
काठमाडौं। बाढीपछि सम्पर्कमा नआएका माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाका कर्मचारी तथा कामदारका केही आफन्तलाई क्षतिग्रस्त पावरहाउस साइटसम्म जाने व्यवस्था मिलाइएको छ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार सम्पर्कविहीन कर्मचारी तथा कामदारका परिवारजनलाई घटनास्थलको अवस्थाबारे जानकारी लिन र आफ्ना आफन्तको खोजीमा आवश्यक समन्वय गर्न पावरहाउस साइटसम्म जाने प्रबन्ध मिलाइएको हो।
भदौ १० गते त्रिशूली र भोटेकोशी नदीमा आएको भीषण बाढीबाट माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् केन्द्रमा ठूलो क्षति पुगेको थियो। बाढीपछि आयोजनाका केही कर्मचारी तथा कामदार सम्पर्कविहीन छन्।
सम्पर्कविहीन कर्मचारी तथा कामदारको अवस्थाबारे जानकारी लिन प्राधिकरणले खोज तथा उद्धार समितिसँग समन्वय गरी विवरण अद्यावधिक गरिरहेको जनाएको छ।
त्यस्तै, सम्पर्कमा आउन नसकेका कर्मचारी तथा कामदारका परिवारजनको पीरमर्का र गुनासो सुन्ने तथा आवश्यक सहयोग र समन्वय गर्न जनसाधन विभागका निर्देशकको संयोजकत्वमा समिति गठन गरिएको छ।
यसैबीच, आयोजनाको केवल टनेलको मुखबाट करिब १५ फिटसम्म डेब्रिस हटाएर नेपाली सेना प्रवेश गर्न सफल भएको छ। सुरुङभित्र थप अगाडि बढेर खोजी तथा उद्धार गर्ने प्रयास जारी रहेको प्राधिकरणले जनाएको छ।
दिनरात निरन्तर काम गरेर सुरुङमा जमेको पानी निकास गर्नसमेत सम्भव भएको छ। उद्धार कार्यमा आवश्यक सामग्री तथा खाद्यान्नको अभाव हुन नदिन बजेट, सामग्री प्राप्ति, खर्च तथा अभिलेख व्यवस्थापनमा समेत विशेष ध्यान दिइएको प्राधिकरणले जनाएको छ।

