Nepal Purbadhar

बुटवलको मैनाबगरमा विश्वकर्मा पूजा, १५ सयभन्दा बढी सवारीसाधन पूजा एकै स्थानमा


बुटवल। विश्वकर्मा पूजाको अवसरमा बुटवलको मैनाबगरस्थित विश्वकर्मा बाबा मन्दिरमा विशेष पूजा आराधना गरिएको छ। बुटवल अटो इन्जिनियरिङ एसोसिएसनले सञ्चालन गरेको उक्त मन्दिरमा बुधबार १५ सयभन्दा बढी सवारीसाधनको पूजा गरिएको छ।

बुटवल अटो इन्जिनियरिङ एसोसिएसनका कार्यसमिति सदस्य गणेश तिमिल्सिनाका अनुसार मन्दिरमा मात्रै १५ सयभन्दा बढी सवारीसाधनले पूजा गरेका छन्। देशभरका विभिन्न स्थानमा विश्वकर्मा बाबा मन्दिरमा पूजा गरिए पनि मैनाबगरस्थित मन्दिर नेपालकै ठूलो विश्वकर्मा मन्दिरका रूपमा रहेको एसोसिएसनको दाबी छ।

विश्वकर्मा पूजाको अवसरमा मैनाबगर अटो भिलेज क्षेत्रका व्यवसायीहरूले आफ्ना व्यवसायिक प्रतिष्ठानमा समेत विशेष पूजा गरेका छन्। अटो व्यवसायमा आबद्ध व्यवसायी, मेकानिक तथा श्रमिकहरूले आफ्ना औजार, मेसिनरी सामग्री तथा व्यवसायिक उपकरणको पूजा गर्दै विश्वकर्मा दिवस मनाएका हुन्।

अटो क्षेत्रका व्यवसायीहरूका लागि विशेष महत्व राख्ने विश्वकर्मा पूजाका कारण मैनाबगर क्षेत्रमा बिहानैदेखि चहलपहल बढेको थियो। व्यवसायीहरूले परम्परागत रूपमा भगवान् विश्वकर्माको पूजा गर्दै व्यवसायको उन्नति, समृद्धि तथा सवारीसाधनको सुरक्षाको कामना गरेका थिए।


Read Previous

विश्वकर्मा पूजा आज, भद्रकालीमा सवारी पूजा गर्नेको भीड

Read Next

भृकुटीमण्डपमा आजदेखि घरजग्गा तथा निर्माण एक्स्पो, १०० भन्दा बढी स्टलहरूमा के छ स्पेशल?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar