
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिह्न प्रदान गर्दै नागरिक र प्रहरीबीचको दूरी घटाउन निर्देशन दिएका छन्। उनले प्रहरीको व्यवहार नागरिकमैत्री हुनुपर्ने र शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण तथा विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।
बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। यसअघि गृहसचिवले आईजीपीलाई दर्ज्यानी चिह्न प्रदान गर्ने अभ्यास रहँदै आएकोमा यसपटक गृहमन्त्री आफैँले फुली लगाइदिएका हुन्।
दर्ज्यानी चिह्न प्रदान गरेपछि गृहमन्त्री गुरुङले नागरिकसँगको व्यवहारमा विशेष ध्यान दिन प्रहरी नेतृत्वलाई आग्रह गरे। नागरिक र प्रहरीबीचको दूरी घट्दै गएको भए पनि त्यसलाई अझै कम गर्दै लैजानुपर्ने उनको भनाइ थियो।
‘नागरिकसँग कसरी व्यवहार गर्ने भन्ने कुरामा विशेष ध्यान दिनुहोला। नागरिक र प्रहरीबीचको ग्याप अब रहनुहुँदैन। दूरी कम हुँदै गएको छ, यसलाई अझै घटाउँदै लैजानुपर्छ,’ उनले भने।
गृहमन्त्री गुरुङले प्रहरी संगठनलाई शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण गर्ने र विपद्का समयमा प्रभावकारी रूपमा काम गर्ने संस्थाका रूपमा थप बलियो र व्यवस्थित बनाउनुपर्ने बताए। विशेषगरी फिल्डमा खटिने प्रहरी जवानहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै उनले प्रहरीको कार्यसम्पादन प्रभावकारी बनाउन निर्देशन दिए।
प्रहरी संगठनले सकारात्मक काम अघि बढाउँदा गृह मन्त्रालय सधैँ साथमा रहने प्रतिबद्धता पनि उनले व्यक्त गरे। काम गर्ने क्रममा प्रहरीलाई कुनै कठिनाइ भए मन्त्रालय सहयोग गर्न तयार रहेको उनको भनाइ थियो।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो। यसअघि महानिरीक्षक रहेका दानबहादुर कार्कीलाई उक्त जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार नियुक्त गरिएको छ।
प्रहरी इतिहासमा महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान गर्ने अभ्यासमा यसअघि पनि परिवर्तन हुँदै आएको छ। सुरूमा अवकाशमा जान लागेका आईजीपीले नवनियुक्त आईजीपीलाई फुली लगाइदिने चलन थियो। पछि तत्कालीन प्रहरी महानिरीक्षक ध्रुवबहादुर प्रधानको नियुक्तिका क्रममा तत्कालीन गृहमन्त्री वामदेव गौतमले दर्ज्यानी चिह्न प्रदान गरेपछि गृहसचिवले फुली लगाइदिने अभ्यास सुरू भएको थियो। अहिले गृहमन्त्री गुरुङले फेरि आफैँ दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
गृहमन्त्री गुरुङले यसअघि प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा नवनियुक्त आईजीपीलाई प्रधानमन्त्रीले दर्ज्यानी चिह्न प्रदान गर्ने व्यवस्था गर्न पहल गर्ने बताएका थिए।

