Nepal Purbadhar

दाना-खुर्कोट प्रसारण लाइनका टावर बाढीले बगायो, १७६ मेगावाटका छ जलविद्युत् आयोजना बन्द


म्याग्दी। कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा २२० केभी क्षमताको कालीगण्डकी करिडोरअन्तर्गत दाना-खुर्कोट प्रसारण लाइनका तीन ओटा टावर बगाएको छ। प्रसारण लाइनका टावर र तारमा क्षति पुगेपछि म्याग्दी र मुस्ताङमा सञ्चालित १७६ मेगावाट क्षमताका छ ओटा जलविद्युत् आयोजनाको विद्युत् उत्पादन तथा प्रसारण प्रभावित भएको छ।

अन्नपूर्ण गाउँपालिका-१ दोवाको भिरकाटेपारिका दुई ओटा र धिरच्याङको एउटा प्रसारण लाइन टावर बाढीले बगाएको अन्नपूर्ण गाउँपालिका-२ का वडाध्यक्ष ओम फगामीले बताए।

दाना-खुर्कोट प्रसारण लाइनमार्फत केन्द्रीय प्रणालीमा विद्युत् आपूर्ति गर्दै आएका अन्नपूर्ण गाउँपालिका-४ नारच्याङका ५ मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको म्रिस्त्रीखोला, ३८ मेगावाटको निलगिरी-१, ७१ मेगावाटको निलगिरी-२ र ६ मेगावाटको रेलेखोला जलविद्युत् आयोजना बन्द भएका छन्।

त्यस्तै, मुस्ताङको टुकुचेमा रहेको १४ मेगावाटको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् पनि हालसम्म केन्द्रीय प्रणालीमा जोडिन सकेको छैन। अन्नपूर्ण गाउँपालिका-४ पोखरेबगरमा रहेको १४ मेगावाटको घारखोला जलविद्युत् आयोजनाको विद्युत्गृह पहिरोले पुरिएपछि गत साउन अन्तिम सातादेखि नै बन्द छ।

असोज ८ देखि ११ गतेसम्मको वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले प्रसारण लाइनका टावरमा क्षति पुर्‍याएको हो। बाढीले कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम सडकका विभिन्न स्थानमा समेत कटान गरेको छ।

बेनीदेखि पैदल यात्रा गरेर सोमबार पोखरेबगर हुँदै शिख पुगेका सञ्चारकर्मी गणेश गुरुङ (सुरेन)का अनुसार बेनी-पोखरेबगर सडकखण्डका थुप्रै स्थानमा सडक भासिएको, कटान भएको र पहिरो थुप्रिएको छ। विद्युत्का तार तथा पोलमा समेत क्षति पुगेको उनले बताए।

बाढीपहिरोका कारण अन्नपूर्ण गाउँपालिकामा निर्माणाधीन १८० मेगावाटको कालीगण्डकी गर्ज र ६६ मेगावाटको मध्यकालीगण्डकी जलविद्युत् आयोजना पनि प्रभावित भएका छन्।

नेपाल विद्युत् प्राधिकरणको पोखरा ग्रिडका प्रमुख रोशन खड्काले अन्नपूर्ण गाउँपालिका-३ दानादेखि पोखरेबगरसम्मका प्रसारण लाइनका टावरमा विपद्बाट क्षति पुगेको बताए। क्षतिको स्थलगत निरीक्षणका लागि प्राविधिक टोलीलाई स्थलमार्गबाट पठाइएको उनले जानकारी दिए।

म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा विद्युत् आपूर्ति गराउन वैकल्पिक उपाय अपनाउने तथा क्षतिग्रस्त प्रसारण लाइन पुनर्निर्माणको काम सँगसँगै अघि बढाउन प्राधिकरणसँग समन्वय भइरहेको खड्काले बताए।

पुरानो ३३ केभी प्रसारण लाइनको संरचनामा समेत बाढीपहिरोले क्षति पुर्‍याएको छ। दाना सबस्टेशनबाट मुस्ताङमा विद्युत् आपूर्ति गराउने प्रयास भइरहे पनि टावरमा भएको क्षतिको अवस्था पहिचान गर्न सडक यातायात र सञ्चार सम्पर्कको समस्याका कारण कठिनाइ भइरहेको प्राधिकरणले जनाएको छ।

बाढीपहिरोका कारण मुस्ताङको सडक यातायात सम्पर्क विच्छेद भएको छ। विद्युत् अभावमा मोबाइल तथा इन्टरनेट सेवा प्रभावित हुँदा स्थानीयको जनजीवन थप प्रभावित भएको छ। मुस्ताङसँगै म्याग्दी र बागलुङका ग्रामीण क्षेत्रमा पनि विद्युत्, सडक तथा यातायात सेवा अवरुद्ध बनेको स्थानीय प्रशासनले जनाएको छ।


Read Previous

प्राविधिक सचिवका लागि ३ जनाको नाम सिफारिस, को को परे ?

Read Next

थुनिएको मर्स्याङ्दी खुलाउन ब्लास्ट असफल, अन्य उपकरणको सहायताले नदी खोतलिँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar