Nepal Purbadhar

शुक्रबार, मंसिर २३, २०७९
Friday, December 9, 2022

शुक्रबार, मंसिर २३, २०७९
Friday, December 9, 2022

मनाङमा ३ महिनामै भित्रिए ४ हजार पर्यटक

मनाङको सदरमुकाम चामेबाट माथिल्लो मनाङ जाँदै गरेका विदेशी पदयात्री । तस्बिरः नवीन लामिछाने/रासस


मनाङमा विदेशी पर्यटक भ्रमणका लागि आउने क्रम बढेको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन तयारी तिव्र बनेको यही बेला पर्यटकीय मौसम समेत भएकाले पर्यटन आगमन बढेको हो ।

अन्नपूर्ण पदमार्गअन्तर्गत विश्वका विभिन्न देशबाट आएका पर्यटक यतिबेला मनाङमा भेटिन्छन् । पर्यटक आउने अनुकूल समय भएकाले पर्यटक मनाङमा भित्रिने क्रम जारी रहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय मनाङका लेखापाल खुसी राउत कुर्मीले जानकारी दिए ।

उनका अनुसार मनाङमा कात्तिकमा मात्र २ हजार ११६ विदेशी पर्यटक भित्रिएका छन् । पुरुष १ हजार २६४ र महिला ८५२ जना रहेका छन् ।

विदेशी पर्यटक तिलिचो ताल, थोराङ्ला पास, मनास्लु हिमाल आरोहण लगायतका स्थानमा जाने गरेका छन् । ‘जिल्लामा यस सिजनको मध्यमा उच्च संख्यामा पर्यटकको आगमन भएको छ । यसले जिल्लाको आर्थिकस्तर वृद्धि गर्नेछ ।

पर्यटकको उल्लेख्य आगमनले मनाङवासीमा खुसीयालीका साथै उत्साह थपिदिएको छ’, कुर्मीले भने, ‘कात्तिकमा फ्रान्स, जर्मनी, युके, अमेरिका लगायतका देशबाट पर्यटक आएका छन् ।’

आयोजनाका अनुसार चालू आर्थिक वर्षको साउनदेखि असोजको पहिलो सातासम्म ३ हजार ८१८ पर्यटक मनाङ भित्रिएका थिए ।

अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौतारामा रहेको छ । अन्नपूर्ण पदमार्गमा लमजुङसहित कास्की, मनाङ, मुस्ताङ र म्याग्दी गरी ५ जिल्ला जोडिएको छ ।

काठमाडाैंदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् भने पदमार्गमार्फत मनाङका विभिन्न स्थानको अवलोकनसहित पैदलयात्राको सुरुआत गर्छन ।


Read Previous

प्रशासनको सहयोगमा बलाँच-अत्तरिया लाइनको दोस्रो सर्किट पूरा गरिने,प्रवर्द्धकलाई विद्युत खेर जाने चिन्ता

Read Next

देशका ७ लाख घरधुरीमा पुग्यो वर्ल्डलिङ्कको इन्टरनेट सेवा

Leave a Reply

Your email address will not be published.