
चितवन। सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वी राजमार्गको घोप्टेभिर खण्डमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ। चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभिरमा खसेको पहिरो हटाएपछि सोमबार दिउँसो १:३० बजेदेखि यातायात नियमित गरिएको हो।
नागढुङ्गा-मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार दिउँसो १:२५ बजे पहिरो व्यवस्थापनको काम सम्पन्न भएको थियो। पहिरो हटाउन मुग्लिन र धादिङतर्फबाट ६ ओटा उपकरण परिचालन गरिएको थियो।
पहिरो पन्छाउन लोडर, एक्साभेटर र जेसीबी प्रयोग गरिएको थियो। बिहान करिब ५ बजे खसेको सुक्खा पहिरोका कारण राजमार्ग दुईतर्फी अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधन बाटोमै रोकिएका थिए।
यसअघि आइतबार पनि सोही स्थानमा सुक्खा पहिरो खसेर केही समय सडक अवरुद्ध भएको थियो। सोमबार राति १ बजे खसेको पहिरो हटाएर सडक सञ्चालनमा ल्याइए पनि बिहान पुनः पहिरो खसेपछि यातायात रोकिएको थियो।
पहिरो खसेको स्थान मुग्लिनबाट करिब ३ किलोमिटर काठमाडौं तर्फ पर्छ। सडक सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।

