Nepal Purbadhar

‘शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन, हामी लागिरहेका छौँ’ : प्रधानमन्त्री शाह


काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारलाई शरीर थकित भयो भन्दै विश्राम लिने छुट नभएको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सङ्कटको समयमा देशको नेतृत्वले आँसु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्ने भएकाले सरकार अहोरात्र खटिरहेको बताए।

“सोही दृढ सङ्कल्प र साहसका साथ यो विपत्तिसँग लड्नुको हामीसँग अर्को विकल्प थिएन र छैन । हामी लडिरहेका छौँ,” उनले भने।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षणभरमै धेरै नागरिकको ज्यान लिएको र परिवारलाई आफन्तको अवस्थाबारे अनिश्चित बनाएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले विपत्तिमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरे।

घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनले अझै आफन्तको खोजीमा रहेका नागरिकको पीडा आफूले गहिरोसँग महसुस गरेको बताए।

“यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिङ्गो नेपालको छातीमा परेको साझा बज्रपात हो । बाढीमा परेका नागरिकको कारुणिक चित्कार सुन्दा मेरो छाती चिसो हुन्छ,” प्रधानमन्त्रीले भने।

बाढी आएको १५ मिनेटमै आकस्मिक बैठक

प्रधानमन्त्री शाहका अनुसार भदौ १० गते बिहान ८ः४५ बजे बाढीबारे सूचना प्राप्त हुनासाथ जिल्ला विपद् व्यवस्थापन समितिबाट ब्रिफिङ लिएर सुरक्षा सतर्कता अपनाउन निर्देशन दिइएको थियो।

बिहान ९ बजे तटीय क्षेत्रका बस्तीमा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको र ९ः१५ बजे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बोलाइएको उनले बताए।

त्यसपछि बिहान ९ः३५ बजे टेलिकम कम्पनीमार्फत प्रभावित क्षेत्रका नागरिकको मोबाइलमा सतर्कताको सूचना पठाइएको र ९ः४५ बजे नेपाली सेनाको हेलिकप्टर उद्धारका लागि उडेको उनले जानकारी दिए।

“त्यो उद्धारका लागि पहिलो हवाई उडान थियो । तुरुन्तै निजी हेलिकप्टरहरूलाई पनि ‘स्ट्याण्डबाई’ राख्यौँ,” प्रधानमन्त्रीले भने।

बिहान १० बजे नेपाली सेनाको मनसुन कमान्ड पोस्टको आकस्मिक बैठक बसेर प्रभावित क्षेत्रमा खोज, उद्धार तथा स्रोत परिचालन गर्ने निर्णय गरिएको उनले बताए। बिहान १०ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘सर्च एन्ड रेस्क्यु तथा इमरजेन्सी रेस्पोन्स टिम’ तयारी अवस्थामा राखिएको थियो।

१३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौँलगायत विभिन्न जिल्लाबाट नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई खोज, उद्धार, उपचार र राहतमा परिचालन गरिएको प्रधानमन्त्रीले बताए।

घटनाको दिन राति ८ बजेसम्म १३ हजार २९५ सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन भएको उनले जानकारी दिए।

त्यस अवधिसम्म ६९ उडानमार्फत ३५१ जनाको उद्धार गरिएको थियो। उद्धारका क्रममा गम्भीर घाइते, गर्भवती, सुत्केरी, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिइएको प्रधानमन्त्रीले बताए।

त्यस्तै, प्रभावित ३ हजार ५०० जनालाई तत्काल बसोबास गराउन विद्यालय तथा सार्वजनिक सामुदायिक भवनमा व्यवस्थापनको तयारी गरिएको थियो।

११ हजार ९९३ जनाको उद्धार

प्रधानमन्त्री शाहले केहीबेरअघिसम्म ११ हजार ९९३ जनाको उद्धार भइसकेको प्रतिनिधिसभालाई जानकारी दिए।

उद्धार गरी विभिन्न अस्पतालमा भर्ना गरिएका २९२ घाइतेमध्ये १८२ जनालाई उपचारपछि घर पठाइएको उनले बताए। बाँकी घाइतेको स्वास्थ्यमा सुधार ल्याउन स्वास्थ्यकर्मी खटिरहेको उनले जानकारी दिए।

काठमाडौँबाट विशेषज्ञसहितको मेडिकल टोली प्रभावित क्षेत्रमा उपचारका लागि पठाइएको र नागरिकलाई मनोपरामर्श सेवा पनि उपलब्ध गराइएको प्रधानमन्त्रीले बताए।

ट्रमा सेन्टर र वीर अस्पतालमा १०० बेड छुट्याइयो

सरकारले राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा १०० बेड छुट्याएर अन्य ठूला अस्पताललाई समेत तयारी अवस्थामा राखेको प्रधानमन्त्रीले बताए।

