Nepal Purbadhar

घोप्टेभिरको पहिरो पन्छाइदै, दिउँसो १ बजेसम्म सडक खुलाउने तयारी


चितवन। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभिरमा खसेको पहिरो पन्छाएर दिउँसो १ बजेसम्म सडक दुईतर्फी सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

सोमबार बिहान करिब ५ बजे सडक माथिबाट सुक्खा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको हो। पहिरो हटाउन सडकको दुवैतर्फबाट उपकरण परिचालन गरी काम तीव्र पारिएको छ।

नागढुङ्गा-मुग्लिन सडक योजना पश्चिम खण्डका प्रमुख सजना अधिकारीका अनुसार मुग्लिनतर्फबाट सडक डिभिजन कार्यालय भरतपुरको लोडर प्रयोग गरिएको छ। यस्तै, काठमाडौं तर्फबाट २ ओटा एक्साभेटर, एउटा जेसीबी र एउटा लोडर परिचालन गरिएको छ।

सडक केही सफा भएपछि काठमाडौं तर्फबाट एउटा एक्साभेटर मुग्लिनतर्फ पठाएर पहिरो पन्छाउने योजना रहेको अधिकारीले जानकारी दिइन्। थप पहिरो नखसेमा दिउँसो १ बजेसम्म सडक सञ्चालनमा आउने उनको भनाइ छ।

घोप्टेभिरमा निरन्तर सुक्खा पहिरो खसिरहेकाले सडक खुलाउन ढिलाइ भइरहेको छ। यसअघि राति १ बजे खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो। तर, बिहान ५ बजे पुनः पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो।

पहिरो खसेको स्थान मुग्लिनबाट करिब ३ किलोमिटर मलेखुतर्फ पर्छ। सोही स्थानमा आइतबार पनि सुक्खा पहिरो खसेर केही समय सडक अवरुद्ध भएको थियो।


Read Previous

एनपीएल: प्लेअफ दौडमा फर्किने लक्ष्यसहित कर्णाली याक्स र पोखरा एभेन्जर्स भिड्दै

Read Next

४५० मेगावाट उत्पादन बन्द, लक्ष्मीपूजाको दिन पनि कसरी संभव भयो ५८७ मेगावाट विद्युत् भारत निर्यात ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar