
काठमाडौं। दैलेखमा बिरामी बोकेर सुर्खेत जाँदै गरेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित पाँच जना घाइते भएका छन्।
सोमबार बिहान कालिकोटबाट अक्सिजन सिलिन्डरसहित बिरामी लिएर सुर्खेततर्फ जाँदै गरेको जीप दैलेखको गुराँस गाउँपालिका-१ काफलतोलीमा दुर्घटनामा परेको हो। कर्णाली राजमार्गबाट करिब ३०० मिटर तल खसेको जीपमा सवार कालिकोटको सान्नित्रिवेणी गाउँपालिका-६ का ४१ वर्षीय रने सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कर्णाली प्रदेश ०२-००१ च १२१५ नम्बरको जीप बिहान करिब ५:३० बजे अनियन्त्रित भएर सडकबाट तल खसेको थियो। दुर्घटनामा गम्भीर घाइते भएका रनेको उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा जीप चालक सान्नित्रिवेणी-७ का २२ वर्षीय योगेश सिंखडा, सोही ठाउँका १८ वर्षीय गंग सार्की र २१ वर्षीय तपेन्द्र सिंखडा गम्भीर घाइते भएका छन्।
त्यस्तै, सान्नित्रिवेणी-६ की ३६ वर्षीया जादुकाल सार्की र २७ वर्षीया कैसि सार्की पनि घाइते भएका छन्। उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै सबै घाइतेको उद्धार गरी उपचारका लागि सुर्खेत पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


