
एआई तस्बीर।
काठमाडौं। २ सय रुपैयाँको सामान खरिद गरेका एक ग्राहकले १० लाख रुपैयाँको उपहार जितेका छन्। आन्तरिक राजस्व विभागले भदौ महिनाका करदाता प्रोत्साहन उपहारका विजेता घोषणा गर्दै कात्यानी पोलिक्लिनिकबाट २ सय रुपैयाँको सामान खरिद गर्ने ग्राहकलाई १० लाख रुपैयाँको बम्पर उपहार परेको जनाएको हो।

त्यस्तै, सुनिता फेन्सी स्टोरबाट ७ हजार रुपैयाँको सामान खरिद गर्ने अर्का ग्राहकले पनि १० लाख रुपैयाँको उपहार जितेका छन्।
आन्तरिक राजस्व विभागले भदौ महिनाका लागि दुई जनालाई १०/१० लाख रुपैयाँको बम्पर उपहार र ३१ जनालाई एक/एक लाख रुपैयाँका दरले नगद उपहार घोषणा गरेको छ।

विभागले सामान्यतया हरेक १५/१५ दिनमा करदाता प्रोत्साहन उपहार घोषणा गर्दै आएको छ। तर, भदौ महिनामा बाढीका कारण नियमित प्रक्रियाअनुसार उपहार घोषणा गर्न नसकिएकाले एकैपटक मासिक रूपमा विजेता घोषणा गरिएको विभागले जनाएको छ।
विभागका अनुसार विद्युतीय माध्यमबाट जारी हुने बिजक तथा खरिद कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन हुँदै आएको छ।
भदौ महिनाका लागि घोषणा गरिएका अन्य ३१ जना विजेताले एक/एक लाख रुपैयाँका दरले नगद उपहार प्राप्त गर्नेछन्।


