
काठमाडौं। सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई जोखिम भत्ता र खाजा खर्च उपलब्ध गराउने निर्णय गरेको छ।
बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले उद्धार तथा खोजीमा खटिएका सुरक्षाकर्मी र कर्मचारीको सुरक्षा तथा सुविधालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।
उद्धारका क्रममा सुरक्षाकर्मी तथा राष्ट्रसेवक कर्मचारी घाइते भएमा सरकारले निःशुल्क औषधोपचार उपलब्ध गराउने निर्णयसमेत गरेको छ।
गृह मन्त्रालयको प्रस्तावमा भएको निर्णयअनुसार खोज तथा उद्धारका क्रममा कुनै सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीको मृत्यु भएमा निजको परिवारलाई प्रतिमृतक १० लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ।
भोटेकोशी बाढीपछि रसुवा, नुवाकोट, धादिङलगायतका प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मी खोज तथा उद्धार, शव व्यवस्थापन, सडक खुलाउने र राहत कार्यमा परिचालित छन्।
बाढी प्रभावित क्षेत्रमा पहिरो, लेदो, भौगोलिक कठिनाइ तथा जोखिमपूर्ण संरचनाका कारण खोज तथा उद्धार कार्य चुनौतीपूर्ण बन्दै गएको छ। सरकारले जोखिमपूर्ण अवस्थामा खटिएका जनशक्तिलाई प्रोत्साहन तथा आवश्यक सुरक्षा सुनिश्चित गर्न उक्त निर्णय गरेको हो।

