
काठमाडौं। मनाङको चामे क्षेत्रमा थुनिएको मर्स्याङ्दी नदी ब्लास्ट गरेर खोल्ने प्रयास अझै सफल हुन सकेको छैन। ब्लास्टका लागि उपयुक्त ठूलो चट्टान नभेटिएपछि अहिले दुई ओटा उपकरण प्रयोग गरेर नदी खोतल्ने काम भइरहेको छ।
ब्लास्ट गर्न पोखराबाट पुगेको सेनाको प्राविधिक टोलीले उपयुक्त स्थान फेला पार्न सकेको छैन। गिट्टी, बालुवा, माटो, लेदो र रुख थुप्रिएर नदी थुनिएकाले ब्लास्ट गर्न समस्या भएको बताइएको छ।
स्थानीय घट्टेखोलामा आएको लेदोसहितको बाढीका कारण मर्स्याङ्दी नदी थुनिएको हो। नदीबाट आंशिक रूपमा पानी बग्न थाले पनि करिब ४ सय मिटर लामो र ८० मिटर चौडा ताल बनेको छ। ताल करिब २० फिटसम्म गहिरो रहेको बताइएको छ।
अविरल वर्षाका कारण मनाङका विभिन्न स्थानमा विद्युत्, टेलिफोन र सडक सञ्जालसमेत अवरुद्ध छन्।

