
काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भोटेकोशी-रसुवा बाढीमा परी ज्यान गुमाएका तथा बेपत्ता भएका भन्सार कर्मचारीका परिवारलाई सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनले पीडित परिवारलाई दुःखको घडीमा एक्लो महसुस नगर्न आग्रह गर्दै अर्थ मन्त्रालय र भन्सार प्रशासन उनीहरूको साथमा रहेको बताएका छन्।
बिहीबार अर्थ मन्त्रालयमा रसुवा भन्सार कार्यालयमा कार्यरत कर्मचारीका परिवारका सदस्यहरूसँग सामूहिक भेट गर्दै अर्थमन्त्री वाग्लेले राजस्व संकलनको जिम्मेवारीमा खटिएका दक्ष कर्मचारीलाई प्राकृतिक विपत्तिका कारण गुमाउनुपर्दा मन्त्रालय पनि दुःखी भएको बताए।
उनले पूर्वसूचना र सतर्कता अपनाउने अवसरसमेत नपाई आएको विपत्तिले ठूलो जनधनको क्षति पुर्याएको उल्लेख गर्दै पीडित परिवारको दुःखप्रति सहानुभूति व्यक्त गरे। परिवारले भोगिरहेको पीडा अपूरणीय भए पनि उनीहरूको दैनिक जीवन सहज बनाउन र भविष्य सुरक्षित गर्न सरकारले प्राथमिकताका साथ सहयोग गर्ने उनको भनाइ थियो।
अर्थमन्त्री वाग्लेले पीडित परिवारलाई आफ्ना समस्या र आवश्यकता मन्त्रालय तथा विभागमा खुलस्त रूपमा राख्न आग्रह गरे। परिवारका आवश्यकतालाई कानुनी आधारमा प्राथमिकताका साथ सम्बोधन गरिने उनले बताए। भेटका क्रममा परिवारका सदस्यले बुझाएको प्रारम्भिक मागपत्र ग्रहण गर्दै उनले मागहरू क्रमशः कार्यान्वयन गर्दै लैजाने प्रतिबद्धता जनाए।
दिवंगत तथा बेपत्ता कर्मचारीका परिवारका सदस्यको शिक्षा, भरणपोषण र रोजगारीलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखेको उनले स्पष्ट पारे। उनीहरूलाई परेको क्षतिको पूर्ति कुनै पनि कुराले गर्न नसक्ने उल्लेख गर्दै उनले परिवारको दैनिकी सहज बनाउन र भविष्यको बाटो सरल बनाउन आवश्यक सहयोग गरिने बताए।
कानुनअनुसार पूरा गर्न सकिने मागलाई छिटो कार्यान्वयन गर्ने र कानुन संशोधन आवश्यक पर्ने विषयलाई सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर अघि बढाउने पनि उनले बताए। घटना दर्ता, बालबालिकाका लागि छात्रवृत्तिलगायतका विषयमा मन्त्रालयले प्राथमिकताका साथ काम गरिरहेको उनको भनाइ थियो।
बेपत्ता कर्मचारीको खोजी कार्य अझै जारी रहेको जानकारी दिँदै अर्थमन्त्री वाग्लेले पीडित परिवारलाई आवश्यक सहजीकरण गर्न विशेष कार्यदल गठन गर्न मन्त्रालयको प्रशासनलाई निर्देशनसमेत दिएका छन्।
अर्थमन्त्रीसँग भेट गर्न रसुवा भन्सार कार्यालयमा कार्यरत १५ जना कर्मचारीका परिवारका सदस्य मन्त्रालय पुगेका थिए। उनीहरूले परिवारका मुख्य आधारका रूपमा रहेका सदस्य बाढीमा परी ज्यान गुमाएको वा बेपत्ता भएपछि भोग्नुपरेको शोक, पीडा र दैनिक जीवनका समस्याबारे अर्थमन्त्रीसमक्ष जानकारी गराएका थिए।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा रसुवा भन्सार कार्यालयमा कार्यरत भन्सार विभागका कर्मचारी नकुल शर्मा, राजेन्द्रकुमार सोनकर, विकास तामाङ, विष्णुप्रसाद भुसाल, भीमबहादुर लामा, दिनेश घिमिरे, अनिता पुरी, प्रेमप्रसाद सेढाई, गोविन्द अधिकारी, सुनिल गुरुङ, नरेशदत्त जोशी, राजु ओली, राम नेपाली, विमल त्रिपाठी र हरिबहादुर खड्का परेका थिए।
उनीहरूमध्ये भन्सार अधिकृत नकुल शर्माको शव मात्र फेला परेको थियो र उनको अन्तिम संस्कार गरिएको छ। बाँकी १४ जना अझै बेपत्ता छन्।

