Nepal Purbadhar

एनपीएल: प्लेअफ दौडमा फर्किने लक्ष्यसहित कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दै


काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। लिग चरणका खेल निर्णायक बन्दै जाँदा दुवै टोलीका लागि यो खेल महत्वपूर्ण हुनेछ। विशेषगरी लगातार दुई खेलमा पराजित भएको कर्णाली जित निकाल्दै प्लेअफ दौडमा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा हुनेछ।

एनपीएलको लिग चरणमा २८ खेल हुने तालिकाअनुसार आज १९ औँ र २० औँ खेल हुँदैछन्। प्रतियोगिता अन्तिम चरणतर्फ अघि बढ्दै गर्दा हरेक खेलको नतिजाले प्लेअफको समीकरणमा प्रभाव पार्ने देखिएको छ।

प्रतियोगितामा पोखरा एभेन्जर्स सबैभन्दा कमजोर अवस्थामा छ। चार खेल खेलेको पोखराले अहिलेसम्म जित निकाल्न सकेको छैन। बाँकी तीन खेल जिते पनि उसको प्लेअफ यात्रा अन्य टोलीको नतिजामा निर्भर रहनेछ।

कुशल भुर्तेल, अर्जुन कुमालजस्ता नेपाली खेलाडी तथा मेहदी हसन र युवराज साम्राजस्ता विदेशी खेलाडी रहेको पोखरा आज पहिलो जितको खोजीमा हुनेछ। यसअघि टोलीका लागि खेलेका सकिब अल हसन भने अघिल्लो खेलपछि टोलीमा छैनन्।

अर्कोतर्फ प्रतियोगिताको सुरूआत लगातार दुई जित निकालेको कर्णाली पछिल्ला दुई खेलमा पराजित भएको छ। सुरुआती लय गुमाएको कर्णाली पोखराविरुद्ध जित निकाल्दै पुनरागमन गर्ने योजनामा हुनेछ।

सोमपाल कामी, गुल्सन झा र नन्दन यादवजस्ता नेपाली खेलाडी तथा डेभिड मिलर र हुसेन तलतजस्ता विदेशी खेलाडीले कर्णालीको टोलीलाई सन्तुलित बनाएका छन्।

अंकतालिकामा कर्णालीको चार अंक छ। समान अंक भएका अन्य टोलीसँगको प्रतिस्पर्धामा अघि बढ्न पनि कर्णालीलाई आजको जित महत्वपूर्ण हुनेछ। यता पोखराका लागि भने यो खेल प्रतियोगितामा आफ्नो पहिलो जित निकाल्ने अवसर हुनेछ।

आजै हुने अर्को खेलमा चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल साँझ ५ बजे सुरू हुनेछ।


Read Previous

दैलेखमा बिरामी बोकेको जीप ३०० मिटर तल खस्यो, एकको मृत्यु, चालकसहित पाँच घाइते

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar