Nepal Purbadhar

हाथवे इन्भेष्टमेन्टले सुगर मिल्स र हाइड्रो ४० करोड रुपैयाँ लगानी गर्ने


काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले लगानी विविधीकरण गर्ने रणनीतिअन्तर्गत दुई फरक क्षेत्रका कम्पनीमा कुल ४० करोड रुपैयाँ दीर्घकालीन लगानी गर्ने भएको छ।

कम्पनीको २३५औँ सञ्चालक समितिको बैठकले ‘विजय श्री सुगर मिल्स लिमिटेड’ र ‘भिजन टेस्ला पावर प्रा.लि.’ प्रवर्द्धित जलविद्युत् आयोजनामा संस्थापक सेयर खरिदमार्फत लगानी गर्ने निर्णय गरेको हो।

निर्णयअनुसार हाथवेले चिनी उद्योगतर्फ विजय श्री सुगर मिल्स लिमिटेडको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका २५ लाख कित्ता संस्थापक सेयर खरिद गर्नेछ। यसका लागि कम्पनीले अधिकतम २५ करोड रुपैयाँ लगानी गर्नेछ।

त्यस्तै, ऊर्जा क्षेत्रतर्फ भिजन टेस्ला पावर प्रा.लि.ले संखुवासभाको मकालु गाउँपालिकामा निर्माण गरिरहेको २४.९२१ मेगावाट क्षमताको ‘इन्दुवा खोला पीआरओआर हाइड्रोपावर प्रोजेक्ट’मा १५ करोड रुपैयाँ लगानी गर्ने निर्णय भएको छ। आयोजनामा लगानीका लागि प्रतिसेयर १०० रुपैयाँ दरका १५ लाख कित्ता संस्थापक सेयर खरिद गरिनेछ।

कम्पनीका अनुसार लगानीलाई क्षेत्रगत रूपमा विविधीकरण गर्ने र दीर्घकालीन प्रतिफल सुनिश्चित गर्ने नीतिअनुरूप चिनी उद्योग र जलविद्युत् क्षेत्रमा लगानी विस्तार गर्न लागिएको हो।

कम्पनी सचिव सुधा अर्यालका अनुसार लगानीसम्बन्धी निर्णयको औपचारिक जानकारी नेपाल स्टक एक्सचेन्ज (नेप्से), नेपाल धितोपत्र बोर्ड (सेबोन) तथा सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई गराइसकिएको छ।


Read Previous

१२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय

Read Next

विवादित अभिव्यक्ति दिएकी गोरीकुमारी यादवको मन्त्री पद गयो, दिइन् राजीनामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar