Nepal Purbadhar

बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025

बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025

पर्यटक आकर्षणको केन्द्र बन्दै बागलुङको रिगताल   


ढोरपाटन । उच्च पहाडको शिरमा छ रिगताल । चिसो हावापानी, शान्त वातावरण र मनै लोभ्याउने चराचुरुङ्गीको चिरबिर आवाज । आन्तरिक पर्यटकको चहलपहल भइरहने पातीहाल्ने र रिगताल यतिबेला धेरै पर्यटकलाई स्वागत गर्न कुरिरहेका छन् ।

निसीखोलाको शिर मानिने रिगतालबाट देखिने मनमोहक दृश्यले हजारौंलाई लोभ्याएको छ। पातीहाल्ने र रिगतालको सौन्दर्यसँग रमाउन पछिल्लो समय दैनिक सयौं पर्यटक यहाँ आउने गरेका छन् । गण्डकी प्रदेशको निसीखोला गाउँपालिका र लुम्बिनी प्रदेशको पूर्वी रुकुमको सिमानामा रहेको यो ताल निसीखोला गाउँको चिनारीका रूपमा लिइन थालिएको छ ।

जब राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडियो, तब यसको प्रचार-प्रसार तीव्ररूपमा हुन थाल्यो । गोठालाले पानी पिउन प्रयोग गर्दै आएको रिगताल पर्यटकीय गन्तव्यका रूपमा विकास हुने परिकल्पना स्थानीयवासीले गरेका थिएनन् । अहिले यो क्षेत्र नै पर्यटकका लागि आकर्षणको केन्द्र भएको छ ।

सो क्षेत्रमा पुस-माघमा पर्यटक गाडी लिएरै हिउँ खेल्न तथा बैशाख, जेठ र असारमा गर्मी छल्न एवं हरियाली प्रकृतिसँग रम्न जाने गर्छन् । स्थानीय विकास घर्तीमगर लोकमार्ग कालोपत्र भएपछि यहाँ पर्यटकको आगमन बढेको बताउँछन्।

“पहिले-पहिले त यहाँ खासै मान्छे आउँदैनथे, यो ठाउँमा गोठालाले भेडाबाख्रा र गाईभैँसी चराउने गर्थे,” उनले भने, “मोटर बाटो कालोपत्र भएपछि त दैनिक सयौँ मान्छे गाडी लिएर घुम्न आउने गरेका छन्, अहिले त ताल पनि राम्रो बनेको छ, पहिलेको जस्तो छैन ।”

उनले सडकले गर्दा बस्ती विस्तार हुन थालेको बताए । उनका अनुसार अझै पनि यहाँबाट गोठालाले पानी भरेर उपयोग गर्ने गर्छन् । यो अहिले व्यवस्थित भएकाले गाउँपालिकाले संरक्षण गर्न थालेदेखि पर्यटक आउन सुरु गरेकाे उनले बताए ।

पातीहाल्ने मध्यपहाडी लोकमार्गमै पर्छ भने रिगताल पातीहाल्नेबाट १५ मिनेट पैदल जाँदा उत्तरतर्फ पर्छ । अहिले उक्त तालसम्म पुग्नका लागि निसीखोला गाउँपालिकाले सडक निर्माण गरेको छ । जसले गर्दा पैदल र गाडीमा पनि सहजै तालमा पुग्न सकिन्छ ।

ताललाई व्यवस्थित गराउनका लागि निसीखोला गाउँपालिकाले पूर्वाधार निर्माण गर्न थालेको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताए । गाउँपालिकाले यस क्षेत्रको प्रचार-प्रसार र पूर्वाधार निर्माणका गर्न थालेको घर्तीमगरको भनाइ छ ।

उनले यसको विकासका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार पारेको, तालसम्म पुगेको सडकलाई व्यवस्थापन गर्ने र ताललाई फराकिलो बनाउने योजना बनाएको बताए।

“ताललाई थप आकर्षक बनाउन केही फराकिलो बनाउने, त्यस वरपर व्यवस्थित पार्क निर्माण गर्ने गरी योजना बनाएका छौं, केही काम भएका छन् भने थप कामका लागि अबको बजेटबाट गर्ने छौं,” उनले भने, “यहाँका समस्या समाधान गरेर यस क्षेत्रको विकास गर्ने खाका तयार पारिसकेका छौं, केही समयपछि यहाँ पूर्वाधार निर्माण हुनेछन्। ”

रुकुमपूर्वको सदरमुकाम रुकुमकोटबाट घुम्न आउनुभएका प्रवेश केसीले सामाजिक सञ्जालमा जिकै भाइरल भएकोले हेर्न आएको बताए । उनले यो ठाउँमा आउने सडक पनि राम्रो भएको हुँदा बिदाको दिनमा घुम्न आउन सकिने बताए ।

रिगताल नाम स्थानीय मगर खाम भाषाबाट रहन गएकाे हाे । ‘रि’ को अर्थ पानी र ‘ग’ को अर्थ गहिरो अर्थात् एकै ठाउँ जमेको भन्ने बुझाउँछ । यस तालबाट बागलुङ जिल्लाको विभिन्न स्थान, रोल्पा, रुकुम, गुल्मी, प्युठान, अर्घखाँची, पर्वतलगायतका ठाउँको दृश्य देख्न सकिन्छ ।

माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरिलगायतका दर्जनौँ हिमशृङ्खला र उच्च पहाडी क्षेत्रको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।


Read Previous

बेष्ट एयरलाइन्स अवार्ड २०२२ डिसेम्बरमा हुने

Read Next

फागुन १२ र १३ मा ऊर्जा सम्मेलन हुँदै,विद्युत व्यापारलाई मुख्य एजेण्डा बनाइने

Leave a Reply

Your email address will not be published. Required fields are marked *