नेपाल सरकारसँगै नेपाल स्काउट, विश्व स्वास्थ्य सङ्गठन, नेपाल रेडक्रस लगायतको सहकार्यमा मेडिकल टोली प्रभावित क्षेत्रमा खटाइएको उनले जानकारी दिए।

आपत्कालीन स्वास्थ्य सेवा, औषधि तथा रगतको अभाव हुन नदिन रक्तसञ्चार सेवा केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस सोसाइटी तथा लायन्स क्लबसँग समन्वय गरिएको उनले बताए।

महामारी फैलिन नदिन विभिन्न अभियान सञ्चालन गरिएको र रोग रोकथामसम्बन्धी सूचना प्रवाह भइरहेको उनले बताए। ‘विपद्–पश्चात् सरुवा रोग निगरानी तथा प्रतिकार्य योजना’ लागू गर्न प्रदेश तथा स्थानीय तहका स्वास्थ्य अधिकारीलाई आवश्यक तालिमसमेत दिइएको प्रधानमन्त्रीले जानकारी दिए।

पहिलो दिनमै राहतका ८ ट्रक पठाइयो

बाढी आएको दिन बुधबार मध्यरातमै ८ ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको प्रधानमन्त्री शाहले बताए। त्यसैदिन रातिसम्म प्रभावित क्षेत्रका मोबाइल प्रयोगकर्ताका लागि भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क गराइएको उनले जानकारी दिए।

त्यसपछि थप १० ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदाम, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिल ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा राहत सामग्री राखेर प्राथमिकताका आधारमा प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गरिएको उनले बताए।

विपद् व्यवस्थापनमा प्रयोग हुने फिल्ड अस्पताल सेटसमेत त्रिशूली पठाइएको प्रधानमन्त्रीले जानकारी दिए।

रसुवा र नुवाकोटलाई १-१ करोड, धादिङलाई ५० लाख

प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रको तत्काल व्यवस्थापनका लागि रसुवा र नुवाकोटलाई १–१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ निकासा गरिएको बताए।

घरबारविहीन भएकाहरूको सुरक्षित व्यवस्थापनलाई पनि सरकारको प्राथमिकतामा राखिएको उनले बताए।

यसैगरी, क्षतिग्रस्त सडकलाई प्रभावित क्षेत्रसँग जोड्ने, विद्युत्, दूरसञ्चार, सडक तथा खानेपानीजस्ता अवरुद्ध सेवा तत्काल सञ्चालन गर्ने काम अघि बढाइएको उनले जानकारी दिए।

१५ स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

मन्त्रिपरिषद्को आकस्मिक बैठकले प्रभावित १५ स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको प्रधानमन्त्रीले बताए।

मृतकका परिवारलाई कानुनबमोजिम आर्थिक सहायता उपलब्ध गराउने तथा घाइते र बिचल्लीमा परेकालाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने निर्णयसमेत गरिएको उनले जानकारी दिए।

उद्धारका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्ने निर्णय भएको उनले बताए।

सरकारका विभिन्न संयन्त्र चौबिसै घण्टा सक्रिय

प्रधानमन्त्री शाहले बाढीपछि नेपाली सेनाको ‘ज्वाइन्ट अपरेसन कमिटी’, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको ‘क्विक एक्सन टिम’ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘र्‍यापिड एक्सन टिम’मार्फत सूचना सङ्कलन, समन्वय र अनुगमन सुरु गरिएको बताए।

विदेशी नागरिकको खोजी, उद्धार तथा कन्सुलर सहयोगका लागि आपत्कालीन प्रतिकार्य टोली गठन गरिएको र प्रभावित जिल्लामा कार्यरत कर्मचारीलाई कार्यस्थल नछाड्न निर्देशन दिइएको उनले जानकारी दिए।

बाढीपछि प्रभावित क्षेत्रको अवस्था बुझ्न आफू पूर्वाधार विकासमन्त्रीसहित स्थलमार्गबाट प्रभावित क्षेत्रमा पुगेको र बागमती प्रदेशका मुख्यमन्त्रीसहित प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरिएको प्रधानमन्त्रीले बताए।

उनले विपद्को समयमा सबै सरकारी संयन्त्र एकीकृत रूपमा परिचालन भइरहेको र प्रभावित नागरिकको खोजी, उद्धार, उपचार, राहत तथा सुरक्षित व्यवस्थापनलाई निरन्तरता दिइरहेको बताए।


Read Previous

रसुवा बाढीबाट पर्यटन क्षेत्रमा ५० अर्बभन्दा बढी क्षति : मन्त्री पौडेल

Read Next

रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव सर्वसम्मतिले पारित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar