Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

जलवायुजन्य हानिनोक्सानीको विषयले कोप–२७ मा पायो औपचारिक प्रवेश, नेपालमा जिडीपीको २ प्रतिशत नोक्सानी


जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७ औँ सम्मेलन (कोप–२७) मा जलवायु परिवर्तनबाट हुने हानि नोक्सानीको एजेण्डाले औपचारिकरुपमा प्रवेश पाएको छ ।

नेपालले सम्मेलनको आवश्यक तयारी गर्नुका साथै उठाउनुपर्ने विषयमा प्राथमिकता तोकेको थियो । नेपालले यस सम्मेलनमा गरेको तयारीमध्ये जलवायु जन्य हानि नोक्सानीको विषयलाई औपचारिक मुद्दा बनाएर छलफल हुनुपर्छ भन्दै आएको थियो ।

यसअघिसम्म अल्पविकसित राष्ट्रको समूह र जी–७७ एवं चाइना समूहले हानि तथा नोक्सानी वित्तको छुट्टै व्यवस्थाको मागलाई उठाउँदै आए पनि अधिकांश विकसित राष्ट्र हानि तथा नोक्सानीलाई छुट्टै सहयोग र व्यवस्था गर्ने पक्षमा देखिएका थिएनन् ।

गत जुन महिनामा जर्मनीमा भएको ‘बोन बैठक’मा हानि नोक्सानीलाई औपचारिक एजेन्डा बनाउन पहल गरे पनि सफलता हासिल हुन सकेको थिएन ।

वन तथा वातावरण मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख सहसचिव ड. बुद्धिसागर पौडेलले आफूहरुले यसमा प्राथमिकताका साथ महत्वपूर्ण प्रगति हुनुपर्छ भन्दै आएकामा सम्मेलनमा यो विषयले औपचारिकरुपमा प्रवेश पाएको जानकारी दिए ।

‘हामीले हानि नोक्सानीसम्बन्धी विषयमा अल्पविकसित राष्ट्रको समूह र जी–७७ एण्ड चाइना समूहसँग काम पनि गरेका थियौँ । यसमा अन्य मुलुकले पनि आवाज उठाउँदै आएका थिए । सम्मेलनमा यसले प्रवेश पाएको छ । यो महत्वपूर्ण उपलब्धि हो’, उनले भने । यसमा वित्तीय सुविधा स्थापना हुनुपर्छ भन्ने नेपालको माग छ ।

अबको बाटो के हो त ?

हानि नोक्सानीको विषयमा क्षतिपूर्तिका लागि वित्तीय सुविधा कस्तो हुनुपर्छ के गर्ने भन्ने विषयमा औपचारिकता दिन विभिन्न प्रक्रिया हुन्छन । तसर्थ यसलाई छिट्टै टुङ्गोमा पु¥याएर निर्णय गर्नुपर्ने मन्त्रालयका सचिव डा. पेमनारायण कँडेलले बताए । यद्यपि सम्मेलनमा सन् २०२३ र २०२४ मा छलफल गरेर अबको २ वर्षमा यस विषयमा छिनाफानो गरेर निर्णयमा पुग्ने सहमति भएको छ ।

यसमा जलवायुजन्य क्षति कति भयो त्यसबारेमा आधिकारिक र एकीकृत तथ्यांक आवश्यक पर्छन् । अहिले नेपालले जिडिपीको करिब दुई प्रतिशत जलवायुजन्य हानि नोक्सानी व्योहोरिरहेको अनुमान छ ।

यो विषय एजेण्डामा पर्नु ठूलो कुरा भएको उल्लेख गर्दै उनले आगामी कोप सम्मेलनमा औपचारिक अनौपचिारक छलफल हुने र निर्णयमा पुगिने विश्वास व्यक्त गरे । यसका लागि अन्तर्राष्ट्रिय र हरेक देशको राष्ट्रिय नेशलन फ्रेमवर्क आवश्यक छ ।

