
४० मेगावाटको राहुघा जलविद्युत् आयोजना।
काठमाडौँ, १२ असोज । असोज ९ गतेदेखि परेको अविरल वर्षाका कारण विभिन्न विद्युत् उत्पादन, प्रसारण तथा वितरण संरचनामा क्षति पुगे पनि बाढीका कारण आकस्मिक रूपमा बन्द भएका केही विद्युत् उत्पादन केन्द्र सञ्चालनमा आएका छन्।
नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रसारण टावरमा क्षति पुगेका कारण अवरुद्ध केही उत्पादन केन्द्र तत्काल सञ्चालनमा आउन नसक्ने भए पनि वितरण प्रणालीतर्फ भने वर्षा रोकिएलगत्तै सम्बन्धित वितरण केन्द्र र ग्रिड सञ्चालन महाशाखाको समन्वयमा अधिकांश स्थानमा विद्युत् सेवा पुनः सञ्चालन गरिएको छ। बाँकी क्षेत्रमा समेत लाइन सुचारु गर्न प्राविधिक टोली कार्यक्षेत्रमा खटिएका छन्।
राहुघाटमा करिब १० दिन लाग्ने
प्राधिकरणको सहायक कम्पनीमार्फत प्रवर्द्धित राहुघाट जलविद्युत् आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको छ। टर्बाइन फ्लोरमा समेत पानी पसेकाले सफाइ तथा आवश्यक मर्मतपछि आयोजना सञ्चालनमा आउन करिब १० दिन लाग्ने प्राधिकरणले जनाएको छ।
आयोजनाको स्विचयार्ड भने सामान्य अवस्थामा रहेकाले चार्ज गरिसकिएको छ।
कुश्मा-दाना प्रसारण लाइनमा क्षति पुगेका कारण उक्त लाइनबाट विद्युत् प्रसारण हुन नसक्दा कुल ७ ओटा जलविद्युत् आयोजनाको १९० मेगावाट उत्पादन प्रभावित भएको छ। राहुघाट सबस्टेशनमा जोडिएका र बाढीका कारण अवरुद्ध भएका आयोजनामध्ये राहुघाट जलविद्युत् केन्द्रको ४० मेगावाटबाहेक १२७ मेगावाट उत्पादन सञ्चालन गर्न सकिने अवस्थामा रहेको प्राधिकरणले जनाएको छ।
हाल प्रणालीबाट बाहिर रहेका कुल ८ ओटा विद्युत् आयोजनाको क्षमता २३० मेगावाट रहेको छ।
सेती-मादी र मर्स्याङ्दी करिडोरका आयोजना सञ्चालनमा
बाढीका कारण सेती-मादी करिडोरमा अवरुद्ध भएका कुल २६२ मेगावाट क्षमताका जलविद्युत् केन्द्र सञ्चालनमा आएका छन्। त्यस्तै, मर्स्याङ्दी करिडोरमा अवरुद्ध १९० मेगावाट क्षमताका जलविद्युत् केन्द्र पनि सञ्चालनमा आएका छन्।
बाढीका कारण बन्द भएको १४४ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् केन्द्र आज बेलुकासम्म सञ्चालनमा आउने प्राधिकरणको अनुमान छ।
कालीगण्डकी करिडोरमा प्रसारण टावरमा क्षति
कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी प्रसारण लाइनको म्याग्दीस्थित दाना-कुश्मा खण्डका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ।
क्षति पुगेका स्थानसहित अन्य क्षेत्रमा समेत निरीक्षण गर्न जाने बाटो अवरुद्ध भएकाले प्रसारण संरचनामा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्राधिकरणले जनाएको छ।
केही जिल्लामा विद्युत् सेवा अझै अवरुद्ध
अविरल वर्षाका कारण म्याग्दी, बागलुङ, तनहुँको झापुटार सबस्टेशन, मनाङ, मुस्ताङ, रुकुम पूर्व, प्युठान र रोल्पामा विद्युत् सेवा प्रभावित भएको थियो।
