
काठमाडौं । हिमताल विस्फोटबाट आएको बाढी (जीएलओएफ) बाट प्रभावित नुवाकोटका परिवारलाई टाटा समूह र सिप्रदियन सहायता संस्थाले २ हजार थान स्टिल अल्मिराज (दराज) हस्तान्तरण गरेका छन्।
‘एक टाटा नेपाल जीएलओएफ विपद् प्रतिकार्य कार्यक्रम २०२६’ अन्तर्गत घर तथा घरभित्रका सम्पूर्ण सामग्री गुमाएका प्रभावित परिवारलाई लक्षित गरी दराज हस्तान्तरण गरिएको हो।
तत्कालीन राहतमा मात्र सीमित नभई प्रभावित परिवारको दीर्घकालीन पुनर्स्थापना र दैनिक जीवनलाई सहज बनाउने उद्देश्यले उक्त सहयोग गरिएको टाटा समूहले जनाएको छ। घरायसी सामग्री सुरक्षित राख्न आवश्यक दराज उपलब्ध गराएर प्रभावित परिवारलाई सामान्य जीवनमा फर्किन सहयोग पुर्याउने कार्यक्रमको लक्ष्य छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का प्रमुख कार्यकारी अधिकृत डा. धर्मराज उप्रेती तथा नेपाल सरकारको मार्गदर्शनमा यो कार्यक्रम सञ्चालन गरिएको हो।
दराज हस्तान्तरण कार्यक्रममा टाटा सन्सका ग्रुप चिफ सस्टेनेबिलिटी अफिसर चाको थोमसले विपद् प्रतिकार्य तत्काल राहतमा मात्र सीमित हुन नहुने बताए। प्रभावित परिवारको आत्मसम्मान पुनःस्थापना, जीवनलाई सामान्य अवस्थामा फर्काउने र सुरक्षित भविष्य निर्माणमा पनि सहयोग आवश्यक रहेको उनको भनाइ थियो।
‘एक टाटा नेपाल जीएलओएफ विपद् प्रतिकार्य कार्यक्रममार्फत टाटा समूह, यसका कर्मचारी तथा सिप्रदी समूह नुवाकोटका प्रभावित नागरिकको पुनर्स्थापना यात्रामा निरन्तर साथ दिन प्रतिबद्ध छन्,’ उनले भने।
त्यस्तै, सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहालले वास्तविक आवश्यकता भएका व्यक्तिसम्म अर्थपूर्ण सहयोग पुर्याउनु संस्थाको उद्देश्य रहेको बताए। नुवाकोटमा गरिएको सहयोग कठिन परिस्थितिमा रहेका समुदायसँग उभिने संस्थाको प्रतिबद्धताको उदाहरण भएको उनको भनाइ थियो।
उनले विपद् सामना गर्न सक्ने र समावेशी समाज निर्माणमा योगदान पुर्याउन संस्था निरन्तर सक्रिय रहने बताए।
कार्यक्रममा टाटा सस्टेनेबिलिटी ग्रुपका एभीपी–एसएस श्रीरंग धवले, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत तथा निर्देशक राजेश प्रसाद गिरी, वरिष्ठ उपाध्यक्ष सौरभ राज थापालियालगायतको उपस्थिति थियो।
त्यस्तै, विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटीलगायत विभिन्न प्रतिनिधि तथा स्थानीय सरोकारवालाहरू पनि कार्यक्रममा सहभागी थिए।