अनुकूलन गर्न नसकिने, व्यवस्थापन र नियन्त्रण गर्न नसकिने विषय जलवायुजन्य हानि नोक्सानी विषय हो । यसमा विकसित देशको धेरै योगदान रहेका कारण क्षतिपूर्ति व्योहोर्नु पर्ने सचिव कँडेलको तर्क छ ।

स्टकल्यान्डको ग्लास्गोमा गत वर्ष सम्पन्न कोप–२६ मा हानि तथा नोक्सानीसम्बन्धी काम गर्ने संयन्त्र (स्याण्टियागाे नेटवर्क) लाई स्थापना गरेर कार्यान्वयनमा ल्याउनका लागि एक वर्षभित्रमा थप काम गर्दै जाने सहमति भएको थियो ।

नेपालले कोप–२७ सम्मेलनमा सेन्टियागो हानि तथा नोक्सानी संयन्त्रको प्रगति र हानि तथा नोक्सानी वित्तलाई औपचारिकरूपमा एजेन्डामा राखेर हानि तथा नोक्सानी वित्त व्यवस्था सुनिश्चित गर्न पहल गर्दै आएको थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले सम्मेलनमा जलवायु परिवर्तनको असरले वर्षाको ढाँचालाई परिवर्तन गरेको, पहिरो, बाढी र डुबानका चरम घटना बढेका, गत वर्ष बेमौसमी वर्षा र भारी बाढीले ठूला खानेपानी पूर्वाधार नष्ट गरेको र लाखौँ डलरको कृषि बालीमा क्षति पु¥याएको विषयमा ध्यानाकर्षण गराइन ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी मन्त्री रेग्मीले बुधबार भएको सार्कस्तरीय वातावरण मन्त्रीस्तरीय बैठकमा जलवायुसम्बन्धी हानि र नोक्सानीका कारण नेपालले हाल करिब २ प्रतिशत जीडीपी घाटा भोगिरहेको उल्लेख गर्नुभएको थियो ।

यो शताब्दीको अन्त्यसम्ममा उक्त क्षति ११ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ । सम्मेलनले अति कम विकसित भूपरिवेष्ठित पहाडी देशका लागि अनुकूलनमा समेत वित्त सहयोग वृद्धि गर्नुपर्ने उहाँको भनाइ थियो ।

अनुकूलनको क्षेत्रमा पनि उपलब्धि हासिल

यस सम्मेलनमा अनुकूलनको क्षेत्रमा पनि उपलब्धि हासिल भएको छ । मन्त्रालयले यस क्षेत्रमा योजना र लक्ष्य निर्धारण गरी कार्यान्वयनका लागि वित्तीय सुविधा हुनुपर्छ भन्दै आएको थियो ।

यस विषयमा सोमबार र मंगलबार भएको उच्चस्तरीय सत्रमा धेरै देशमा राष्ट्र प्रमुख र सरकार प्रमुखले पनि अनुकूलनको क्षेत्रको बजेट यथेष्ठ नभएको सम्बन्धमा धारणा व्यक्त गर्नुभएको थियो ।

विश्वका नेताहरुले यसमा वित्तीय सुविधा बढाउनुपर्छ भन्ने धारणा राखेले यसमा पनि सहमति भएको देखियो । अनुकूलनमा ध्यान दिनुपर्छ र वित्त सुविधा बढाउनुपर्छ भन्ने नेपालको मुद्दामा प्रगति भएको छ । (इजिप्ट/रासस)


Read Previous

चालू आर्थिक वर्षको साढे ३ महिनामा ८७ विद्युत आयोजनाले अनुमतिपत्र लिए

Read Next

बेँसीसहर–चामे सडक स्तरोन्नति सुस्त, १७ महिनामा ३० प्रतिशत मात्र काम

Leave a Reply

Your email address will not be published.