म्याग्दी, बागलुङ, तनहुँको झापुटार सबस्टेशन र रुकुम पूर्वमा विद्युत् सेवा सुचारु भइसकेको छ। मुस्ताङ, प्युठान र रोल्पामा आज अपराह्नसम्म विद्युत् सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको छ भने मनाङमा भोलिसम्म विद्युत् सेवा सुचारु गर्ने योजना छ।
१ हजार २९२ मेगावाटका आयोजना प्रभावित
प्राधिकरणको विवरणअनुसार बाढी तथा वर्षाका कारण विभिन्न क्षेत्रमा रहेका जलविद्युत् आयोजनामा कुल १ हजार २९२ मेगावाट बराबरको उत्पादन क्षमता प्रभावित भएको छ।
कुश्मा-दाना क्षेत्रमा ३५८.२ मेगावाट, पोखरा क्षेत्रमा १२१ मेगावाट, मर्स्याङ्दी करिडोरमा १८९ मेगावाट, कालीगण्डकी करिडोरमा १४४ मेगावाट, त्रिशूली करिडोरमा ४३०.८ मेगावाट, समुद्रटार क्षेत्रमा २१ मेगावाट र मोदी क्षेत्रमा २८ मेगावाट क्षमताका आयोजना प्रभावित भएका छन्।
त्रिशूली करिडोरमा रसुवागढी १११ मेगावाट, सान्जेन ७८ मेगावाट, माथिल्लो त्रिशूली-३ए ६० मेगावाट, लोअर सान्जेन ४२.५ मेगावाट, त्रिशूली २४ मेगावाट, नेपाल विद्युत् प्राधिकरणको सोलार २५ मेगावाट, चिलिमे २२.१ मेगावाट, लाङटाङ २० मेगावाटलगायत आयोजना प्रभावित छन्।
सुख्खायाममा २ हजार ३७२ मेगावाट विद्युत् उपलब्ध गराउने योजना
प्राधिकरणले आगामी सुख्खायाममा आन्तरिक उत्पादनबाट करिब १ हजार २१८ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान गरेको छ। माग-आपूर्ति सन्तुलनका लागि भारतबाट विभिन्न माध्यमबाट थप १ हजार १५४.८ मेगावाट विद्युत् आयात गर्ने योजना बनाइएको छ।
ढल्केबर-मुजफ्फरपुरबाट ६००.८ मेगावाट, टनकपुर-महेन्द्रनगरबाट ५४ मेगावाट, बिहार-उत्तर प्रदेशका विभिन्न बिन्दुबाट ३५० मेगावाट र आरटीसीमार्फत १५० मेगावाट विद्युत् आयात गर्ने योजना छ।
यसअनुसार सुख्खायाममा कुल उपलब्ध विद्युत् क्षमता २ हजार ३७२.७७ मेगावाट पुग्ने अनुमान गरिएको छ। आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय विद्युत् मागको औसत उच्चतम स्तर २ हजार २९२ मेगावाट रहेको थियो।
प्राधिकरणका अनुसार आगामी मंसिर २०८३ सम्म ३२०.६ मेगावाटका नयाँ आयोजना थपिने अनुमान छ। हाल सञ्चालनमा रहेका ३ हजार ७३९.४ मेगावाटसहित मंसिरसम्म कुल जडित क्षमता ४ हजार ६०० मेगावाट पुग्ने प्रक्षेपण गरिएको छ।
भोटेकोशी-त्रिशूली क्षेत्रमा ७४ अर्बको प्रारम्भिक क्षतिको अनुमान
भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट माथिल्लो त्रिशूली-३बीको २२० केभी हबमा क्षति पुगेका कारण तथा विभिन्न जलविद्युत् केन्द्रमा भएको क्षतिका कारण ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर रहेको प्राधिकरणले जनाएको छ।
उक्त क्षेत्रमा प्राधिकरण र उसका सहायक कम्पनीका संरचनामा करिब ७४ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ। क्षतिको विस्तृत मूल्यांकन तथा संरचना पुनःस्थापनाको काम भने जारी रहेको छ।

