
बाढीपछि उद्धार गर्दै सुरक्षा निकाय, फाइल तस्बीर्।
रसुवा। भोटेकोशी नदीमा आएको बाढीपछि चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव पहिचान गरी परिवारजनलाई हस्तान्तरण गरिएको छ।
चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक बाबुराजा महर्जनका अनुसार केन्द्रमा कार्यरत इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदारद्वय श्यामबहादुर थापामगर र तिलकबहादुर थापामगर तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी लाक्पा तामाङको शव परिवारजनलाई हस्तान्तरण गरिएको हो।
उनीहरूको शव बुधबार अपराह्न विद्युत् केन्द्रको सुरुङको बाहिरी भागदेखि करिब १५० मिटरभित्र रहेको ‘कन्ट्रोल रुम’ क्षेत्रमा फेला परेको थियो। केन्द्रभित्र फेला परेका शव नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोट लगेर परिवारजनलाई हस्तान्तरण गरिएको महर्जनले बताए।
उद्धार तथा खोजी कार्यका लागि नेपाली सेनाका बाहिनीपतिको कमाण्डमा भारतीय सेना, सशस्त्र प्रहरी बल र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी परिचालन गरिएको थियो।
महर्जनका अनुसार भोटेकोशी नदीको सतहभन्दा करिब २० मिटर उचाइमा रहेको सुरुङभन्दा करिब ८५ मिटर माथिसम्म बाढी पुगेको थियो। बाढीले सुरुङ पुरिनुका साथै ११ मेगावाट क्षमताका दुई ओटा टर्बाइनसहित जलविद्युत् केन्द्रको सम्पूर्ण संरचनामा क्षति पुगेको छ।
यसैबीच, रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले खोज तथा उद्धारसँगै राहत वितरणको काम जारी रहेको बताए। बाढीबाट भएको क्षतिको विवरण संकलन गर्न एक महिनाको समय तोकेर कार्यादेशसहित २५ सदस्यीय समिति गठन गरिएको उनले जानकारी दिए।
बाढी प्रभावित क्षेत्रमा नदीमाथि तुइन तथा फड्के निर्माण गरी आवतजावत सहज बनाइएको छ। बाढीपछि फैलिन सक्ने हैजा तथा अन्य विपद्जन्य महामारीको जोखिम न्यूनीकरणका लागि आवश्यक औषधिसहित स्वास्थ्य जनशक्तिको व्यवस्था गरिएको पाण्डेले बताए।

