
कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेकी रुबी सिटौला।
काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा झापाकी २२ वर्षीया रुबी सिटौलाले कोशी प्रदेशको महिला (युवा) तर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छन्।
झापाबाट कांग्रेसको राजनीति, संगठन र संघर्षसँग जोडिएको आफ्नो यात्रालाई अब राष्ट्रिय जिम्मेवारीसँग जोड्ने समय आएको भन्दै सिटौलाले उम्मेदवारी घोषणा गरेकी हुन्।
उम्मेदवारी घोषणा गर्दै सिटौलाले आफ्नो लक्ष्य निर्वाचन जित्नुमा मात्र सीमित नभई त्यसपछि निर्माण हुने राजनीतिक यात्रालाई परिणाममुखी बनाउनु रहेको बताएकी छन्। बदलिँदो राजनीतिक, सामाजिक तथा आर्थिक परिवेशअनुसार कांग्रेसले नयाँ सोच र कार्यशैली विकास गर्नुपर्ने उनको धारणा छ।
उनले कांग्रेसमा नयाँ आर्थिक सोच, प्रविधिमैत्री संगठन, अवसरमा समान पहुँच र राजनीतिक संस्थाप्रति पुनःविश्वास निर्माण अहिलेको प्रमुख आवश्यकता रहेको बताएकी छन्।
सिटौलाले आफ्नो उम्मेदवारीलाई क्षणिक राजनीतिक लहर नभई आगामी दशकको कांग्रेस कस्तो हुनुपर्छ भन्ने आफ्नो दृष्टिकोणको सार्वजनिक घोषणाका रूपमा प्रस्तुत गरेकी छन्।
महिलाको राजनीतिक सहभागिता संख्यात्मक प्रतिनिधित्वमा मात्र सीमित नभई नीति निर्माणको केन्द्रमा महिलाको अनुभव र दृष्टिकोण पुग्नुपर्ने उनको भनाइ छ। युवालाई चुनावी भीड र नारामा मात्र सीमित नराखी संगठन निर्माण, नीति निर्माण तथा निर्णय प्रक्रियामा अर्थपूर्ण भूमिका दिनुपर्ने उनले बताएकी छन्।
कांग्रेसको इतिहासलाई सम्मान गर्दै त्यसबाट वर्तमान र भविष्य निर्माणका लागि सिक्नुपर्नेमा जोड दिँदै सिटौलाले नयाँ समयअनुकूल राजनीतिक अभ्यास र संगठन निर्माणलाई आफ्नो प्राथमिकता बनाउने बताएकी छन्।
झापा जिल्लाबाट कान्छी महाधिवेशन प्रतिनिधिका रूपमा सुरु भएको आफ्नो राजनीतिक यात्रालाई कोशी प्रदेश हुँदै केन्द्रसम्म पुर्याउने लक्ष्य रहेको उनले बताएकी छन्। राजनीतिमा आफ्नो उपस्थितिको कारण खोज्नेभन्दा आफ्नो उपस्थितिको अर्थ निर्माण गर्ने उनको प्रतिबद्धता छ।
सिटौलाले आफ्नो उम्मेदवारीमार्फत महिला तथा युवाको प्रतिनिधित्वलाई थप प्रभावकारी बनाउँदै कांग्रेसलाई नयाँ पुस्ताको अपेक्षा र बदलिँदो समयअनुकूल बनाउने संकल्पसमेत व्यक्त गरेकी छन्।
“नयाँ अध्यायतर्फको यो यात्रामा स्पष्ट दृष्टिकोण र जिम्मेवारीबोधका साथ अघि बढेकी छु,” उनले भनेकी छन्।

