Nepal Purbadhar

भृकुटीमण्डपमा आजदेखि घरजग्गा तथा निर्माण एक्स्पो, १०० भन्दा बढी स्टलहरूमा के छ स्पेशल?


काठमाडौं । घर-घडेरी खरिद गर्ने योजना बनाइरहेका तथा घर निर्माणको तयारीमा रहेका सर्वसाधारणलाई लक्षित गर्दै काठमाडौंको भृकुटीमण्डपमा ‘सीजी नवौं नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी-२०८३’ बिहीबारदेखि सुरू हुँदैछ। चार दिनसम्म सञ्चालन हुने प्रदर्शनीको उद्घाटन सभामुख डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम छ।

नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसर पारेर नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघले संयुक्त रूपमा प्रदर्शनी आयोजना गरेका हुन्।

प्रदर्शनीमा १०० भन्दा बढी स्टल रहनेछन्। घरजग्गा खरिद तथा बिक्रीसँगै घर निर्माण र सजावटका लागि आवश्यक सामग्री तथा प्रविधिबारे जानकारी र परामर्श लिन सकिने व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रदर्शनी संयोजक रोशन भोयद्योका अनुसार हाउजिङ तथा अपार्टमेन्ट व्यवसायी, जग्गा विकास आयोजना, निर्माण सामग्री, सिमेन्ट, स्टिल, काठ, ग्लास, पेन्ट्स, सेनिटरी, पाइप तथा फिटिङ्स, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, रेन वाटर हार्वेस्टिङ, फोहोर व्यवस्थापन, सुरक्षा प्रणाली, स्वचालन प्रविधि, प्रिफ्याब तथा यूपीभीसी ढोका-झ्याललगायतका कम्पनी तथा व्यवसायी प्रदर्शनीमा सहभागी हुँदैछन्।

त्यस्तै, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, स्वास्थ्य संस्था, इन्जिनियरिङ तथा वास्तुकला परामर्शदाता र निर्माण व्यवसायसँग सम्बन्धित संस्थाको पनि सहभागिता रहनेछ। नेपालसँगै भारतका कम्पनी तथा व्यवसायीसमेत प्रदर्शनीमा सहभागी हुने आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रदर्शनीलाई घरजग्गा खरिद-बिक्रीमा मात्र सीमित नगरी सुरक्षित, व्यवस्थित तथा वातावरणमैत्री आवास निर्माणसम्बन्धी जानकारी र परामर्श प्राप्त गर्ने थलोका रूपमा विकास गर्न खोजिएको छ। भूकम्प प्रतिरोधी घर निर्माण तथा वास्तुकलासम्बन्धी विज्ञहरूले अवलोकनकर्तालाई निःशुल्क परामर्श दिने व्यवस्था गरिएको छ।

प्रदर्शनीमा जलवायु परिवर्तन, विपद् प्रतिरोधी पूर्वाधार, सुरक्षित बस्ती पुनरुत्थान तथा सार्वजनिक-निजी साझेदारीका विषयमा प्यानल छलफलसमेत आयोजना गरिनेछ। नीति निर्माता, सरकारी अधिकारी, इन्जिनियर, आर्किटेक्ट, निजी क्षेत्र तथा विज्ञबीच विपद्पछिको आवास पुनर्निर्माण र सुरक्षित पूर्वाधार विकासमा सहकार्यका विषयमा छलफल हुने आयोजकले जनाएको छ।

सौर्य ऊर्जा, वर्षाको पानी संकलन तथा पुनःप्रयोग, ऊर्जा बचत, फोहोर व्यवस्थापन र स्मार्ट प्रविधिमा आधारित समाधानसमेत प्रदर्शनीमा प्रस्तुत गरिनेछन्। डिजिटल डिस्प्ले, विद्युतीय कियोस्क तथा भर्चुअल र अग्मेन्टेड रियालिटीको प्रयोग गरी प्रदर्शनीलाई कागजरहित बनाउने प्रयास गरिएको छ।

त्यस्तै, ओम र ग्रान्डे अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरिनेछ। रसुवा बाढीपीडितका लागि स्वास्थ्य उपचार प्याकेजसमेत उपलब्ध गराइने आयोजकले जनाएको छ।

आयोजकले प्रदर्शनीमा ६५ हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरेको छ।


Read Previous

बुटवलको मैनाबगरमा विश्वकर्मा पूजा, १५ सयभन्दा बढी सवारीसाधन पूजा एकै स्थानमा

Read Next

१८ दिनपछि दुईतर्फी खुल्यो पृथ्वी राजमार्ग, कृष्णभिरमा नयाँ ट्र्याकबाट सवारी सञ्चालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar