Nepal Purbadhar

नेपालले भदौमा ५ अर्बभन्दा बढीको बिजुली भारतलाई बेच्यो


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले भदौ महिनामा भारततर्फ ५ अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको आम्दानी गरेको छ । प्राधिकरणको प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र) ले सार्वजनिक गरेको विवरणअनुसार भदौ महिनामा द्विपक्षीय सम्झौता र विद्युत् बजार (आइएक्स) मार्फत भारतको हरियाणा तथा बिहार राज्य र बंगलादेशतर्फ विद्युत् निर्यात गरिएको हो।

प्राधिकरणका अनुसार उक्त अवधिमा विभिन्न माध्यमबाट गरी कुल ५६ करोड ६६ लाख ६ हजार ८ सय ८३ युनिट विद्युत् निर्यात भएको छ। यसबाट ५ अर्ब ९ करोड २४ लाख ६१ हजार २ सय ८२ रुपैयाँ बराबरको कारोबार भएको विवरणमा उल्लेख छ।
कुल निर्यातमध्ये द्विपक्षीय सम्झौतामार्फत भएको निर्यातको हिस्सा ठूलो रहेको छ। बाँकी विद्युत् बजार मार्फत बिक्री गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले सार्वजनिक गरेको विवरणअनुसार भारततर्फ विद्युत् निर्यात भइरहेकै समयमा भोटेकोशीमा आएको बाढीका कारण चिलिमे तथा त्रिशूली जलविद्युत् केन्द्रको संरचनामा क्षति पुगेपछि केही समय विद्युत् निर्यात प्रभावित भएको छ। हाल केही आयोजनाबाट भारततर्फको विद्युत् निर्यात बन्द छ ।

त्यसैगरी, अन्य जलविद्युत् केन्द्रबाट बंगलादेशतर्फ विद्युत् निर्यात सुचारु गर्न भारतीय पक्षलाई आवश्यक स्वीकृतिका लागि अनुरोध गरिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले आगामी दिनमा विद्युत् निर्यातलाई थप सहज, व्यवस्थित र भरपर्दो बनाउँदै लैजाने जनाएको छ।

वर्खामा निर्यात गरे पनि हिउँदमा आयात गर्नुपर्ने बाध्यता छ ।


Read Previous

बाढीले क्षति गरेका जलविद्युत आयोजना पुनर्निर्माणलाई प्राथमिकता दिन्छु : श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar