसिटी अवार्डः गल्ली म्याप्स
  •  राइजिङ स्टार आइसिटी अवार्डः कारोबार
  •  डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर): ज्ञानोदय बाल बाटिका स्कुल
  •  डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर): ज्ञानोदय माध्यमिक विद्यालय
  •  नेपाल टेलिकम पायोनियर आइसिटी अवार्डः विजय कृष्ण श्रेष्ठ
  •  आन्टरप्रेनर आइसिटी अवार्डः मंगेशलाल श्रेष्ठ
  •   नेपाली डायस्पोरा आइसिटी अवार्डः डा. वेद काफ्ले
  •  एनसेल वुमन आइकन आइसिटी अवार्डः शिला कंसाकार कार्की
  •  डिजिटल सर्भिसेस आइसिटी अवार्डः फोनपे पेमेन्ट सर्भिसेस लिमिटेड
  •  डिजिटल गभर्नेन्स आइसिटी अवार्डः नागरिक एप
  •  साउथ एशिया आइसिटी अवार्डः टेक फोर बिलियन (चिंगारी)
  •  पब्लिक च्वाइस आइसिटी अवार्डः टिग
  •  जुरी मेन्सन आइसिटी अवार्डः दिक्षान्त पाण्डे (पाइथन भ्वाइस असिस्टेन्ट)

सातै प्रदेशका ७ उत्कृष्ट स्टार्टअप

गत चैतदेखि जेठसम्म लिभिङ विथ आइसिटीले सातै प्रदेशममा स्टार्टअप एण्ड आईडिया फेस्ट आयोजना गरेको थियो । देशैभरका स्टार्टअप तथा आईडियालाई प्रवर्द्धन र प्रोत्साहन गर्न आयोजना भएको उक्त कार्यक्रममा सातै प्रदेशका उत्कृष्ट स्टार्टअप छनौट गरिएको थियो ।

छनौट भएका स्टार्टअप तथा आईडियालाई काठमाडौं ल्याएर ३ दिने बुटक्याम्प सञ्चालन गरिएको थियो भने नेपालका केही ठूला आईटी कम्पनीको भिजट समेत गराइएको थियो । सातै प्रदेशबाट छनौट भएका ३५ बढी स्टार्टअप र आईडिया मध्येबाट प्रत्येक प्रदेशका सर्वोत्कृष्ट छनोट गरिएको छ ।

यस अनुसार प्रदेश १ बाट क्युरा हेल्थ, मधेश प्रदेशबाट इजिइट्स, बागमती प्रदेशबाट नलेज एक्सचेन्ज, गण्डकी प्रदेशबाट स्वस्तिक ग्रुप (स्वस्तिक न्युट्री फुड), लुम्बिनी प्रदेशबाट फरिद डटकम, कर्णाली प्रदेशबाट सुर्खेत सफ्ट र सुदूरपश्चिम प्रदेशबाट पाथिभरा सेन्सर सोलुसन उद्योगलाई प्रदेशका उत्कृष्ट स्टार्टअपको रूपमा सम्मान गरिएको छ । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार विधामा विभिन्न चरणको छनोट पश्चात पब्लिक भोटिङ समेत गरिएको थियो ।


Read Previous

नेपाल पर्यटन दशकको रणनीतिक कार्ययोजना सार्वजनिक, वार्षिक ३५ लाख पर्यटक भित्राउने लक्ष्य

Read Next

मेलम्ची नगरपालिकाकाे सवारी चाप न्यूनीकरण गर्न भित्री सडक निर्माण

Leave a Reply

Your email address will not be published.