Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने

निर्माण सम्पन्न भएको कुर्था–बिजलपुरा रेलमार्ग नेपाललाई हस्तान्तरण गर्ने भारतको तयारी


काठमाडौं । जयनगर–बर्दिवास रेलमार्गअन्तर्गत कुर्थाबाट बिजलपुरासम्मको रेलमार्ग निर्माण लगभग सकिएको छ ।

सो खण्डमा आवासलगायतका थोरै निर्माण बाँकी रहेको र धेरै काम सकिएकाले भारतीय पक्षले हस्तान्तरण गर्न चाहेकाो छ । त्यसको लागि नेपाल सरकारलाई जानकारी समेत गराइसकेको रेल विभागले जनाएको छ ।

भारतले नेपाललाई हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाएको विभागका प्रवक्ता अमन चित्रकारले जानकारी दिए । अब छिट्टै नै यो खण्ड भारतले नेपाल सरकारलाई हस्तान्तरण गर्न चाहेको उनको भनाइ छ ।

बाँकी रहेका थोरै काम भारतीय पक्षले नै गर्ने प्रवक्ता चित्रकारले जानकारी दिए । पहिले हस्तान्तरण भएपछि नै बाँकी काम गरिसकिने उनको भनाइ छ । अहिले नै निर्माण शतप्रतिशत नसकिएको भए पनि जति संरचना सकिएको छ त्यो हस्तान्तरण गर्न भारतीय पक्षले उल्लेख गरेको प्रवक्ता चित्रकारले बताए । नेपाली पक्षले निर्णय भएपछि हस्तान्तरण हुनेछ ।

अहिले भारतको जयनगरबाट धनुषाको कुर्थासम्म रेल सञ्चालनमा छ । रेलमार्ग हस्तान्तरण भएपछि महोत्तरीको बिजुलपुरासम्म नै रेल सञ्चालन गर्न सकिने प्रवक्ता चित्रकारले जानकारी दिए ।

अहिले नै कुर्थाबाट रेल बिजलपुरासम्म जानसक्ने भइसकेको छ । रेल नियमित रूपमा बिजलपुरासम्म सञ्चालन गर्न थप जनशक्ति आवश्यक हुनेछ । भारत सरकारले हस्तान्तरण गरेपछि नेपाल रेल्वे कम्पनीले आवश्यक जनशक्तिको व्यवस्थापन गर्नेछ र रेल सञ्चालन गरिनेछ ।

भारतीय अनुदान सहयोगमा निर्माणाधीन सो रेलमार्गको मुख्य पूर्वाधारको काम सकिएको छ । बिजलपुराबाट महोत्तरीको बर्दिवाससम्मको निर्माण पनि भारतीय पक्षले नै गर्नेछ

कुर्थासम्म रेलको लाइन पुरानो नै भएकाले जग्गाको ठूलो समस्या नभए पनि बिजलपुराबाट बर्दिवास खण्डमा जग्गा प्राप्ति गर्नुपर्ने रेल विभागले जनाएको छ । अहिले धेरै जग्गा प्राप्त भइसकेकाले निर्माणमा जान सकिने प्रवक्ता चित्रकारले जानकारी दिए ।

भारतीय पक्षले कुर्थासम्मको खण्डमा पहिले रेलमार्ग भएकै ठाउँमा पुराना सबै पूर्वाधार हटाएर नयाँ निर्माण सुरु गरेको थियो । पहिले ‘न्यारो गेज’ मा निर्माण भएकामा अहिले ‘ब्रोड गेज’ मा निर्माण भएको हो ।

यो रेलमार्ग निर्माणमा प्राविधिक र आर्थिक दुवै पक्ष भारतीय सहयोगमा भएको हो । हाल सञ्चालनमा रहेको रेल सेट भने नेपाल सरकारले भारतीय सरकारी कम्पनीसँग खरिद गरेको रेल विभागले जनाएको छ ।

जयनगरबाट जनकपुर, कुर्था, बिजलपुरा हुँदै सो रेलमार्ग बर्दिवाससम्म पुग्नेछ । नेपाल सरकार आफैँले निर्माणअघि बढाइरहेको पूर्व–पश्चिम रेलमार्ग पनि बर्दिवास नै भएर अघि बढ्नेछ । यी दुवै रेलमार्ग बर्दिवासमै जोडिने गरी योजना बनाइएको छ ।

पहिलो खण्डमा कुर्थासम्मको निर्माण सकिएपछि नै बिजलपुरासम्मको निर्माण अघि बढाइएको थियो । यो खण्ड सकिएकाले अब बर्दिवाससम्मको निर्माण अघि बढाइने विभागको तयारी छ ।

लामो समयसम्म जग्गा विवादकै कारण कुर्था–बिजलपुरा रेलमार्ग निर्माण अघि बढ्न सकेको थिएन भने त्यो टुङ्गिएसँगै रेलमार्ग निर्माण गरिएको हो । सन् २०१० मा तत्कालीन राष्ट्रपति रामवरण यादवको भारत भ्रमणका क्रममा दुई देशका सीमा जिल्ला जोड्ने गरी ५ ठाउँमा रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो ।

भारत सरकारको अनुदान सहयोगमा पाँच स्थानमा रेलमार्ग निर्माण गर्ने भनिए पनि एउटा यसबाहेक जोगबनी–विराटनगर रेलमार्गमा मात्रै निर्माण भइरहेको छ । यीवाहेकका न्यू जलपाइगुडी–काँडडभिट्टा, नौतनवा–भैरहवा र रुपैडिया–नेपालगञ्ज क्षेत्रमा भने निर्माण सुरु हुनसकेको छैन ।

नेपालमा राणाकालमै विसं १९८४ तिर भारतको रक्सौलबाट नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरबाट जनकपुरसम्म रेलसेवा थियो । त्यो बन्द भएको लामो समयपछि नयाँ प्रविधिको रेलमार्ग निर्माण गरिएको हो ।

जयनगर–कुर्था रेल सञ्चालनकै लागि सरकारले दुई सेट रेल खरिद गरेको थियो । कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण झण्डै ३ वर्षपछि विसं २०७८ चैत २१ गतेबाट सो रेलमार्ग सञ्चालन भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा रेलको भर्चुअल उद्घाटन गर्नुभएको थियो । अहिले रेल नियमित सञ्चालनमा रहेको छ ।

कुर्थादेखि बिजलपुरासम्म रेलमार्ग १७ किमी रहेको छ । जयनगरबाट बिजलपुरासम्म रेलमार्ग निर्माण हुँदा जम्मा ५२ किमीमा रेल सञ्चालन हुनेछ । बर्दिवाससम्म नै खण्डमा निर्माण सकिँदा यो रेलमार्गको जम्मा लम्बाइ झण्डै ७० किमीको हुनेछ ।

अहिले सरकारले आफ्नै लगानीमा पूर्व–पश्चिम रेलमार्ग अघि बढाइरहेको छ । अपर्याप्त बजेटका कारण निर्माणले गति लिइरहेको छैन । भारत सरकारले काठमाडौँ–रक्सौल र चीन सरकारले काठमाडौँ–केरुङ रेलमार्ग निर्माणमा चासो देखाएको छ । रासस


Read Previous

धोबिखोला करिडोर धमाधम कालोपत्रे हुँदै

Read Next

एक महिनापछि हेटौंडा सिमेन्ट उद्योगबाट उत्पादन सुचारु

Leave a Reply

Your email address will not be published.