Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

चालू आर्थिक वर्षको साढे ३ महिनामा ८७ विद्युत आयोजनाले अनुमतिपत्र लिए


काठमाडौं । विद्युत विकास विभागले चालू आर्थिक वर्षको साढे ३ महिनामा ८७ विद्युत आयोजनाको अनुमतिपत्र जारी गरेको छ । विभागले चालू वर्षको साउनदेखि कात्तिक दोस्रो सातासम्मको अवधिमा यी विद्युत आयोजनाको अनुमतिपत्र जारी गरेको हो ।

यो अवधिमा जलविद्युत र सौर्य गरी २७ सय ८३ मेगावाटका आयोजनाको अनुमितपत्र जारी गरिएको विभागका महानिर्देशन चिरञ्जीवी चटौतले बताए । उनका अनुसार यो अवधिमा ३५ जलविद्युत कम्पनीले १२७६.८३ मेगावाटका जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र लिएका छन् ।

‘विभागले प्रक्रिया पूरा गरेका विद्युत आयोजनाका प्रवर्द्धक कम्पनीलाई अनुमतिपत्र दिइरहेको छ,’ उनले भने, ‘चालू आर्थिक वर्ष सुरु भए यता ३५ जलविद्युत आयोजनाको अध्ययन अनुमतिपत्र दिएका छौं ।’ उनले यो अवधिमा ५४२.९ मेगावाटका २५ जलविद्युत आयोजनाको उत्पादन अनुमतिपत्र जारी गरिएको बताए ।

यस्तै, विभागले २१ सौर्य विद्युत आयोजनाको अध्ययन अनुमतिपत्र जारी गरेको छ । यो अवधिमा अध्ययन अनुमतिपत्र लिने सौर्य विद्युत आयोजनाको जडित क्षमता ९१८.८ मेगावाट पुगेको विभागले जनाएको छ ।

६ सौर्य विद्युत आयोजनाले उत्पादन अनुमतिपत्र लिएका छन् । विभागले उत्पादन अनुमतिपत्र जारी गरेका सौर्य विद्युत आयोजनाको जडित क्षमता ४४.४९ मेगावाट छ । यो अवधिमा सर्वेक्षण अनुमतिपत्र जारी भएका विद्युत आयोजनाले अध्ययन सुरु गरेका छन् ।

उत्पादन अनुमतिपत्र जारी भएका विद्युत आयोजना निर्माणमा जाने प्रक्रियामा रहेको विभागले जनाएको छ । विभागका अनुसार अहिले १ मेगावाट माथिका १३ हजार १ सय ८७ मेगावाटका १४७ जिलविद्युत आयोजना अध्ययनको चरणमा छन् ।

यस्तै, १ मेगावाट भन्दा साना १५ जलविद्युत आयोजना अहिले अध्ययनको चरणमा छन् । १२ सय ३८ मेगावाटका ४३ सौर्य विद्युत आयोजना पनि अध्ययनको चरणमा रहेको विभागले जानकारी दिएको छ ।

यसैगरी, १ मेगावाटभन्दा कम क्षमताका २४ साना जलविद्युत आयोजनाले विभागबाट उत्पादन अनुमतिपत्र लिएका छन् । १ मेगावाटभन्दा माथिका २ सय २४ जलविद्युत आयोजनाको उत्पादन अनुमतिपत्र जारी भई निर्माणको विभिन्न चरणमा छन् । यी आयोजनाको जडित क्षमता ८ हजार ३ सय ४० मेगावाट बढी छ ।

उत्पादन अनुमतिपत्र जारी भएका अधिकांश जलविद्युत आयोजना निर्माणाधीन छन् । बाँकी आयोजना पनि लगानीको स्रोत जुटाएर निर्माणमा प्रवेश गर्ने चरणमा रहेको विभागले जनाएको छ ।

विभागका अनुसार १ मेगावाट मुनिका १७ जलविद्युत आयोजना सञ्चालनमा छन् । १ मेगावाट माथिका १ सय २० जलविद्युत आयोजना पनि निर्माण पूरा भई विद्युत उत्पादन गरिरहेका छन् ।


Read Previous

राष्ट्रिय गौरवका ५ राजमार्ग ५ वर्षभित्र सम्पन्न गर्ने दलहरूको घोषणा कति सम्भव ?

Read Next

जलवायुजन्य हानिनोक्सानीको विषयले कोप–२७ मा पायो औपचारिक प्रवेश, नेपालमा जिडीपीको २ प्रतिशत नोक्सानी

Leave a Reply

Your email address will not be published.