
काठमाडौं। बाढीका कारण प्रभावित रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिको सुरक्षित उद्धारका लागि सरकारले ६ सदस्यीय चिनियाँ विज्ञ टोली घटनास्थलमा परिचालन गरेको छ।
अत्यन्त जोखिमपूर्ण तथा प्राविधिक रूपमा जटिल मानिएको उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारको अनुमतिमा उच्च प्राविधिक दक्षता भएका चिनियाँ विज्ञ टोलीलाई परिचालन गरिएको हो।
चिनियाँ हेलिकप्टरमार्फत त्रिशूली क्षेत्रमा पुगेको टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै सुरुङभित्रको अवस्थाबारे प्राविधिक रेकी गर्नेछ।
टोलीले सुरुङको भौतिक अवस्था, जोखिम तथा उद्धारको सम्भावनाबारे प्रारम्भिक मूल्याङ्कन गर्नेछ। त्यसपछि उपलब्ध प्राविधिक अवस्थाका आधारमा थप उद्धार रणनीति तय गरिने जनाइएको छ।
प्रारम्भिक प्राविधिक अध्ययनबाट उद्धार सम्भव देखिएमा रसुवा सीमा क्षेत्रमा ‘स्ट्यान्डबाई’ अवस्थामा रहेका थप चिनियाँ विज्ञलाई समेत तत्काल घटनास्थलमा परिचालन गर्ने तयारी गरिएको छ।
सुरुङभित्रको अवस्था चुनौतीपूर्ण र जोखिमपूर्ण रहे पनि सरकार, नेपाली सेना र चिनियाँ प्राविधिक विज्ञको संयुक्त प्रयासबाट फसेका व्यक्तिको सकुशल उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ।
उद्धारका लागि उपलब्ध सबै सम्भावित प्राविधिक तथा मानवीय स्रोत परिचालन गरी निरन्तर प्रयास भइरहेको सरकारले जनाएको छ।
