
काठमाडौं। रसुवा बाढी प्रभावित क्षेत्रका लागि चीन सरकारले उपलब्ध गराएको आपत्कालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार नेपाल आइपुगेको छ। चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको ठूलो क्षमताको मालवाहक विमान वाई–२०ए (Y-20A) मार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको हो।
राहत सामग्रीसँगै बाढी तथा पहिरोमा परी मृत्यु भएकाहरूको पहिचान प्रक्रियामा सहयोग गर्न १० जना चिनियाँ फरेन्सिक विज्ञको टोली पनि नेपाल आएको छ। विज्ञ टोलीले नेपाली सम्बन्धित निकायसँग समन्वय गरी शव पहिचान तथा आवश्यक फरेन्सिक प्रक्रियामा प्राविधिक सहयोग गर्नेछ।
विमानस्थलमा आयोजित राहत सामग्री हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ तथा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी थिए। सो अवसरमा मन्त्री पुनले नेपाल आएका चिनियाँ फरेन्सिक विज्ञहरूको स्वागत गरेका थिए।
चीनले उपलब्ध गराएको राहत सामग्रीमा शव व्यवस्थापनका लागि फ्रिजर, महामारी रोकथाम तथा नियन्त्रणमा प्रयोग हुने सामग्री, दैनिक उपभोग्य वस्तु तथा विपद् प्रभावित क्षेत्रमा तत्काल आवश्यक अन्य सामग्री रहेका छन्।
यसपटकको राहत सामग्रीमा विपद् उद्धार, आवतजावत सहज बनाउन तथा पुनःस्थापनाका लागि आवश्यक बेली ब्रिज समेत समावेश गरिएको छ। चीनबाट उपलब्ध गराइने पहिलो चरणको बेली ब्रिज जडानका लागि आवश्यक विशेष उपकरण भने स्थलमार्ग हुँदै लिजी–नेचुङ सीमा नाकासम्म आइपुगेको जनाइएको छ।
रसुवामा आएको भोटेकोशी बाढीले सडक, पुललगायतका भौतिक संरचनामा ठूलो क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार र पुनःस्थापनाका लागि आवश्यक सामग्रीको आवश्यकता बढेको छ।
यस्तो अवस्थामा चीनबाट प्राप्त राहत सामग्री तथा फरेन्सिक प्राविधिक सहयोगले बाढी प्रभावित क्षेत्रमा तत्कालीन खोज, उद्धार, शव पहिचान तथा पुनःस्थापनाका काममा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
