Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

राष्ट्रिय गौरवका ५ राजमार्ग ५ वर्षभित्र सम्पन्न गर्ने दलहरूको घोषणा कति सम्भव ?


काठमाडौं । मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन आउनु ३ हप्ता अघिदेखि नै दलहरुले सधैझै आगामी ५ वर्षे घोषणापत्र सार्वजनिक गरिसकेका छन् ।

पछिल्लो प्रतिनिधी तथा प्रदेशसभामा प्रमुख दलको रुपमा रहेका पार्टीहरुले आगामी ५ वर्षभित्रमा राष्ट्रिय गौरवका रुपमा निर्माणाधीन ५ वटा सडक आयोजना सम्पन्न गर्ने प्रतिवद्धता गरेका छन् ।

५ वर्षभित्र सम्पन्न गर्ने भनेर घोषणापत्रमा उल्लेख गरेका सडक आयोजनामा मध्यपहाडी राजमार्ग, हुलाकी राजमार्ग र उत्तर दक्षिण जोड्ने कोशी, कालीगण्डकी र कर्णाली करिडोर आयोजना रहेका छन् । उल्लेखित आयोजना आर्थिक वर्ष २०६५/६६ को वरिपरि देखि निर्माण थालिएका हुन् ।

सामान्यतया यी आयोजना निर्माण थालिएको १४ वर्ष पुगेको छ । यो सामान्यतया आयोजना सम्पन्न हुनुपर्ने अवधिको दोब्बर हो । संसारभर नै ५ वर्षलाई ठूला आयोजना सम्पन्न गर्ने अवधी मानिन्छ र ढिलोमा ७ वर्षमा सम्पन्न गरिन्छ । करिब डेढ दशक पुगेपछि बल्ल सरकार चलाउदै आएका र भविष्यमा सरकार सञ्चालन गर्ने दलहरुले आगामी ५ वर्षभित्र यी आयोजना सम्पन्न गर्ने घोषणा गरेका हुन् ।

अर्को विचारणीय विषय के पनि छ भने यो पहिले पटक उनीहरुले आयोजना सम्पन्न गर्ने घोषणा सार्वजनिक गरेका होइनन् । यसअघि २०७४ सालको निर्वाचनमा पनि उल्लेखित आयोजना सम्पन्न गर्ने प्रतिवद्धता गरेका थिए ।

वित्तीय र प्राविधिक रुपमा असम्भव
ठूला पूर्वाधार आयोजना काम गरेका र भौतिक पूर्वाधारका अनुभवी व्यक्तिहरु भने पार्टीहरुले घोषणा पत्रमा उल्लेख गरेका विषय वित्तीय र प्राविधिक दुवै रुपमा सम्भव नभएको बताउँछन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्व सचिव मधुसुदन अधिकारीले घोषणापत्रमा ५ वर्षभित्र सम्पन्न गर्ने भनेका अयोजना ५ वर्षमा सम्पन्न हुने सम्भावना नभएको बताए । तर, एउटा पार्टीले घोषणा गरेपछि अर्को पार्टीले पनि त्यो विषय समेट्ने प्रतिस्पर्धा भने देखिएको उनको भनाई छ ।

सडक विभागअन्तर्गत सडक आयोजना निर्माणमा लामो अनुभव हासिल गरेका पूर्व सहसचिव राजेन्द्रराज शर्मा पनि दलहरुले घोषणापत्रमार्फत गरेको प्रतिवद्धता अर्को ५ वर्षमा पनि पूरा नहुने बताउँछन् ।

भोटको लागि जनता लोभ्याउन मात्र घोषणा गरेका हुन् अन्यको तुलनामा सहज देखिएको मध्यपहाडी राजमार्ग पनि पूरा हुने अवस्था छैन’ उनले भने । विगतमा पनि यस्ता घोषणा गर्ने गरेकाले आम जनताले पनि उच्च महत्व दिन छोडिसकेको शर्माको भनाइ छ ।

कुन पार्टीले राजमार्गबारे के भनेको छ ?

नेकपा एमाले

एमालेले पूर्व–पश्चिम राजमार्ग, रणनीतिक राजमार्ग, उत्तर–दक्षिणका कोरिडोर राजमार्गलाई विकास तथा विस्तार गर्ने कार्य आगामी ५ वर्षभित्र सम्पन्न गर्ने उल्लेख गरेको छ । यसबाहेक निर्माणाधीन राष्ट्रिय राजमार्ग, रणनीतिक महत्वका सबै राजमार्ग र आर्थिक समृद्धिको केन्द्र जोड्ने सडकको निर्माण कार्य आगामी ५ वर्षभित्र सम्पन्न गर्ने प्रतिवबद्धता गरेको छ ।

एमालेले सबै स्थानीय तहका वडा केन्द्रलाई पालिका केन्द्रसँग र पालिका केन्द्रलाई प्रदेश राजधानीसँग जोड्ने सडकको निर्माणलाई तीव्र गतिमा अगाडि बढाइने उल्लेख गरेको छ ।

यसबाहेक स्थानीय तहका सदरमुकाम, वडा केन्द्र र विद्यालय, स्वास्थ्य संस्था कृषि फर्म, उद्योग व्यवसायस्थल तथा मुख्य बजार केन्द्रसम्म पिच सडक निर्माण गर्ने कार्यलाई तीव्र गतिमा अघि बढाइने छ । ढुवानी लागत, यात्रा समय र सवारी साधनको क्षति कम गर्न सडकको दूरी छोट्याइने घोषणा गरेको छ ।

नेपाल कांग्रेस

कांग्रेसले हुलाकी लोकमार्ग, मध्यपहाडी लोकमार्ग, मदन भण्डारी लोकमार्गलाई सम्पन्न गरिने उल्लेख गरेको छ । कालीगण्डकी करिडोरमा पर्ने मनाङदेखि मुस्ताङ हुँदै जुम्ला जोड्ने सडकको अधिकांश भाग सम्पन्न गर्ने, मेची, कोशी, सगरमाथा, तमोर, कालीगण्डकी, भेरी कर्णाली र महाकाली करिडोर आगामी ५ वर्षमा सम्पन्न गरिने उल्लेख छ ।

यसबाहेक आगामी ५ वर्षभित्र पूर्वपश्चिम लोकमार्ग र मग्लिङदेखि पोखरासम्मको पृथ्वी लोकमार्ग चार लेनको बनाउने उल्लेख गरेको छ । राष्ट्रिय गौरवकै अर्को आयोजना निजगढ काठमाडौ दु्रतमार्ग सञ्चालनमा ल्याउन उल्लेख छ ।

यसबाहेक बीपी लोकमार्ग, अत्तरियादेखि तिंकर जोड्ने, खोड्पेदेखि बझाङ जोड्ने मार्गहरु स्तरोन्नति गरिने भएको छ । काठमाडौंको चक्रपथ विस्तार सम्पन्न भइसक्ने र डुम्रे–बेशीसहर–मनाङ सडक दुई लेनको बनाउने घोषणा छ ।

माओवादी केन्द्र

माओवादी केन्द्रले नाम उल्लेख नगरी पूर्व–पश्चिम तथा उत्तर–दक्षिण राजमार्ग, लोकमार्ग तथा द्रुतमार्गहरूको निर्माण तथा स्तरोन्नतिको कामलाई तीव्र गतिमा अघि बढाइने उल्लेख गरेको छ । काठमाडौं—तराई—मधेश दु्रत मार्गको निर्माण कार्यलाई तीव्रता प्रदान गरिने छ ।

काठमाडौं उपत्यका र अन्य सहरका चक्रपथको स्तोरन्नति र बाहिरी चक्रपथको निर्माण कार्य सँगसँगै अघि बढाइने छ । माओवादीले समयावधी स्पष्ट रुपमले तोकेको त छैन, तर ५ वर्षको घोषणापत्र भएकाले त्यो अवधिमा सम्पन्न गर्ने योजना रहेको बुझिन्छ ।

नेकपा एकिकृत समाजवादी

एकिकृत समाजावदीले काठमाडौँ–तराई द्रुतमार्ग ३ वर्षभित्र निर्माण गर्ने, पूर्व–पश्चिम राजमार्गलाई ५ वर्षभित्र छ लेनमा स्तरोन्नति गर्ने भनेको छ । मध्यपहाडी पुष्पलाल लोकमार्गलाई ४ लेनमा स्तरोन्नति गर्ने र मदन भण्डारी राजमार्ग निर्माण आगामी ५ वर्षभित्र सम्पन्न गर्ने प्रतिवद्धता गरेको छ ।

कर्णाली, गण्डकी, कोशी कोरिडोर लगायत उत्तर–दक्षिण राजमार्ग तथा तराईका सबै जिल्लामा राजमार्गदेखि नेपाल–भारत सिमानासम्म फराकिला राजमार्ग निर्माण गर्न जोड दिइने छ ।

जनता समाजवादी पार्टी

मधेसमा केन्द्रित जनता समाजवादी पार्टीले निर्माणाधीन मध्य पहाडी लोकमार्ग र हुलाकी सडकलाई सम्पूर्ण रुपले निर्माण सम्पन्न गर्ने । पुष्पलाल लोकमार्ग र निर्माणकार्य सुरु भएका उत्तर दक्षिण मार्गहरूको निर्माण कार्यलाई उच्च प्राथमिकतामा राख्ने उल्लेख गरेको छ ।

वर्तमान पूर्व–पश्चिम लोकमार्गलाई स्तरोन्नति गरी ४ लेन बनाउने र काठमाडौँको रिङरोडलाई ५ वर्षभित्र साईकल लेनको समेत व्यवस्था गरी ८ लेन बनाउने घोषणा गरेको छ ।

यति मात्र होइन, भित्रि मधेश करिडोरको धरान हेटौँडा लोकमार्गलाई पाल्पाको रामपुरसम्म विस्तार गर्ने र ताप्लेजुङदेखि दार्चुलासम्म हिमाली क्षेत्रको मूलबस्तीलाई जोड्ने गरी हिमाली लोकमार्गको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी

राप्रपाले मेची महाकाली हुलाकी राजमार्ग, काठमाडौं हेटौडा जोड्ने सुरुङ मार्ग, काठमाडौ जुम्ला राजमार्ग, मध्य पहाड़ी राजमार्गको द्रुत गतिमा निर्माण सम्पन्न गरिने उल्लेख गरेको छ ।

कर्णाली तथा सुदूरपश्चिम प्रदेशका उत्तर दक्षिण राजमार्गलाई आन्तरिक आबद्धता हुने गरी सवारी चापका आधारमा विकास तथा विस्तार गरिने भनेको छ । मेचीदेखि महाकालीसम्मको पूर्वपश्चिम राजमार्गलाई ३ वर्ष भित्र अन्तर्राष्ट्रिय हाइवेको मापदण्डमा स्तरोन्नति गरिने उल्लेख गरेको छ । साथै अन्तर प्रादेशिक राजमार्गलाई सवारी चापको आधारमा विस्तार गरिनेछ ।

नेपालको कुल सड़क आवश्यकता निर्धारण गरी सडकलाई आर्थिक तथा सामरिक महत्व, व्यावसायिक तथा आधारभूत सम्पर्क संजालको रुपमा पहिचान गरिने उल्लेख गरिएको छ ।

आर्थिक रणनीतिक तवरले महत्वपूर्ण थप ३ हजार ५ सय कि.मी. सडक (पूर्व पश्चिम उत्तर दक्षिण कम्तिमा ४ लेनको राजमार्ग) विद्यमान सडक संजालमा थप निर्माण गरिनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टी

केही अघि मात्र स्थापना भएर प्रतिनिधीसभाको चुनावमा प्रतिस्पर्धाको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले भने कुनै पनि सडक सम्पन्न गर्ने भनेर उल्लेख गरेको छैन । बरु राष्ट्रिय यातायात गुरुयोजना तयार पारिने घोषणापत्रमा उल्लेख गरेको छ । गुरुयोजानामा देशभित्र लामो तथा छोटो दुरीका लागि सडक, रेल, हवाइ, रोपवे तथा जलमार्गहरू कति आवश्यक पर्ने हो, त्यसलाई समेटेर एकिकृत यातायात सञ्जालको खाका कोरिने प्रतिवद्धता गरेको छ ।


Read Previous

अनुमतिपत्र जारी भएका विद्युत आयोजनाको नियमित अनुगमन गर्न घिमिरेको निर्देशन

Read Next

चालू आर्थिक वर्षको साढे ३ महिनामा ८७ विद्युत आयोजनाले अनुमतिपत्र लिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *