
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसददेखि राजनीतिक दलभित्रसम्म जनताका प्रश्न, असहमति र विचार राख्न खुला ठाउँ आवश्यक रहेको बताएका छन्।
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई काठमाडौंको खुलामञ्चमा सम्बोधन गर्दै थापाले १० वर्षपछि खुलेको खुलामञ्च काठमाडौंको एउटा चौर मात्रै नभएको बताए। उनले खुलामञ्चले फरक विचार र मतभेदलाई एउटै सार्वजनिक थलोमा ल्याएर संवाद गर्ने अवसर दिएको स्मरण गरे।
‘खुलामञ्चमा आएपछि मतभेद सकिन्छ भन्ने होइन। मतभेदलाई एउटै साझा मञ्चमा राख्ने ठाउँ हो खुलामञ्च,’ उनले भने।
थापाले अब देशका विभिन्न ठाउँमा यस्ता खुलामञ्च आवश्यक रहेको बताए। त्यसका लागि सबैभन्दा पहिले सिंहदरबार र संसदभित्रै खुलापन आवश्यक रहेको उनको भनाइ थियो।
‘संसद अहिले खुला छैन। प्रधानमन्त्रीले जनताको कुरा नसुनेसम्म खुला रहँदैन,’ उनले भने। सत्तामा रहेकाहरूले जनताका प्रश्न सुन्ने र नागरिकसँग संवाद गर्ने वातावरण बनाउनुपर्ने उनले बताए।
पार्टीभित्र पनि प्रश्न र असहमतिका लागि ठाउँ हुनुपर्नेमा जोड दिँदै थापाले नेतामाथि प्रश्न गर्दा पार्टी सदस्यता नै गुम्ने अवस्था अन्त्य गर्नुपर्ने बताए।
‘पार्टीभित्र पनि खुलामञ्च चाहिएको छ। नेतालाई प्रश्न गर्दा सदस्यता नकाटियोस्,’ उनले भने।
थापाले देशका समस्यालाई हल्का रूपमा लिन नहुने पनि बताए। नेपालको समस्या आन्तरिक कारणले मात्रै नभएको उल्लेख गर्दै उनले रुस-युक्रेन युद्ध र मध्यपूर्वको घटनाक्रमको प्रभावसमेत नेपालमा पर्ने बताए।
उनले कांग्रेसको १५औँ महाधिवेशनलाई नेतृत्व चयन गर्ने कार्यक्रममा मात्रै सीमित नगरी पार्टीले नयाँ सन्देश र संकल्प दिनुपर्ने बताए।
‘संसद बन्द छ, पार्टी बन्द छ, त्यसैले देशलाई खुलामञ्च चाहिएको छ,’ थापाले भने।

