
म्याग्दी। निरन्तर वर्षापछि बाढीपहिरोले क्षतिग्रस्त बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्डमा अवरोध हटाउन मर्मत कार्य तीव्र पारिएको छ। सडक आयोजनाले अबको एक हप्तादेखि १० दिनभित्र चारपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्ने लक्ष्यसहित काम अघि बढाएको छ।
गत असोज ८ देखि ११ गतेसम्म परेको निरन्तर वर्षाका कारण २०२ किलोमिटर लामो बेनी-जोमसोम-कोरला सडकको ५५ स्थानमा बाढीपहिरोले क्षति पुर्याएको थियो। सडक अवरुद्ध हुँदा मुस्ताङको यातायात, व्यापार, कृषि उपज ढुवानी तथा पर्यटन गतिविधिमा असर परेको छ।
रसुवा र तातोपानी नाका बन्द रहेको अवस्थामा चीनसँगको व्यापारका लागि कोरला नाका जोड्ने सडक महत्वपूर्ण विकल्प बनेको छ। त्यसैले सडक मर्मत गरी जतिसक्दो छिटो यातायात सञ्चालन गर्न सरकारले उच्च प्राथमिकताका साथ काम अघि बढाएको हो।
चीनसँगको व्यापारका अतिरिक्त मुस्ताङमा उत्पादन भएको स्याउ बजारसम्म पुर्याउन, दशैं-तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्न र पर्यटकीय याममा पर्यटकको आवागमन सहज बनाउन पनि सडक सञ्चालनको दबाब बढेको छ।
सडक आयोजनाका अनुसार पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गादेखि म्याग्दीको रघुगङ्गा गाउँपालिका-३ राहुपारेसम्म तथा मुस्ताङको कोरला नाकादेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भुरुङ तातोपानीसम्मको सडक मर्मत भइसकेको छ।
तर, म्याग्दीको राहुपारेदेखि पोखरेबगरसम्मको करिब १५ किलोमिटर सडकमा मर्मत गर्न बाँकी छ। अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि रातोपानी, धिरच्याङ, महभीर, भीरकाटे, तिप्ल्याङ, बेगखोला, कुनौटा, सिरुवारी, बैसरी र राहुपारे क्षेत्रमा कालीगण्डकी नदीको कटानले सडकमा क्षति पुर्याएको छ। कतिपय स्थानमा पैदलयात्रा गर्नसमेत कठिन भएको छ।
आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार अवरुद्ध सबै स्थानमा एकैसाथ मर्मत कार्य अघि बढाइएको छ। सडक सञ्चालनका लागि आवश्यक उपकरण र मजदुर परिचालन गरिएको उनले बताए।
“सबै तालमेल मिलेमा अबको एक हप्तादेखि १० दिनभित्र बेनी-जोमसोम-कोरला सडकमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्ने लक्ष्यसहित उपकरण र मजदुर परिचालन गरेका छौँ,” उनले भने, “अवरोध भएका सबै ठाउँमा समानान्तर रूपमा मर्मतको कामलाई तीव्रता दिएका छौँ।”
रघुगङ्गा गाउँपालिका-३ तिल्केनीचौरमा राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह र स्विचयार्ड परिसरमा कालीगण्डकीले सडक कटान गरेपछि वैकल्पिक मार्ग खोल्न समस्या भएको थियो। प्रयोगमा नरहेको ग्यान्टी टावर हटाउन ढिलाइ हुँदा दुई दिनसम्म सडक मर्मत प्रभावित भएको आयोजना प्रमुख शर्माले जानकारी दिए।
उनका अनुसार शनिबार तिल्केनीचौर छिचोलेर चमेरे हुँदै राहुपारेमा कालीगण्डकीको कटानबाट भत्किएको सडक मर्मत सुरू गरिएको छ। तिल्केनीचौरमा अवरोध हटेपछि रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट र जिल्ला सदरमुकाम बेनीबीच यातायात सम्पर्क स्थापित भएको छ।
यसैगरी, सुरक्षाकर्मी र स्वयंसेवकले तिल्केनीचौरदेखि सिरुवारी हुँदै बेगखोलासम्म ग्यालिनमा बोकेर डिजेल ढुवानी गरेपछि बैसरी र सिरुवारीमा रोकिएका एक्साभेटर सञ्चालनमा आएका छन्।
मुस्ताङबाट ल्याइएको तथा जलविद्युत् आयोजनासँग मौज्दात रहेको इन्धन सापटी लिएर पोखरेबगरबाट बेनीतर्फ सडक मर्मतमा उपकरण परिचालन गरिएको छ। आवश्यक उपकरण, इन्धन र जनशक्ति व्यवस्थापन गर्दै सडकका क्षतिग्रस्त खण्डमा मर्मत कार्य अघि बढाइएको आयोजनाले जनाएको छ।
सडक सञ्चालनमा आएपछि मुस्ताङको जिल्ला सदरमुकाम जोमसोमसहित विभिन्न बस्तीको यातायात सम्पर्क सहज हुने, कृषि उपजको ढुवानी तथा व्यापारिक गतिविधि सामान्य अवस्थामा फर्किने र पर्यटन व्यवसायलाई समेत राहत पुग्ने अपेक्षा गरिएको छ।

