Nepal Purbadhar

नयाँ विद्युतीय खरिद प्रणाली सञ्चालनमा,के छ फरक ?


काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले नयाँ संस्करणको विद्युतीय खरिद प्रणाली (ई–जीपी) सञ्चालनमा ल्याएको छ । मंगलबार कार्यालयका सचिव विश्वबाबु पुडासैनीले नयाँ प्रणालीको उद्घाटन गरेका हुन् ।

उच्च सुरक्षा जोखिम देखिएपछि पुरानो विद्युतीय खरिद प्रणालीबाट नयाँ सूचना प्रकाशन गर्ने कार्य स्थगित गरिएकोमा सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रबाट नयाँ प्रणाली विकास भएपछि पुनः सञ्चालनमा ल्याइएको हो ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव रामप्रसाद आचार्यले नयाँ संस्करणको ई–जीपी प्रणाली पुरानोभन्दा सुरक्षित र भरपर्दो रहेको दाबी गरेका छन् ।

‘पुरानो प्रणालीभन्दा यो प्रणाली सुरक्षित र भरपर्दो छ,’ सहसचिव आचार्यले भने ।

कार्यालयले जारी गरेको सूचनाअनुसार नयाँ प्रणालीमा सार्वजनिक निकाय, बोलपत्रदाता तथा आपूर्तिकर्ताले मात्र दर्ता गर्न पाउने व्यवस्था गरिएको छ । पहिलो चरणमा सार्वजनिक निकाय, बोलपत्रदाता तथा आपूर्तिकर्ताले प्रणालीमा उपलब्ध विवरण भर्ने गरी परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको हो ।

नयाँ प्रणालीमार्फत निर्माण कार्य तथा मालसामान खरिदका राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका बोलपत्रसम्बन्धी सूचना मात्र प्रकाशन गर्न सकिनेछ ।

त्यस्तै, सार्वजनिक निकायले बोलपत्रदाताले तोकेको समयभित्र अनलाइन वा कार्यालयमै हार्डकपीमार्फत प्रस्ताव पेस गर्न सक्ने व्यवस्था गरेको छ । अनलाइन र हार्डकपी दुवै माध्यमबाट प्रस्ताव बुझाउन सकिने भए पनि बोलपत्र खोल्ने (ओपनिङ) तथा मूल्यांकन (इभ्यालुएसन) भने विद्युतीय खरिद प्रणालीमार्फत नै गर्नुपर्नेछ ।

हार्डकपीमार्फत प्राप्त भएका बोलपत्रको अभिलेखसमेत विद्युतीय प्रणालीमा राख्नुपर्ने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।

नयाँ प्रणाली सञ्चालनमा आएसँगै सार्वजनिक निकायको खरिद प्रक्रिया थप व्यवस्थित, पारदर्शी र सुरक्षित हुने अपेक्षा गरिएको छ ।


Read Previous

बालेनका इन्जिनियर सन्तोष पाण्डे लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त

Read Next

विकास र लगानी विकेन्द्रीकरण गर्नुपर्नेमा योजना आयोगका उपाध्यक्ष भट्टको जोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar