Nepal Purbadhar

भसभसेमा सडक भासिँदा यातायात सञ्चालनमा समस्या


म्याग्दी। बेनी नगरपालिका-२ स्थित भसभसेमा सडक भासिएपछि बागलुङ-बेनी सडकमा यातायात सञ्चालनमा समस्या भएको छ। सडक साँघुरो हुनु र हिलोमा सवारीसाधन फस्ने समस्याले दुर्घटनाको जोखिमसमेत बढाएको छ।

असोज ८ देखि ११ गतेसम्म परेको झरीपछि म्याग्दी र कालीगण्डकी नदीको दोभान नजिकै बाढीको कटानले सडक भासिएको हो। पर्वत र बागलुङ जोड्ने मालढुङ्गाको सडक पुलको पहुँचमार्ग बगाएपछि पोखरा-काठमाडौं आवतजावत गर्ने सवारीसाधनले समेत यही वैकल्पिक सडक प्रयोग गरिरहेका छन्।

स्थानीयका अनुसार करिब १०० मिटर सडक खण्डमा सडक साविकको सतहभन्दा २ देखि ३ मिटर भासिएको छ। सवारीसाधनको चाप बढ्दा घण्टौँ जाम हुने गरेको छ भने हिलोमा फसेका गाडीलाई डोजरको सहायताले निकाल्ने गरिएको छ।

सडक डिभिजन कार्यालय बागलुङले ग्राभेल राखेर मर्मत गरे पनि सडक पुनः भासिने समस्या समाधान हुन सकेको छैन। भसभसे पहिरोका कारण नजिकैको खबरा गाउँसमेत जोखिममा परेको छ। नदी कटान नियन्त्रणका लागि तटबन्ध निर्माण र सडकको स्तरोन्नति गर्न पहल भइरहेको जिल्ला समन्वय समिति, म्याग्दीले जनाएको छ।


Read Previous

बेनी-जोमसोम सडक खुल्यो, सवारीसाधनको चापबढ्दा पाँच सयभन्दा बढी मालवाहक गाडी बाटोमै अलपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar